९ दिनपछि ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता- समाचार - कान्तिपुर समाचार

९ दिनपछि ओली-दाहालबीच बालुवाटारमा भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नौ दिनपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीचको वार्ता बिहीबार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बालुवाटार स्रोतका अनुसार दोस्रो तहका नेताहरुको लबिङपछि दुई अध्यक्षबीच भेटवार्ता तय भएको हो ।

यसअघि साउन १८, १९ र २० मा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित दुई अध्यक्षबीच छलफल भएको थियो ।

पछिल्लो छलफलमा कुन कमिटीबाट विवाद हल खोज्ने भन्नेमा दुई पक्षबीच नयाँ विवाद थपिएको थियो । प्रधानमन्त्री ओली सचिवालय बैठकमा भएपछि मात्रै स्थायी कमिटी बस्नु पर्ने अडान थिए ।

अध्यक्ष दाहाल स्थगित स्थायी कमिटी बैठक सुचारु गर्ने र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडानमा बसेपछि त्यसयता दुई अध्यक्षबीच थप संवाद हुन सकेको थिएन ।

पछिल्लो समय वामदेव गौतम र रामबहादुर थापा ओलीपक्षतिर देखिएसँगै नेकपा सचिवालयको समीकरण बदलिएको छ । बदलिएको यो समीकरणले सचिवालयमा आफ्नो बहुमत देखिएपछि ओली सचिवालय बैठक गर्ने अडानमा थिए । स्थायी र केन्द्रीय कमिटीमा भने दाहाल–नेपाल समूहको बहुमत छ ।

यसबाहेक प्रधानमन्त्री वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको माग छ ।

दुवै पद नछाड्ने ओलीको अडान छ । स्थगित स्थायी कमिटी सुचारु गर्ने विषयमा पनि उनीहरुबीच मतभेद छ । एक सय ५२ केन्द्रीय सदस्यले लिखित मात्र गरे पनि केन्द्रीय कमिटीको बैठक अनिश्चित छ ।

साउन १३ मा दुवैले चालेको कदमपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ । ओलीमाथि दबाब भन्दै बुधबारमात्रै दाहाल–नेपाल समूहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफू निकट केन्द्रीय सदस्यहरुको भेला गरेका थिए । उक्त भेलामा अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल साथै प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागि थिए । यो समूहले २१ गते पत्रकारहरुको भेला पनि गरेको थियो ।

बुधबार मात्रै एक टेलिभिजन अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टी विवाद हल हुने दाबी गरेका थिए । त्यसअर्थमा बिहीबारको दुई अध्यक्षबीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ ।

प्रकाशित : श्रावण २९, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्

‘तिमीसँग माया गर्दा...’

अन्तरजातीय बिहे गरेका दुई सिर्जनशील कलाकारको प्रेमकथा
गोकर्ण गौतम

काठमाडौँ — सुन्धारास्थित थिएटर मलमा नाटक ‘उपियाँको निबन्ध’ रिहर्सल हुँदै थियो । तरह–तरहका पहिरन चाहिन्थ्यो, निर्देशकको चाहनाबमोजिम पहिरन बनाउन कलाकार आफैं खटिरहेका थिए । एउटा कपडा काटकुट पारेर नयाँ बनाउनुपर्ने भयो तर कहाँ पो सिलाउने ?

त्यतिखेरै कलाकारमध्ये एक लक्ष्मी बर्देवाले भनिछन्, ‘मेरो घरमा बुबाको टेलरिङ छ । म सिलाउन भन्छु ।’ अरू कलाकारले खासै अनौठो मानेनन् तर जीवन भट्टराईको मनमा कौतूहलता पलायो, ‘बर्देवा भनेको त पक्कै दलित (परियार) होइन होला । त्यसो भए घरमै बुबाको टेलरिङ कसरी ?’ फेरि एकछिनपछि आफैंसँग भनेछन्, ‘टेलरिङको व्यवसाय मात्र होला ।’ जीवनले लक्ष्मीबारे यत्तिविघ्न घोत्लिनुको कारण थियो, ‘त्यतिबेला उनी लक्ष्मीलाई मन पराउन थालिसकेका थिए । तर, दलित नै रहिछन् भने संकट पर्थ्यो, उनी त उपाध्याय बाहुनको छोरो ।’

जीवनको शंका सही थियो । लक्ष्मी दलित समुदायकै थिइन्, उनीसँग माया गाँसेपछि अनेक उल्झनले लपेटिरह्यो । तर, प्रेम यति प्रगाढ बन्दै गयो कि जातको तगारोले कहिल्यै छेक्न र रोक्न सकेन ।

चार वर्ष बित्यो । हालैको झरी परेको एक बिहान अनामनगरमा लक्ष्मी र जीवन एकसाथ भेटिए, अहिले सहकर्मीबाट पतिपत्नी बनिसकेका छन् । त्यतिबेला नाटक मात्र गर्थे, फिल्म हुँदै अहिले म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् ।

***

जेल पनि सहुँला

नेल पनि सहुँला

तिमी हुन्छ मात्रै भन

दुनियाँको झेल पनि सहुँला

मेलिना राई र बलबहादुर राजवंशीले गाएको यो गीत आजकल खुब लोकप्रिय छ । गीतको मर्मलाई भिडियोमा मन छुने शैलीमा उतारिएको छ । अभिनय छ, जीवन र लक्ष्मीको । निर्देशन पनि उनीहरूकै । ‘बिहे गरेपछि यो गीत खेलियो तर हामीले यस्तै सोचेर बिहे गरेका थियौं, त्यसैले यो गीत हाम्रै लागि लेखिएको जस्तो लाग्छ,’ जीवनले मुस्कुराउँदै सुनाए । भिडियोमा जीवन स्कुलको पाले हुन्छन्, लक्ष्मीचाहिँ शिक्षिका । उनीहरूले वास्तविक जीवनमा जातीय विभेदको राप सहनुपर्‍यो, भिडियोमा वर्गीय विभेद । लक्ष्मी भन्छिन्, ‘सम्बन्धमा समझदारी र एकअर्कामा सम्मान छ भने जस्तै व्यवधानले रोक्न सक्दैन । हाम्रो अनुभवले त्यही भन्छ, भिडियोमा पनि त्यस्तै देखाउने प्रयास गरेका छौं ।’

यति घनीभूत प्रेम कसरी सुरु भयो ? यो प्रश्नले दुवै पुलकित बने । र, मण्डलाका ती दिनहरू सम्झिए, जतिबेला उनीहरूको प्रेम टुसाउन थाल्यो ।

कलाकार नै बन्छु भनेर जीवन हेटौंडाबाट काठमाडौं आएका थिएनन् । तर, यहाँ आएपछि जब नाटकलाई नजिकबाट नियाल्न पाए, उनलाई लागेछ, ‘जीवनमा मैले गर्नुपर्ने यही हो ।’ नाटकमा उनले आफूलाई पाए । त्यसपछि अभिनय प्रशिक्षणका लागि मण्डलामा हाजिर भए । त्यहाँको चौथो ब्याच । लक्ष्मीचाहिँ तेस्रो ब्याच पास आउट थिइन् । जब लक्ष्मीलाई जीवनले देखें, हक्की र निडर लाग्यो । बोल्न कति पनि नडराउने । जीवन

ठ्याक्कै उल्टो, अन्तरमुखी स्वभावको । तर, अन्तरमनको भोगाइ उस्तै–उस्तै, दुवै अभिनय कर्ममा तल्लीन थिए तर भनेजस्ते मौका मिलिरहेको थिएन । अझ जीवनलाई त काठमाडौंमा बस्नै धौधौ थियो । लक्ष्मीको घरै यहीं भएकाले खाने–बस्ने संकट थिएन ।

कुनै नाटकको शो सकिएपछिको साँझ थियो त्यो । चिनजान भर्खरै भएको थियो । नाटक सकेर लक्ष्मीलाई हिँडेरै अनामनगरबाट कालोपुल जानुपर्ने बाध्यता थियो । त्यसैले नाटक सक्नासाथ हत्तारिँदै निस्कने गरेको जीवनले नियालेका रहेछन् । एक दिन आँट गरेछन्, ‘तपाईं एक्लै हो भने म पुर्‍याइदिन्छु नि ।

‘तिमीसँग बाइक छ ?’ लक्ष्मीले सोधिछन् ।

‘छैन, म हिँडेरै पुर्‍याइदिन्छु,’ जीवन थोरै लजाए । लक्ष्मी हाँसिन् तर नाईं भनिनन् ।

लक्ष्मी सम्झिछिन्, त्यो गोधूलि साँझमा जीवन धेरै बोले, उनले सुनिन् मात्र । जीवनतिर फर्केर हाँस्दै भनिन्, ‘पहिलो हिँडाइमै केटोले कविता सुनाउन भ्यायो ।’ जीवन पनि के कम ? भनिहाले, ‘भोलिपल्टदेखि त तिमी पनि सुनाउन थालिहाल्यौं नि ।’ हिँड्दै, कविता सुनाउँदै । क्या काइदा ! लक्ष्मीलाई कालोपुल पुर्‍याउने । अनि, एक्लै घट्टेकुलो फर्कने । जीवनको दैनिकी बन्न थाल्यो । जति धेरै भेट, उतिधेरै सामीप्यता । एकदिन लक्ष्मीलाई कसैले सोध्यो, ‘तिम्रो ब्वाइफ्रेन्ड छ ?’ उत्तर के थियो त ? भन्छिन्, ‘छ/छैन केही भनिनँ तर त्यतिबेला मलाई जीवनको अनुहार याद आयो ।’ उनी आफैंसँग प्रस्ट भइन्, जीवनलाई माया गर्न थालेछु । र, उनले चाल पाइसकेकी पनि थिइन्, जीवनले पनि माया गर्छन् । तर, जीवन कति घुसघुसे भने, व्यक्त गर्दै/नगर्ने ।

यतिबेलासम्म जीवनलाई लक्ष्मीको जात थाहा थिएन, कहिल्यै कुरा भएन । लक्ष्मीलाई लागेछ, अरू साथीबाट जीवनले थाहा पाइसकेका छन् । ‘उपियाँको निबन्ध’ को प्रसंग यही समयको हो ।

जीवनले ढाँटेनन्, ‘लक्ष्मीको अचाक्ली माया लाग्थ्यो तर जब घर सम्झन्थे, अत्तालिन्थें ।’

लक्ष्मीले पनि ढाँटिनन्, ‘जीवन बुबाआमाको धेरै कुरा गर्थ्यो । मसँग बिहे गरेपछि बुबाआमासँग टाढिनुपर्छ, जुन म चाहन्नथें । त्यसैले म आफैं साइड लाग्नुपर्छ भन्ठान्थें ।’ तर उही, नपर्नु प्रेम परिसकेको थियो, आँधी आउँदै छ भन्ने पूर्वाभास हुँदा पनि अलग हुन चाहेनन्/सकेनन् । यता करिअरको चिन्ता, उता परिवारको । दुवैका लागि सकसपूर्ण थिए ती पलहरू ।

साथी सर्कलमा उनीहरूले प्रेम लुकाएनन्, सँगै बस्न थाले, घरमा भने थाहा थिएन । एक दिन आमासँग जीवनले सबथोक भने, सुरुमा आमाले पत्याइनन् । ‘त्यसपछि आमा रुन थाल्नुभयो । हामी यही समाजमा बस्नुपर्छ, त्यसो नगर भन्नुभयो,’ उनले भावुक हुँदै सम्झिए, ‘मैले मान्छे राम्रो छ, उसैसँग बिहे गर्छु भनें ।’ यता, उनीहरूको प्रेम कसिलो हुँदै छ । उता, परिवारमा कोलाहल मच्चिँदै छ ।

***

केही दिनपछि जीवनका बुबाले फोनमा लक्ष्मीलाई ‘जीवनलाई छोडिदेऊ’ भनेर आग्रह गरे । लक्ष्मीले ‘म छोड्न सक्दिनँ’ भनिदिइन् । अत्ति भएपछि बुबाआमाको चित्त बुझाउन जीवन घर गए । लक्ष्मीका अनेक गुण र एकअर्काले गर्ने माया सुनाए । तर, अहँ ! कठोर जातीय संरचनामा बाँधिएका र समाजको डरले सताएका बुबाआमाले कान्छो छोरोको अनुरोध मान्दै–मानेनन् । जीवनले हार खाए । त्यहीबेला लक्ष्मीले भनिछन्, ‘सधैं घरबाट अलग्गिएर बस्न सकिन्नँ । बरु आ–आफ्नो बाटो लागुम् ।’ जीवनले मानेनन्, बिहे गर्ने अड्डी कसे । लक्ष्मी पनि कहाँ छोड्न सक्थिन र ?

त्यो दिन पनि आयो, जीवनले लक्ष्मीको सिउँदो सजाए । २०७५ माघ २७ गते मन्दिर गए, भगवान्लाई साक्षी राखे, साथीभाइ पनि थिए, तर जीवनको घरपट्टिका कोही थिएनन् ।

जीवन फुरुंग थिए– आफूले माया गरेको मान्छे पाए ।

जीवन उदास थिए– परिवारबाट टाढिनुपर्‍यो ।

लक्ष्मी मक्ख थिइन्– माया गरेको मान्छे पाइन् ।

लक्ष्मी निराश थिइन्– आफूसँग नाता गाँसेपछि परिवारसँग जीवनको नाता तोडियो ।

भनुँन, दुवैका लागि हाँसो र रोदनको मिश्रण ।

तर, सुखद के भइदियो भने, बिहेपछि उनीहरूको करिअरले गति लियो । ‘कागजपत्र’, ‘सेल्फी किङ’, ‘चंगा चेट’ लगायतका फिल्ममा सँगै काम गरे । ‘प्रेमगीत ३’ र ‘चपली हाइट ३’ प्रदर्शन हुनै बाँकी छ । लक्ष्मीले ‘बुलबुल’ बाट उधुम प्रशंसा पाइन् । म्युजिक भिडियो त सँगै खेल्ने मात्र होइन, निर्देशन पनि गर्न थाले । ‘नशा,’ ‘रुमालै चिनो,’ ‘आएन खबर,’ र ‘रुँदारुँदै हाँसेको’ आदि–आदि । ‘जेल पनि सहुँला’ पछि उनीहरूको माग बढेको छ ।

डेढ वर्ष भयो, जीवन घर जान नपाएको । बुबाआमासँग पनि खासै सम्पर्क हुन्न । नातेदारहरूको कुरा सुन्दा लाग्छ, उनले ठूलै गल्ती गरेका छन् । लक्ष्मीसँग बिहे गरेकोमा कहिलेकाहीँ पछुतो लाग्दैन ? अनेपक्षित प्रश्न थियो सायद । त्यसैले केही समय मौन भए, त्यसपछि लक्ष्मीतिर फर्केर गुन्गुनाए :

आफन्तहरू टाढा भए

तिमीसँग माया गर्दा

तर, सिंगो संसार पाएँ

तिमीसँग माया गर्दा

रमेश नामहाङ राईले लेखेको यस गीतमा यो जोडीको अभिनय र निर्देशन छ ।

-तस्बिरहरु : दीपक केसी/कान्तिपुर

प्रकाशित : श्रावण २९, २०७७ ११:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×