२ सय २ वर्षपछि रोकियो रथयात्रा

नेपाल–अंग्रेज युद्धको सम्झनामा प्रत्येक वर्ष मनाइने भगवतीको रथयात्रा भएन, काखमा राखेर मूर्ति घुमाएर विसर्जन
माधव अर्याल

पाल्पा — पश्चिम नेपालकै चर्चित भगवतीको रथयात्रा बुधबार हुन सकेन । नेपाली फौजले अंग्रेजलाई हराएको सम्झनामा हरेक वर्ष भगवतीको रथयात्रा निकाल्ने परम्परा छ । यस वर्ष २०२ औं भगवती रथयात्रा हुँदै थियो ।

२ सय २ वर्षपछि रोकियो रथयात्रा

‘भगवती रथयात्रा कोरोना भाइरसको जोखिमका कारण गर्न सकिएन,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले भने, ‘२ सय २ वर्षको इतिहासमा पहिलो पटक यसरी रथयात्रा गर्न सकिएन ।’

श्री ७ रणउजिरेश्वरी भगवतीको मूर्तिलाई सिन्दूर, अबिर र केशरीसहित वैदिक पूजापाठ गरियो । ‘प्रतिमूर्ति’ लाई मन्दिरमा तीन पटक घुमाइयो । यसअघिका वर्षमा भने तानसेन सहर परिक्रमा गर्ने परम्परा थियो । ‘अहिलेको अवस्थाका कारण मन्दिर परिसरभित्रै प्रतिमूर्तिलाई तीन पटक घुमाइयो,’ अध्यक्ष उदयले भने, ‘क्षमापूजा गरेर पुन: तीन पटक घुमाएर मन्दिरभित्र विसर्जन गरिएको छ ।’

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नेपाली सेनाको गोरख दल गणका गणपति जनकराज बस्नेत, तानसेन नगरपालिका, सशस्त्र प्रहरी, जनपद प्रहरी, मन्दिर व्यवस्थापन समितिलगायतले मन्दिर परिसरमै पूजा गरे । ‘अंग्रेज फौजलाई हराएको विजयोत्सवका रूपमा रहेको भगवती जात्रा कोरोना भाइरसका कारण प्रभावित बन्यो,’ उदयले भने, ‘प्रशासनले कुनै पनि जात्रा, मेला, पर्व नगर्न आग्रह गरेकाले हामीले मानेका हौं ।’ आस्था र गरिमा जोगाइराख्न भए पनि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, प्रशासन, पत्रकार, मन्दिर व्यवस्थापन समितिबीचको सहभागितामा भगवतीको प्रतिमूर्तिलाई मन्दिर परिसरमा घुमाइएको हो ।

वि.सं. १८७१/७२ मा भएको नेपाल–अंग्रेज युद्धमा पाल्पाली फौजका कमान्डर कर्णेल उजिर सिंह थापाले नेतृत्व गरेका थिए । नुवाकोट–जितगढीमा अंग्रेज फौजमाथि विजय हासिल गरेको सम्झनामा १८७६ देखि रथयात्रा सुरु गरेको हो ।

अघिल्ला वर्षमा भने रथयात्राको दिन बिहान भगवतीको तान्त्रिक विधिद्वारा पूजा हुन्थ्यो । हर्षबढाइँसहित पञ्चबलि दिने चलन थियो । यस पटक भने पशुबलिको सट्टा कुभिन्डोको बलि दिइयो । कर्णेल उजिर सिंह थापाले युद्धमा जानुअघि तानसेनमा रहेको भगवती देवीको मन्दिरअगाडि अंग्रेज सेनालाई हराउने शक्ति देऊ, फर्केर आएपछि तिम्रो सिन्दूर जात्रा गर्दै महिमा फैलाउनेछु भनी भाकल गरेको इतिहास रहेको यसका जानकार निर्मल श्रेष्ठले बताए ।

उनको भाकलअनुसार नै नेपाली फौजले अंग्रेजलाई पराजित गरेको थियो । थापाले युद्ध जितेर फर्केपछि तीनतले प्यागोडा शैलीको मन्दिर बनाएका हुन् । १८७६ देखि सिन्दूर जात्रा चलाएको इतिहास रहेको मन्दिर व्यवस्थापन समितिका सदस्य भीमसेन कार्कीले बताए । कुमाउ–गडवाल (नाहान), मकवानपुर गढी, कोसी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाइँ भएको थियो ।

इस्ट इन्डिया कम्पनीको अंग्रेज फौजले आधुनिक हातहतियारसहित नेपालका पाँच स्थानबाट आक्रमण गर्‍यो । विक्रम संवत् १८७१/७२ को नेपाल–अंग्रेज युद्धमा चार स्थानमा पराजित भयो । तर, पाल्पाली र इस्ट इन्डियाको फौजबीच दुई वर्षसम्म लडाइँ भएको नुवाकोट–बुटवल क्षेत्रको युद्धमा भने अंग्रेज फौज पराजित भएको थियो ।

प्रदेश सरकारले पाल्पाको भगवती रथयात्राका लागि बिदा सूचीमा राखेको छ । तानसेन नगरपालिकाले हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवती रथयात्राका लागि बिदा घोषणा गर्दै आएको छ । प्रदेशले बिदा घोषणा गरेकाले जिल्ला प्रशासन कार्यालयले पनि बिदा दिएको हो ।

प्रकाशित : श्रावण २९, २०७७ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?