कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

वनकरियाकी एक्ली ‘गुरुमा’

प्रताप विष्ट

हेटौंडा — कोरोना कहरका कारण पाँच महिनायता विद्यालय/क्याम्पसको पठनपाठन ठप्प छ । लामो समयसम्म शैक्षिक संस्था नखुल्दा विद्यार्थी अन्योलमा छन् । मकवानपुरको मनहरीमा भने ३१ विद्यार्थीले नियमित पढ्न पाएका छन् ।

वनकरियाकी एक्ली ‘गुरुमा’

अक्षर चिनाउनेदेखि १० कक्षासम्मका विद्यार्थीलाई शिक्षा दिने ‘गुरुआमा’ हुन्, सन्तोषी वनकरिया । वनकरिया समुदायका बालबालिकालाई मनहरी गाउँपालिका–४ मुसेधाप बस्तीको बीचमा रहेको सामुदायिक भवनमा जम्मा गरेर उनी नियमित पढाउँछिन् । यो समुदायमा एसईई गर्ने उनी दोस्रो व्यक्ति हुन् ।

पढ्न नआउनेलाई घरबाट ल्याएरै पढाउने गरेको उनको भनाइ छ । ‘वनकरियाको सानो टोल भएकाले नआउनेलाई घरमा नै गएर ल्याउँछु,’ सन्तोषीले भनिन्, ‘सुरु–सुरुमा आउन मान्दैनथे, अहिले त खुसी भएर आउँछन् ।’ बिहान–बेलुका उनले दैनिक ४ घण्टा पढाउने गरेकी छन् । १० कक्षामा पढ्ने एक जना मात्र छन् । ‘गाउँका भाइबहिनी सबैलाई पढाउनुपर्छ भनेर अन्यत्र जागिर खान गइनँ,’ उनी भन्छिन्, ‘काठमाडौं र चितवनबाट जागिरका लागि डाकेका थिए तर गाउँमै बसेर केही गर्ने इच्छा भएकाले यहीँ बसेँ ।’ लकडाउनको बेलामा पनि नियमित पढाउन पाउँदा आफूलाई सन्तोष मिलेको उनले बताइन् । बालबालिका र अभिभावक उनको सक्रियताबाट निकै खुसी छन् । ‘गाउँमा पढेलेखेकी उही छे, अहिले हामीलाई समस्या छैन, सबै काम उसैले गर्छे,’ सन्तमाया वनकरियाले भनिन्, ‘टोलभरिका केटाकेटीलाई पढाउँछे, हामीलाई पनि खेतीपाती गर्न सिकाउँछे ।’ शिक्षाबिना विकास नहुने भएकाले गाउँका सबैलाई पढ्न प्रेरित गरिरहेको सन्तोषीको भनाइ छ ।

एक दशकअघिसम्म वनकरिया बस्तीबाट स्कुल जाने दुई जना मात्र थिए । अरू बालबालिका जंगलमा कन्दमूल खोज्ने, खोलामा दिनभर माछा मार्ने र गोठाला जाने गर्थे । अहिले भने बस्तीमा परिवर्तन देखिएको छ । मनहरी गाउँपालिका–४ स्थित पशुपति मावि र प्रजा आधारभूत विद्यालयमा नियमित पढ्ने बालबालिकाको संख्या २७ छ ।

अहिले थप विद्यार्थी पनि सन्तोषीसँग पढिरहेका छन् । बालबालिकालाई राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले शैक्षिक सामग्री, झोला र पोसाक सहयोग गर्दै आएको छ । सन्तोषी गाउँमै हुँदा विकास निर्माणको काममा पनि निकै सहयोग मिलेको वडाध्यक्ष ध्रुव खड्काले बताए । गाउँपालिकाले सन्तोषीकै अगुवाइमा बस्तीमा होमस्टे स्थापना गर्न लागेको छ । २० वर्षीया सन्तोषीले तीन वर्षअघि एसईई उत्तीर्ण गरेकी हुन् । दाताको सहयोगमा हेटौंडा उपमहानगरपालिका–१६ जनप्रिय प्राविधिक विद्यालयबाट जेटीए उत्तीर्ण गरिन् । वडा कार्यालयले उनलाई जागिर पनि दिएको छ । वनकरिया समुदायमा पहिलोपटक पम्फा वनकरियाले एसईई उत्तीर्ण गरेकी थिइन् । नवलपरासीवाट ल्याब टेक्निसियन सिध्याएकी उनी मनहरी बजारस्थित प्रयोगशालामा काम गर्छिन् । वनकरिया समुदायका कुनै पनि पुरुषले एसईई उत्तीर्ण गर्न सकेका छैनन् ।

साढे दुई दशकअघिसम्म चुरियाघाँचमा फिरन्ते जीवन बिताउँदै आएका वनकरियालाई सरकारले २०६५ सालदेखि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । भत्ताले समुदायमा विस्तारै परिवर्तन देखिन थालेको छ । विगतमा अरूको

आसमा बस्ने उनीहरू अहिले आफ्नो गाउँमा आउने पाहुनालाई भात–खाजा खुवाई न्यानो सत्कार गर्न सक्ने हैसियतमा छन् ।

प्रकाशित : श्रावण २९, २०७७ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?