कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

फर्किएनन् सहायक सम्पादक बानियाँ

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको दुःखद निधन भएको छ । सोमबार दिउँसोदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन अवस्थामा रहेका बानियाँको राजधानीको बल्खु खोलामा बगेर निधन भएको हो ।

फर्किएनन् सहायक सम्पादक बानियाँ

बल्खुस्थित तरकारी बजारनजिकै पुलमुनिबाट बगेर बेपत्ता भएका बानियाँको मृत शरीर मंगलबार बिहान मकवानपुरको सिस्नेरीस्थित मान्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको थियो । त्यसपछि शव हेटौंडा अस्पताल पुर्‍याइएका उनको बुधबार पहिचान हुन सकेको हो ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बानियाँको शव मंगलबार बिहान करिब ११ बजे फेला परेको बताए । सोमबार बल्खु पुलमुनिबाट एक व्यक्ति बगेर बेपत्ता भएको प्रहरीलाई जानकारी भए पनि उनी को हुन् भन्ने तत्काल खुल्न सकेको थिएन । अनुसन्धान गर्दै जाँदा बगेका ती व्यक्ति बानियाँ नै भएको पत्ता लागेको एसएसपी थापाले बताए ।

थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको थियो । त्यसपछि उनी खोलातर्फ लडेपछि स्थानीयले उद्धार प्रयास गरेका थिए । तर पानीको अत्यधिक बहावले गर्दा उद्धार गर्न नसकिएको स्थानीयले बताएका छन् ।

बानियाँ बगेको स्थान नजिकैबाट प्रहरीले उनले लगाएको छालाको जुत्ता फेला पारेको थियो । बानियाँ बल्खु क्षेत्रमा हिँडेको सीसीटीभी फुटेजमा देखिएको छ भने प्रत्यक्षदर्शीले तस्बिर हेरेर उनको अनुहार पहिचान गरेका थिए ।

पत्रकार बानियाँ सोमबार दिउँसोसम्म कार्यालयको काममै थिए । कोभिड–१९ संक्रमणका कारण कान्तिपुरका अधिकांश कार्य घरबाट भइरहेकाले उनी पनि घरबाटै काम गर्दै थिए । तर आइतबार तीनकुनेस्थित आफ्नो डेराबाट निस्केर उनी पत्रकारसमेत रहेका आफ्ना मित्र छायाँचन्द्र भण्डारीको चन्द्रागिरि नगरपालिका–१५, तीनथानास्थित घरमा गई बसेका रहेछन् ।

बानियाँ भोलिपल्ट बिहान खाना खाएर करिब साढे १२ बजे त्यहाँबाट हिँडेको थाहा भएको छ ।

भण्डारीको घरमा रहेकै बेला बिहानको खाना यतै खान्छु भनेर उनले छोरी सुस्मितालाई फोन गरेर बताएका थिए । त्यहाँबाट खाना खाएर हिँडेका बानियाँले करिब १ बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग टेलिफोनमा कुराकानी गरेका थिए । पौडेलले कान्तिपुरका लागि लेख पठाएको बारे बानियाँले कार्यालयलाई पनि सूचित गरेका थिए । एसएसपी थापाका अनुसार, बानियाँले प्रयोग गर्ने मोबाइल फोन त्यसपछि स्वीच अफ भएको पाइएको छ ।

त्यसको करिब तीन घण्टापछि पौने ४ बजेतिर उनी बल्खु चोकमा देखापरेका थिए । त्यहाँ स्थानीय सइको कमान्डमा रहेको प्रहरीको गस्ती टोलीले उनलाई अस्वाभाविक अवस्थामा देखेपछि सोधपुछ गरेको थियो । त्यसपछि प्रहरीलाई घर जाने भन्दै हिँडेका बानियाँ बल्खु तरकारी बजारनजिकैको पुलमुन्तिर लागेको र खोलातर्फ चिप्लिएको स्थानीयको भनाइ उद्धृत गर्दै एसएसपी थापाले बताए । उक्त घटना हुँदा बानियाँको पहिचान खुलेको थिएन । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग बल्खु कार्यालयको बाटो हुँदै अगाडि बढेका बानियाँ पुलमुनि पुगेको र चिप्लिएर पानीको उच्च बहावसँगै बगेको देखिएको एसएसपी थापाको भनाइ छ ।

अपराध महाशाखाले घटनाबारे अनुसन्धान गर्दा स्थानीय १० जनासँग सोधपुछ गरेको थियो । उनीहरूले पानीमा डुबेका बानियाँलाई उद्धार गर्न डोरी, प्लास्टिकका पाइप तथा बाँस पानीमा फ्याँकेर निकाल्ने प्रयास गरेको बताएका छन् । स्थानीयले तत्कालै नजिकै रहेको महानगरीय प्रहरी प्रभाग बल्खुलाई घटनाबारे जानकारी गराएका थिए ।

लगत्तै नेपाल प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बगेका व्यक्तिलाई उद्धार गर्न सुन्दरीघाटसम्म खटिएको थियो । साँझ ६ बजेसम्म पनि ती व्यक्ति फेला नपरेपछि काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय, मकवानपुरलाई घटनाबारे खबर गरेको थियो । भोलिपल्ट बिहान मकवानपुरको सिस्नेरीमा अपरिचित व्यक्तिको शव फेला परेको थियो ।

बुधबार परिवार र कान्तिपुर पब्लिकेसन्ससँग समन्वय गरेर हुलिया जाँच गर्दा ती व्यक्ति कान्तिपुरकर्मी बानियाँ रहेको खुल्न गएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित : श्रावण २९, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?