पत्रकार बानियाँको निधनमा शोक व्यक्त - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकार बानियाँको निधनमा शोक व्यक्त 

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको निधनमा विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बानियाँको निधनले नेपालको पत्रकारितालाई ठूलो क्षति पुगेको उल्लेख गरेका छन् । 

'विकृति र भ्रष्टाचारविरुद्ध प्रहार गर्ने तथा समसायमिक विषयमा तिखो र विश्लेषणात्मक ढंगले कलम चलाएर नेपाली पत्रकारिता जगतमा विशिष्ट पहिचान बनाएका बानियाँ राजनीति, पत्रकारिता र राज्य प्रणालीका विविध विषयमा आफ्ना प्रस्तुति रख्दथे । निष्ठावान, निडर र हक्की स्वभावका बानियाँको निधनले नेपालको पत्रकारिता जगतमा एउटा नक्षत्र गुमाएको महसुस भएको छ,' पौडेलले सामाजिक संजालमा भनेका छन् ।

यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकश शर्मा, नेता गगन थापा, शेखर कोइराला र धनराज गुरुङलगायतले पनि बानियाँको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । शर्मा र थापाले बानियाँको निधनबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि प्रहरीसँग माग गरेका छन् ।

नेकपाका नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि बानियाँको निधनमा दु:ख व्यक्त गरेका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले पनि बानियाँको निधनमा शोक व्यक्त गरेका छन् ।

यस्तै, पत्रकार महासंघ, नेपाल प्रेस युनियन र फ्रिडम फोरमजस्ता संस्थाले पनि बानियाँको निधनमा शोक वक्तव्य प्रकाशित गरेका छन् । महासंघका महासचिव रमेश विष्टले जारी गरेको शोक वक्तव्यमा महासंघका पूर्वसचिव समेत रहेका बानियाँको निधनले महासंघ स्तब्ध भएको उल्लेख गरिएको छ ।

'यही २०७७ साल साउन २६ गते दिउँसोदेखि काठमाडौंबाट सम्पर्कविहीन रहनुभएका बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत आयोजना स्थलमा भेटिएको नेपाल प्रहरीले जानकारी दिएको छ,' महासंघले उनको निधनबारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ ।

'महासंघ बानियाँको रहस्यमय ढंगले भएको निधनबारे गहिरो छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गर्दछ । पत्रकार बानियाँले पत्रकारिता क्षेत्रमार्फत लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च कदर गर्दै महासंघ दिवंगत बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ,' महासंघको वक्तव्यमा भनिएको छ ।

प्रेस युनियनले जारी गरेको शोक विज्ञप्तिमा उनको निधनसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य ल्याउन नेपाल प्रहरीसहित सम्बन्धित पक्षसँग माग गरिएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनी सोमबार नै बल्खुचोकमा करिब पौने चार बजे देखापरेको प्रहरीले जानकारी दिएको छ । त्यसपछि उनी घर जाने भन्दै बल्खु खोलाको पुलमुनि गएको देखिएको प्रहरीले जनाएको छ ।

एसएसपी थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए । तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन ।

बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए । उनको श्रीमती, एक छोरी र छोरा छन् ।

सम्बन्धित समाचार :

कान्तिपुरका सहायक–सम्पादक बानियाँको दु:खद निधन

प्रकाशित : श्रावण २८, २०७७ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्

दृष्टिविहीन विद्यार्थीले ब्रेल पुस्तक पाएनन्

–चालू शैक्षिक सत्रका लागि १ हजार ८४ सेट ब्रेल पुस्तक छापिएको छ, तर अधिकांश विद्यार्थीको हात परेको छैन
–‘हालसम्म ब्रेल पुस्तक आएको छैन । गाउँघरमा कसैको इन्टरनेट, टेलिभिजन पहुँच नहुँदा अनलाइन कक्षा पनि चलाउन पाएका छैनौं ।’
गणेश राई

काठमाडौँ — नुवाकोटको चण्डेश्वरी माविका छात्र रामशरण धमला यसपटक कक्षा १० मा पुगेका छन् । उनी पूर्ण दृष्टिविहीन विद्यार्थी हुन् । नयाँ कक्षामा पुगे पनि अहिलेसम्म उनी विद्यालय जान पाएका छैनन् । कोरोना महामारीका कारण सूर्यगढी गाउँपालिका–३ भुन्टेगाउँस्थित घरमै छन् ।



‘होस्टेलमा बस्दामात्र पढेको थिएँ, घर आएदेखि पढ्न पाएको छैन,’ उनले भने, ‘साथमा कुनै ब्रेल पुस्तक छैन । घरको रेडियोमा कक्षागत पढाइ हुन्छ तर बुझ्दिन । गाह्रो भइरहेको छ ।’ सहरबजारका साथीहरूले टेलिभिजन, इन्टरनेटबाट अनलाइन पढिरहेको जानकारी पाएको उनले सुनाए । ‘हाम्रो घरमा टिभी, इन्टरनेट र राम्रो मोबाइल छैन,’ उनले आफ्नो दैनिकी सुनाए, ‘बाआमा, दिदीबहिनी र भाइलाई घरको काम सघाइरहेको छु ।’ उनको विद्यालय पुग्न गाडीमा ३ घन्टा लाग्छ ।

चण्डेश्वरी माविका प्रधानाध्यापक हरिप्रसाद रिजालका अनुसार विद्यालयमा १५ जना दृष्टिविहीन विद्यार्थी पढ्छन् । ‘नयाँ शैक्षिक सत्रका निम्ति हालसम्म ब्रेल पुस्तक पाएको छैन,’ उनले भने, ‘विद्यार्थी कहिले आउनु भनेर सोध्छन्, तर विद्यालय खोल्ने अनुमति पाएका छैनौं । गाउँघरमा कसैको इन्टरनेट, टेलिभिजन पहुँच नहुँदा अनलाइन कक्षा चलाएका छैनौं ।’

मुगुको बालमन्दिर आधारभूत विद्यालयमा १० जना दृष्टिविहीन विद्यार्थी पढ्छन् । उनीहरूका निम्ति पनि अहिलेसम्म ब्रेल पुस्तक पुगेको छैन । प्रअ दिलिप शाहीले टेलिफोनमा भने, ‘ब्रेल लिपि पढ्न जान्ने शिक्षक पनि छैनन् । विद्यार्थी आआफ्नै घरमा छन् ।’ बिजुली नभएकाले टेलिभिजन, इन्टरनेटको व्यवस्था नरहेको उनले सुनाए ।

जुम्लाको सिंजास्थित भैरब माविमा २६ जना दृष्टिविहीन छन् । उनीहरू जाजरकोट, कालिकोट र मुगुका हुन् । आवासीय सुविधा भएकाले दुई–तीन दिन हिंडेर यहाँ पढ्न आउने गर्छन् । ‘लकडाउनपछि विद्यार्थी घरतिरै छन्,’ शिक्षक दत्तबहादुर बुढाले भने, ‘ब्रेल पुस्तक आइपुग्यो तर विद्यालय खुलेको छैन । टाढा भएकाले कसैलाई किताब दिन पाएका छैनौं ।’ कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालयमा प्राविधिक शिक्षातर्फ कृषिसमेत पढाइन्छ ।

सुनसरीको धरानस्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय दृष्टि अपांगता भएकामात्र पढ्ने देशभरिकै एकमात्र विद्यालय हो । प्रधानाध्यापक प्रमोद भण्डारीका अनुसार यहाँ २३ जिल्लाका विद्यार्थी छन् । तर लकडाउनयता विद्यालय बन्द छ । ६५ जना विद्यार्थी घर गएका छन् । ‘दृष्टिविहीन विद्यार्थीलाई लामो समयको छुट्टीमा परिवार र समाजसँग घुलमिल गर्न पठाउने हाम्रो नियम नै हो,’ गत चैत पहिलो साता जाँच लिएर घर पठाएको उल्लेख गर्दै प्रअ भण्डारीले भने, ‘नतिजा निकालेर जानकारी दियौं । नयाँ सत्रको ब्रेल पाठ्यपुस्तक आएको छ । २०–२५ जनालाई मात्र किताब दिन सक्यौं ।’ संखुवासभा, ताप्लेजुङलगायत दुर्गम जिल्लाका विद्यार्थी सम्पर्कमा आउन नसकाले भर्चुअल कक्षाको सम्भावना नरहेको उनले जनाए । सो विद्यालय कक्षा ५ की छात्रा निशा ढकालले विज्ञान, नेपाली र सामाजिक विषयको ब्रेल पुस्तक पाएको सुनाइन् । ‘साथीसँग भेटेर पढ्न नपाएकाले स्कुल जान मन लागिसक्यो,’ सुनसरीको तरहरामा रहेकी निशाले भनिन्, ‘किताब पढेर बुवालाई सुनाउँछु । रेडियो सुन्छु । बाहिर हिंडडुल गर्न पाएको छैन ।’

उपत्यकाकै ललितपुर लगनखेलस्थित नमुना मच्छिन्द्र माविमा पढ्ने ३९ दृष्टिविहीन विद्यार्थी अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् । ‘अधिकांश विद्यार्थी उपत्यका बाहिरका छन्,’ शिक्षक प्रतिभा घिमिरेले भनिन्, ‘नजिक सम्पर्कमा रहेका केही विद्यार्थीलाई अभिभावकमार्फत् ब्रेल पुस्तक दिएका छौं । उनीहरूलाई रेडियो, टेलिभिजन पनि सुन्न भनेका छौं ।’

कीर्तिपुरस्थित ल्याबोरेटरी माविमा ४६ दृष्टिविहीन पढ्छन् । ‘उपत्यकामा रहेर सम्पर्कमा आएकालाई पुस्तक र अनलाइन कक्षामा सहभागी गराएका छौं,’ अनुवाद शिक्षक समिता शाक्यले भनिन्, ‘जुम, मिडासबाट पढिरहेका छन् । तर धेरैजसो गाउँबाट आएका छैनन् ।’ कक्षा ८ का दृष्टिविहीन छात्र शिव माझीले दैनिक चार पिरियड अनलाइन कक्षा पढ्दै गरेको सुनाए । ‘किताब पनि पाएँ, अनलाइन कक्षा पढ्दै छु, रेडियो सुन्छु, युट्युब चलाउँछु,’ हाल बुढानीलकण्ठमा बस्दै आएका उनले भने, ‘तर मजस्तै मेरा धेरैजना साथीहरू गाउँमा छन् । इन्टनरनेट छैन । उनीहरू छुटेका छन् ।’ सोही विद्यालय कक्षा ८ की छात्रा एन्जल काफ्लेसमेत अनलाइन कक्षा पढ्छिन् । ‘छोरीको दैनिक कक्षामा हामी अभिभावकले सहयोग गर्दै आएका छौं,’ उनका बुवा शरद काफ्लेले भने, ‘ब्रेल लिपिका माध्यमबाट पढ्ने विद्यार्थीलाई भौतिक कक्षा महत्वपूर्ण छ । भनेको सुनेर मात्रै ब्रेल पार नलाग्ने रहेछ ।’

एक हजार ब्रेल पुस्तक छापियो

दृष्टिविहीनले ब्रेल लिपिबाट पढ्ने गर्छन् । ब्रेललिपि ६ वटा डटबाट बनेको हुन्छ । यसलाई हातका औंलाले छामेर पढिन्छ । ब्रेल लिपि लेख्न स्लेट स्टाइलस र बाक्लो पेपरको प्रयोग गरिन्छ । ब्रेल लेख्दा दाहिने साइडबाट लेखिन्छ भने पढ्दा देब्रे साइडबाट पढिन्छ । ब्रेल पुस्तक साधारणभन्दा ठूलो आकारको हुन्छ । तौल पनि गह्रुँगो हुन्छ । त्यसैले यसलाई विषयगत भन्दा पनि कक्षागत ‘सेट’मा निर्माण गरिएको हुन्छ । विद्यार्थीले बोकेर घर पुर्‍याउन सहज छैन । जतन गर्न नसके छेडिएका अक्षर मेटिन्छन् ।

शिक्षा मन्त्रालयको सहयोगमा कक्षा १ देखि १० सम्मको ब्रेल पुस्तक नेपाल नेत्रहीन संघ र नेपाल दृष्टिहीन कल्याण संघले छाप्दै आएका छन् । चालू शैक्षिक सत्र २०७७ का लागि १ हजार ८४ सेट छापिएको कल्याण संघका कार्यक्रम अधिकृत रत्नकाजी डंगोलले बताए छन् । ‘सबै जिल्लामा ब्रेल पुस्तक पठाइसकेका छौं,’ उनले भने ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साबिक शिक्षा विभाग) समावेशी शिक्षा शाखाका अनुसार देशभरिमा दृष्टिविहीन पढ्ने १६ वटा एकीकृत विद्यालय छन् भने ८१ विद्यालयमा स्रोत कक्षा सञ्चालन हुन्छ । शाखा अधिकृत नारदप्रसाद धमलाका अनुसार ती विद्यालयमा कक्षा १० सम्म २ हजार ३ सय ७७ दृष्टिहीन र ४ हजार २ सय ३४ न्यून दृष्टियुक्त विद्यार्थी पढ्छन् । सरकारले दृष्टिहीन विद्यार्थीलाई आवासीय सुविधाबापत मासिक ४ हजार रुपैयाँ १० महिनाको छात्रवृत्ति दिंदै आएको छ । त्यसैगरी घरबाट कसैको सहरामा विद्यालय आउजाउ गर्न सक्नेलाई १० महिनाको मासिक ५ हजार रुपैयाँ दिइएको छ । आफैं आउजाउ गर्न सक्नेले मासिक तीन सय रुपैयाँ र सामान्य अपांगता भएकाले वार्षिक एक हजार रुपैयाँ पाउँछन् ।

प्रकाशित : श्रावण २८, २०७७ २०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×