कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तीव्र गतिले बस दुर्घटना

३ को मृत्यु, ३३ जना घाइते
मोहन शाही

डोटी — साँघुरो घुम्तीमा चालकले गति नियन्त्रित गर्न नसक्दा डोटीमा बुधबार बस दुर्घटना भएको छ । घटनामा तीन जनाको मृत्यु भएको छ भने ३३ यात्रु घाइते भएका छन् । भारतबाट घर फर्केका यात्रु बोकेर कैलालीको गौरीफन्टा नाकाबाट अछाम गइरहेको ना६ख २५२९ नम्बरको बस पूर्वीचौकी गाउँपालिकाको–१ तल्लो फुलोटमा बिहान ६ बजे सडकबाट खसेको हो ।

तीव्र गतिले बस दुर्घटना

जिल्ला प्रहरी कार्यालय डोटीका इन्स्पेक्टर कर्ण बोहराका अनुसार मृत्यु हुनेमा अछामको मंगलसेन–७ की ५५ वर्षीया धनी शाही, बान्नीगढ जयगढ गाउँपालिका–३ का ६० वर्षीय पदम साउद र बसका सहचालक चौरपाटी गाउँपालिका–४ का ३० वर्षीय टीकाराम विक छन् ।

घाइतेमध्ये ६ जनालाई प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको जिल्ला अस्पताल डोटीका डा. प्रकाश ठकुल्लाले बताए । ‘५ जनाको ढाड, खुट्टा, हिप तथा तिघ्रा भाँचिएकाले थप उपचारका लागि धनगढी पठाइएको हो,’ उनले भने, ‘१० महिनाको एक बच्चाको अवस्था भने चिन्ताजनक छ ।’ डोटीका एसपी जनकराज पाण्डेयले सडकको बायाँतर्फ बसले बढी च्याप्दा सन्तुलन गुमाएर एक सय फिट तल खसेको बताए । सडकको दायाँतर्फ पानी बगाउन सोलिङ गरेको कल्भर्ट छ । उक्त कल्भर्टको छेउबाट बस खसेको हो । अन्यत्र सडक चौडा भए पनि घटनास्थलनजिक एउटा गाडी मात्र पास हुने साँघुरो कल्भर्ट छ ।

‘बाटो ढाकिने गरी बाक्लो कुहिरोले गर्दा चालकले साँघुरो कल्भर्ट स्पष्ट देखेनन्,’ एसपी पाण्डेयले भने, ‘वर्षाले बाटो पनि चिप्लो थियो । कल्भर्टको बायाँतर्फ बढी च्यापिँदा बसको पछाडिको चक्का सडकको ट्र्याकभन्दा बाहिर गयो, चालकले ट्र्याकमा ल्याउन नसकेपछि तल खस्यो ।’ पानी परिरहेको र हुस्सु लागेको बेला गाडी तीव्र चलाउनु नै दुर्घटनाको कारण रहेको उनले बताए ।

तीव्र गतिमा भएकाले सन्तुलन गुमाएर सडक बाहिर चक्का गएपछि बस खसेको दुर्घटनाका घाइते अछामको विनायक–३ का २७ वर्षीय रेमन्त साउदले बताए । ‘ड्राइभर अलि सिकारु हुन जस्तो महसुस बाटोमै भइरहेको थियो, बेलाबेला गाडी बेतोडको स्पीड चलाउने गरेका थिए,’ उनले भने, ‘एक्सिडेन्ट हुँदाको बेला पनि बसको स्पीड थियो, बाहिर कुहिरो लागेको पनि थियो ।’

अर्की घाइते कलसरी विकले पनि चाँडो पुर्‍याउने हतारमा बस कुदाइरहेकाले दुर्घटना भएको बताइन् । ‘चालकले धेरै यात्रुलाई बिहान ६/७ बजे नै पुर्‍याउँछु भनेका गरेका थिए । तर ठाउँठाउँमा अलमल्याएर ढिला गरिसकेका थिए,’ उनले भनिन्, ‘त्यही हतारमा गाडी छिटो छिटो चलाए, यस्तो विपत्तिमा परियो ।’ चालक हेम खत्री आफैं पनि घाइते छन् । उनको ढाडमा चोट लागेको छ ।

प्रकाशित : श्रावण २९, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?