काठमाडौँ — कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको निधनमा विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बानियाँको निधनले नेपालको पत्रकारितालाई ठूलो क्षति पुगेको उल्लेख गरेका छन् ।
'विकृति र भ्रष्टाचारविरुद्ध प्रहार गर्ने तथा समसायमिक विषयमा तिखो र विश्लेषणात्मक ढंगले कलम चलाएर नेपाली पत्रकारिता जगतमा विशिष्ट पहिचान बनाएका बानियाँ राजनीति, पत्रकारिता र राज्य प्रणालीका विविध विषयमा आफ्ना प्रस्तुति रख्दथे । निष्ठावान, निडर र हक्की स्वभावका बानियाँको निधनले नेपालको पत्रकारिता जगतमा एउटा नक्षत्र गुमाएको महसुस भएको छ,' पौडेलले सामाजिक संजालमा भनेका छन् ।
यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकश शर्मा, नेता गगन थापा, शेखर कोइराला र धनराज गुरुङलगायतले पनि बानियाँको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । शर्मा र थापाले बानियाँको निधनबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि प्रहरीसँग माग गरेका छन् ।
नेकपाका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि बानियाँको निधनमा दु:ख व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले पनि बानियाँको निधनमा शोक व्यक्त गरेका छन् ।
यस्तै, पत्रकार महासंघ, नेपाल प्रेस युनियन र फ्रिडम फोरमजस्ता संस्थाले पनि बानियाँको निधनमा शोक वक्तव्य प्रकाशित गरेका छन् । महासंघका महासचिव रमेश विष्टले जारी गरेको शोक वक्तव्यमा महासंघका पूर्वसचिव समेत रहेका बानियाँको निधनले महासंघ स्तब्ध भएको उल्लेख गरिएको छ ।
'यही २०७७ साल साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहनुभएका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ,' महासंघले उनको निधनबारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ ।
'महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ । पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पुर्याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ,' महासंघको वक्तव्यमा भनिएको छ ।
प्रेस युनियनले जारी गरेको शोक विज्ञप्तिमा उनको निधनसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य ल्याउन नेपाल प्रहरीसहित सम्बन्धित पक्षसँग माग गरिएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।
बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी सोमबार नै बल्खुचोकमा करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।
एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।
बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए । उनको श्रीमती, एक छोरी र छोरा छन् ।
सम्बन्धित समाचार :
कान्तिपुरका सहायक–सम्पादक बानियाँको दु:खद निधन
प्रकाशित : श्रावण २८, २०७७ २०:१७