१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सभापति देउवालाई विधान मिच्ने बानी नै परिसक्यो : पौडेल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई विधान मिच्ने बानी नै परिसकेको बताएका छन् । पार्टीको महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि विभाग गठन गरेको भन्दै पौडेल पक्षले सभापति देउवाको विरोध गर्दै आएको छ ।

सभापति देउवालाई विधान मिच्ने बानी नै परिसक्यो : पौडेल

देउवामा विधान मिच्दा बहादुर ठहर्छु भन्ने मानसिकता रहेको टिप्पणी पनि उनले गरेका छन् ।

बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पौडेलले सभापति देउवाले विधान मिचेर पटकपटक विभागहरु गठन गरेको सम्बन्धमा ध्यानाकर्षण गराइएको तर उनमा विधान जति मिच्नसक्यो त्यति बहादुर र बलवान ठहर्छु भन्ने मानसिकता रहेको पाइएको बताए । विधान मिचेर बहादुरी देखाउन खोज्ने प्रवृत्तिका कारण पार्टी प्रजातान्त्रिक हो कि होइन भन्ने खतरा बढेको पनि उनले बताए ।

'हामीले बारम्बार पार्टीलाई विधानमा ल्याउन पार्टी सभापतिलाई पटक-पटक ध्यानाकर्षण गर्दै आयौं । तर, नेपाली कांग्रेसभित्र कस्तो भएको छ भने विधान मिच्नु बहादुरी हो जस्तै हाम्रो सभापतिलाई लाग्छ की ? विधान मैले जति मिच्न सके म त्यति बलवान सभापति ठहर्छु भन्ने उहाँको मानसिकता छजस्तो मलाई लाग्छ । त्यसले यो पार्टी डेमोक्रयाटिक पार्टी नै हो की होइन भन्ने खतरातिर जान लाग्यो भनेर हामी चिन्तित भएको हो ।’

उनले भने, ‘हाम्रो सभापति मैले जे गरे पनि हुन्छ भन्ने सोच्नुहुन्छ । मलाई सम्झना छ यो देशमा कानून तोड्यो भने गृहमन्त्रीले तोड्छ म गृहमन्त्री भएको हुनाले मैले हो तोड्ने कानून भनेर धाक लगाएर हिँडनुहुन्थ्यो एकताका । उहाँलाई जे बोले पनि सबैले हाँसेर लिइदिन्थे । अहिले पनि उहाँ त्यही गर्दै हुनुहुन्छ । उहाँको यो बहादुरीले कांग्रेसलाई क्षति पुर्‍यायो । यसले लोकतन्त्रलाई अत्यन्त ठूलो घात गर्‍यो, क्षति पुर्‍यायो र घायल बनायो ।’

पार्टीको महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्न सक्छ भन्दै आफूले ३ वर्ष अघिदेखि कार्यतालिका बनाएर काम गरौं भनेको तर सभापति देउवाले नमानेको पौडेलले बताए । महाधिवेशन गर्ने समयमा असाधारण स्थिति भयो भन्दै पछाडि धकेलेको र अहिलेको असाधारण अवस्थामा गर्न लागिएको महाधिवेशनमा विधान मिच्दै महाधिवेशनलाई प्रभाव पार्न खोजेको आरोप उनले लगाए ।

चार वर्षमा महाधिवेशन गर्न नसक्ने सभापति अहिले कामचलाउ मात्रै भएकाले कुनै पनि निर्णय एक्लै गर्न नसक्ने पौडेलले बताए । उनले भने, ‘अहिले उहाँलाई धमाधम मान्छे नियुक्त गर्नुछ । कार्यकालै सकिइसकेको कामचलाउ कार्यसमितिले यो गर्न मिल्छ ? यो कुरा हामी भनिरहेका छौं कि यसरी विधानको धज्जी नउडाऔं । लोकतान्त्रिक मूल्य मान्यताको धज्जी नउडाऔं ।’

फागुन ७ गतेका लागि मिति तोकेर महाधिवेशनको तयारी सुरु भएकोले अहिले देखि नै आचारसंहिता सबैलाई लाग्ने पनि उनले बताए । 'महाधिवेशनमा हामी प्रवेश गरिसकेका छौं । यसलाई क्रियाशीलको अनि वडाको मात्र होइन केन्द्रीय महाधिवेशनको उद्घाटन नभइकन लागू हुँदैन भन्लान् । यो त फेरि जाली कुरा हो नि ! यस्तो गरेर पार्टीको वैधानिक मर्यादामाथि आँच पुर्‍याउन पाइन्छ ?’

पार्टीमा विधान मिचेको विषयलाई गम्भीरतापूर्वक उठाउने र महाधिवेशनबाट सभापति देउवाको विकल्प खोज्ने पौडेलले बताए ।

पौडेलले पार्टीको सभापति आफै नै हुनुपर्छ भन्ने दावी नगरेको समेत स्पस्ट पारे । उमेरको मात्रै भरमा एउटै क्याटगोरीमा नराख्न पनि उनले आग्रह गरे । 'कसले पार्टीको हित हुने कति काम गरेको छ, अहित हुने कति काम गरेको छ त्यो हेर्नुपर्‍यो । मौका पाउँदा कसले सत्ताको कति दुरुपयोग गरेको छ कसले गरेको छैन त्यो पनि हेर्नु पर्‍यो,' पौडेलले भने, 'समाज र पार्टीले पनि न्याय गर्नुपर्‍यो ।'

प्रकाशित : श्रावण २८, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?