कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीमाचौकीमा ४२ वर्षपछि सुरक्षा प्रमुख

सीडीओ र डीएसपीलाई प्रहरीले दुर्गममा भोग्नुपरेका अनेक समस्या सुनाए । पहिलोपटक यस्तो अवसर जुरेकोमा धुली प्रहरी चौकी इन्चार्ज धर्म थापाको अनुहारमा खुसी झल्किएको थियो ।
वसन्तप्रताप सिंह

धुली, बझाङ — ‘भिस्याटले काम नगरेको तीन महिना हुन लागिसक्यो सर । डायलटोन त सुनिन्छ । न यताबाट सम्पर्क हुन्छ, न उताको कल आउँछ,’ सीमा प्रहरीचौकी धुलीका इन्चार्ज असई धर्म थापाले प्रमुख जिल्ला अधिकारी (सीडीओ) कमलराज भण्डारी र जिल्ला प्रहरी प्रमुख डीएसपी गणेश बमलाई सीमा प्रहरीका दुःख सुनाउँदै भने, ‘एचएफ सेट पनि धेरै पुरानो भएकोले भनेको बेला काम गर्दैन ।

सीमाचौकीमा ४२ वर्षपछि सुरक्षा प्रमुख

घाम नलागेको दिन त सोलार चार्ज नभएर बन्द हुन्छ । केही घटना भइहाल्यो भने जिल्लामा खबर गर्न फोन नलागेर कता नेटवर्क टिप्छ भन्दै डाँडाकाँडा कुद्नुपर्छ ।’ उनले प्रहरीको सञ्चार सेटले पनि काम नगर्ने भएकोले गस्ती हिँडेका प्रहरीसँग पनि चौकीमा पुगेपछि मात्रै सम्पर्क हुने गरेको बताए ।

बझाङको साइपाल गाउँपालिकाको धुलीमा स्थापना भएको सीमा प्रहरी चौकीमा पहिलोपटक आएका सीडीओ र डीएसपीलाई प्रहरीले दुर्गममा भोग्नुपरेको समस्या सुनाउन पाउँदा उनको अनुहारमा भने खुसी झल्किएको थियो । चीन र नेपालको सीमा जोडिएको यस गाउँपालिकामा सीमा सुरक्षार्थ २०३५ सालमा प्रहरी चौकी स्थापना भएको थियो । सीमा चौकी स्थापनाको ४२ वर्षपछि पहिलोपटक जिल्लाका सुरक्षा प्रमुखहरूले चौकी निरीक्षणका लागि यहाँ पाइला टेकेका हुन् ।

स्थानीयको दुईतले घरको चार कोठा भाडामा लिई चौकी सञ्चालन गरेकोमा छानो चुहिएर टालटुल गर्दै काम चलाइरहेको इन्चार्ज थापाले सुनाए । ‘चामल पनि यती मात्रै हो सर, एक वर्षभरिलाई । यो सकियो भने लोकल (स्थानीय) हरूसँग पैंचो माग्नुपर्छ,’ माथिल्लो तलामा रहेका २५ किलोका चार बोरा चामल देखाउँदै उनले भने, ‘उनीहरूका पनि घरमा भए दिने हुन्, नभए चाउचाउ र बिस्कुटकै भरमा चल्नुपर्छ ।’

पहिलोपटक आएका प्रमुखहरूसँग असई थापाले सीमा प्रहरीका दुःख खुलेरै ब्रिफिङ गरे । सीमा सुरक्षाको लागि स्थापना भएको भए पनि धुली प्रहरी चौकीले जिल्लाको झन्डै आधा क्षेत्रफल ओगटेको साइपाल गाउँपालिकाको पनि सुरक्षाको जिम्मा लिएको छ । साइपाल हालसम्म यातायात सञ्जालमा जोडिएको छैन ।

सदरमुकाम चैनपुरबाट धुली पुग्न चार दिन हिँड्नुपर्छ । यहाँका एक गाउँबाट अर्को गाउँ पुग्न पनि न्यूनतम चार घण्टादेखि दुई दिनसम्म लाग्छ । १६ जना प्रहरीको दरबन्दी रहेकोमा यहाँ अहिले ८ जना प्रहरी मात्रै कार्यरत छन् । ‘दुई–तीन ठाउँमा एकैपटक घटना भयो र प्रहरी पठाउनुपर्‍यो भने कहिलेकाहीं त चौकीमा ताल्चा लगाएर जानुपर्ने हुन्छ,’ थापाले कान्तिपुरसँग भने, ‘टाढाका गाउँमा जाँदा प्रहरी त्यही दिन फर्किन सम्भव नै हुन्न । दुर्गमका समस्या यस्तै छन् ।’ इन्चार्ज थापाको बिफ्रिङ सुनिसकेपछि डीएसपी बमले प्रहरी हेडक्वार्टरको सञ्चार शाखामा सम्पर्क गरेर भिस्याट टेलिफोन मर्मतका लागि अनुरोध गर्ने बताए । त्यहाँ रहेका अन्य समस्या समाधानको लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले सीमा प्रहरी चौकीको भवन निर्माणका लागि बजेट आएको बताउँदै अहिले प्रहरीको नाममा रहेको जग्गा बाढीको जोखिममा रहेकोले सुरक्षित स्थानमा जग्गा खोज्न निर्देशन दिए ।

‘अभाव नै अभावका बीचमा पनि चुस्त सेवा दिइरहनुभएको देख्दा मलाई गर्व लागेको छ,’ डीएसपी बमले भने, ‘यहाँका समस्याहरू समाधानका लागि हेडक्वार्टरदेखि अन्य निकायमा पनि समन्वय गर्नेछु । तपाईंहरू उच्च मनोबलका साथ काम गर्नुहोला ।’ प्रजिअ कमलराज भण्डारीले पनि विविध समस्या र अभाव झेलेर जिल्लाकै ठूलो भूभागमा शान्तिसुरक्षा कायम गर्न सफल भएकोमा प्रहरी कर्मचारीको प्रशंसा गरे । उनले प्रहरीलाई सञ्चार, बन्दोबस्तीलगायतका कुरामा सुविधासम्पन्न बनाउन पहल गर्ने बताए । प्रहरी मात्र होइन, यहाँका

स्थानीयले पनि खाद्यान्न अभाव र सञ्चारको उस्तै समस्या झेलिरहेका छन् । तैपनि यहाँका स्थानीयहरू अभावमा प्रहरीलाई दिल खोलेर सहयोग गर्छन् ।

प्रकाशित : श्रावण २९, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?