१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जो इमानदार र निर्भीक थिए

राजाका कदमविरुद्ध लेख्न–बोल्न जोकोहीले आँट गर्दैनथ्यो । यस्तोमा राजाले अधिराजकुमारी हेलेनलाई अस्वाभाविक उपचार खर्च दिएपछि बानियाँले आफ्नो स्तम्भमा ‘हेलेनलाई डेढ करोड, कर्णालीलाई ठिंगा’ शीर्षकमा राज्यकोषको मनपरी वितरणविरुद्ध औंलो ठड्याउने साहसिक काम गरे ।
घनश्याम खड्का

आजीवन स्वच्छ छवि र मिलनसार व्यक्तित्वका रूपमा परिचित कान्तिपुरका सहायक सम्पादक बलराम बानियाँको दुःखद निधनसँगै देशले एक जोधाहा पत्रकारको क्षति व्यहोरेको छ । बानियाँ कान्तिपुरको स्थापनाकालदेखि पत्रकारितामा सक्रिय थिए । सुरुवाती वर्ष पत्रिकाको सम्पादन मण्डलमा रहेर काम गरेका उनी ०५६ सालदेखि रिपोर्टिङमा सक्रियतापूर्वक लागे ।

जो इमानदार र निर्भीक थिए

छिट्टै नै राजनीति, संसद् र सार्वजनिक प्रशासनका बारेमा समाचार लेख्ने मामिलामा बानियाँले आफूलाई अग्रणी पत्रकारका रूपमा स्थापित गरे । भ्रष्टाचारको विरोध र सुशासनका पक्षमा लेख्न उनी कहिल्यै थाक्दैनथे । सदैव समाचारका लागि तल्लीन रहन सक्ने अटुट जाँगर र खुबी उनमा विद्यमान थियो ।

मुलुकको कर्मचारीतन्त्रमा मौलाएको भनसुनदेखि भ्रष्टाचारसम्मको पाटोलाई बानियाँले झन्डै दुई दशकसम्म नियाले र तिनलाई निर्भीकतापूर्वक बाहिर ल्याउने काम गरे । सधैं निडर र निष्पक्ष भएर प्रस्तुत हुने बानियाँ बोलीचालीमा सजिलै घुलमिल हुन सक्ने सरल स्वभावका थिए । तर, समाचार लेखनमा भने उनी गल्ती गर्नेहरूप्रति जहिल्यै शून्य सहनशील भई प्रस्तुत हुन्थे । पछिल्लो समय उनी कान्तिपुरमा लामा किसिमका अनुसन्धानात्मक रिपोर्टिङ गर्ने र गराउने महत्त्वपूर्ण जिम्मेवारीमा थिए ।

कान्तिपुरका पूर्वसम्पादक नारायण वाग्ले सहकर्मीका रूपमा बानियाँलाई एक असाधारण किसिमको सरल र इमानदार व्यक्तिका रूपमा सम्झन्छन् । ‘आफू आचारसंहितामा खरो बस्ने र अरूका बारेमा पनि खस्रो भएर बोल्न सक्ने विरलै गुण बलरामको थियो,’ वाग्लेले भने, ‘न्युज रुममा अरू कोही नहुँदा पनि बलरामको चोरऔंला चाहिँ छ है भन्ने हुन्थ्यो मलाई । त्यो उनले कमाएको सम्पत्ति र सबैले उनलाई स्नेह गर्ने आदरको रहस्य थियो ।’

०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गोपालमान श्रेष्ठ वनमन्त्री र सुरेन्द्र हमाल वन राज्यमन्त्री थिए । एक सांसदको अलकत्रा बनाउने कम्पनीलाई सुदूरपश्चिमका वनहरूबाट सल्लाका रूखको खोटो संकलन गर्न दिने निर्णय गरेर मन्त्री श्रेष्ठले आर्थिक चलखेल गरेको समाचार बानियाँले आफ्ना तत्कालीन सहकर्मी किरण भण्डारीसँग मिली बाहिर ल्याएपछि ठूलै सनसनी मच्चिएको थियो । समाचार प्रकाशनपछि भ्रष्टाचारविरुद्ध जनमत चुलिएपछि देउवाले बाध्य भएर वनमन्त्री श्रेष्ठ र राज्यमन्त्री हमाल दुवैलाई हटाएका थिए ।

बानियाँले तीन दशक लामो निर्भीक पत्रकारितामा अरू पनि थुप्रै उदाहरणीय काम गरेका छन् । दरबार हत्याकाण्डपछि राजाको सक्रिय शासनकालमा उनले समाचारका साथसाथै ‘समय–सन्दर्भ’ शीर्षक स्तम्भ पनि लेख्न थाले, जहाँ उनी दुःखी–गरिबका पक्षमा नीतिगत बहस गर्थे । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा प्रेसमाथि ठूलो दमन भएको थियो । त्यतिबेला बानियाँ नेपाल पत्रकार महासंघको सचिव भई प्रेस स्वतन्त्रताका निम्ति आम रूपमा आवाज उठाउने कार्यमा पनि उत्तिकै सक्रिय भएर लागे ।

तिनताक पत्रकारितामाथि अघोषित सेन्सरसिप थियो । राजाका कदमविरुद्ध लेख्न–बोल्न जोकोहीले आँट गर्दैनथ्यो । यस्तोमा राजाले अधिराजकुमारी हेलेनलाई अस्वाभाविक उपचार खर्च दिएपछि बानियाँले आफ्नो स्तम्भमा ‘हेलेनलाई डेढ करोड, कर्णालीलाई ठिंगा’ शीर्षकमा राज्यकोषको मनपरी वितरणविरुद्ध औंलो ठड्याउने साहसिक काम गरे । सिंगो कर्णालीका जनता रोग र भोकले सताइएका बेला अधिराजकुमारीलाई ठूलो रकम दिनु न्यायका दृष्टिमा अनुचित मात्रै नभएर अपराध हो भन्ने उनको खबरदारीलाई त्यतिबेलाका दलहरूले पनि सार्वजनिक रूपमा सहराएका थिए । बानियाँसँग सयौं ‘बाइलाइन सेयर’ गरेका कान्तिपुरका पूर्वसम्पादक हरिबहादुर थापा उनलाई नेपालका एक गिनेचुनेका पत्रकारका रूपमा सम्झन्छन् ।

‘निरन्तर पत्रकारिताकै लागि समर्पित र नेपालको शासकीय संयन्त्रको अन्तर गहिराइसम्म बुझेका नेपालका सीमित पत्रकारमध्येका एक हुनुहुन्थ्यो उहाँ,’ थापा भन्छन्, ‘त्यसका साथै उहाँलाई म निरन्तर खट्न सक्ने असल मानिसका रूपमा सम्झन्छु ।’ कान्तिपुरसँगको झन्डै दुई दशक लामो करिअरपछि बानियाँ ०६५ सालमा नागरिक दैनिकमा केही समय कार्यरत रहेपछि पुनः कान्तिपुरमै फर्केर सुशासनका पक्षमा लेख्न थालेका थिए ।

पछिल्लो समय उनले ऊर्जा, जलविद्युत् र ठूला परियोजनाका बारेमा पनि कलम चलाए । कनिष्ठ सहकर्मीलाई प्रेम दर्शाउने र समाचारको विषयवस्तुका साथै ‘एंगलिङ’ समेत दिएर अघि बढ्न हौस्याउने मामिलामा उनी कहिल्यै पछि पर्दैनथे । ‘बलराम एक शान्त तलाउजस्ता थिए,’ कान्तिपुरका पूर्वसमाचार सम्पादक गुणराज लुइँटेल बानियाँलाई सम्झन्छन्, ‘उनी कम बोल्थे तर लागेको कुरा धक नमानी भन्थे । सबै हिसाबले उनी एक आदर्श पत्रकार थिए ।’

तनहुँको मिर्लुङमा ०२७ सालमा जन्मिएका बानियाँका श्रीमती, एक छोरी र छोरा छन् ।

प्रकाशित : श्रावण २९, २०७७ ०६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?