कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कोरोना संक्रमणमुक्त चिकित्सक भन्छन्– ‘मलाई ओपीडीमा बिरामीबाटै सरेको हो’

‘सर्तक रहौं, व्यक्तिगत सुरक्षाका उपायहरु अवलम्बन गरौं’
बुनु थारु

काठमाडौँ — कोरोना भाइरसको संक्रमण दर विश्वभर नै बढ्दो छ । नेपालमा पनि संक्रमितको संख्या बढेसँगै फ्रन्टलाइनमा रहेर उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु पनि संक्रमित बन्न पुगेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सोमबारसम्म देशभरमा २६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमणमुक्त चिकित्सक भन्छन्– ‘मलाई ओपीडीमा बिरामीबाटै सरेको हो’

कोरोना संक्रमणमुक्त भएर फेरि बिरामीको उपचारमा फर्केका एक स्वास्थ्यकर्मीसँग उनका अनुभवलाई लिएर कान्तिपुरकी बुनु थारुले कुराकानी गरेकी थिइन् । संक्रमण मुक्त भएका ती चिकित्सकले आफ्नो नाम भने गोप्य राखिदिन आग्रह गरेका छन् । ती चिकित्सकसँग गरिएको कुराकानी उनकै शब्दमा :

म एक निजी अस्पतालमा कार्यरत फिजिसियन हो । नेपालमा कोरोना संक्रमण देखिएसँगै हामी सजग सबै थियौँ । अस्पतालमा भएका स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिइएको थियो । अस्पतालमा इन्फेक्सन कन्ट्रोलको टिम पनि छ । हाम्रो अस्पतालमा पहिलो पटक असार १८ गते एक जना नर्सलाई संक्रमण देखिएको थियो ।

उनलाई संक्रमण देखिएपछि उनीसँग ‘एक्सपोज’ भएका अरु साथीहरु क्वारेन्टाइनमा बस्यौँ । कुल ९ जना स्टाफ क्वारेन्टाइनमा बसेका थियौँ । क्वारेन्टाइनमा बसेको ७ दिनपछि पीसीआर परीक्षण गराएका थियौं । जसमा ४ जनालाई कोरोना देखियो । त्यसमा म पनि परें । सुरुमा आफूलाई पनि कोरोना संक्रमण भयो भनेर सुन्दा डर लागेजस्तो भएको थियो । यद्यपि ममा कुनै प्रकारको लक्षणहरु भने देखिएको थिएन । अरु साथीहरुमा पनि देखिएको थिएन । मलाई असार २७ गते कोरोना पुष्टि भएको थियो ।

हामीलाई आइसोलेसनमा राखेर उपचारका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट लगियो ।

लक्षणहरु पनि नभएकाले डर लाग्ने आत्तिने केही भएन । आफैं स्वास्थ्यकर्मी भएकोले धेरै कुरा बुझिने रहेछ । अस्पतालमा रहेका चिकित्सहरुले हालखबर सोधिराख्थे । काउन्सिलिङ पनि दिइयो । त्यसले पनि अझै मोटिभेट गरेको हो । स्वास्थ्यकर्मी भए पनि अरु आमनागरिकजस्तै अलिअलि डर त आइहाल्ने रहेछ ।

केही अरु लक्षण देखिहाल्ने हो कि भन्ने डर थियो । आइसोलेसनमा बसिरहँदा सामाचारहरु हेरिन्थ्यो मान्छे मरेको सुन्दा पनि आत्तिएजस्तो हुन्थ्यो । अहिले पनि फेरि संक्रमणको सिकार होइएला कि भन्ने डर लाग्छ । एकदम प्रेसर फिल भएको जस्ता हुने समाज तथा परिवारले के भन्ला भन्ने कुरा मनमा खेलिरहन्छ ।

मैले त घरमा पनि धेरै समय त क्वारेन्टाइनमा छु मात्रै भने । पोजिटिभ भएँ भनेर भनिन । तर पछि सुनाएँ । केही त्यस्तो प्रतिक्रिया जनाउनुभएन ।

आइसोलेसनमा बसेको १३औं दिनमा रिपोर्ट नेगेटिभ आएको थियो । फेरि १७ औँ दिनमा नेगेटिभ रिपोर्ट आएपछि घर फर्कें । घर फर्किएपछि पनि ४ दिन होम क्वारेन्टाइनमा बसेँ । सायद साउन ४ गते घर फर्केको हो ।

मुख्य कुरा आफ्नो रोग प्रतिरोधात्मक क्षमता, समाज तथा परिवारको साथ र आफू मनोवैज्ञानिक रुपमा सकरात्मक रहे कोरोना जितिने रहेछ । अस्पतालका बसाइँमा मैले आफ्ना साथीभाइसँग कुरा गर्ने, आफूलाई हेर्न आउने चिकित्सक तथा नर्ससँग कुरा गर्ने गरें । साथै फिल्महरु हेर्ने, समाचार हेर्ने, पूराना अन्तर्वार्ताहरु हेर्ने काम गरें । त्यसैगरी रामायणका केही एपिसोड पनि हेरेँ ।

‘मलाई ओपीडीमै बस्दा सरेको हुनुपर्छ’
अब त संक्रमितको संख्या बढेको बढ्यै छ । समुदायस्तरमा पनि फैलिएको हो जस्तो देखिन्छ । पीपीई लगाएर नै काम गरेप नि जोखिम कम हुँदैन हामीमा । अहिले कति संक्रमितहरु यत्तिकै परीक्षण नगराएर बसेका पनि हुनसक्छन् किनकी लक्षण देखिएको हुँदैन । मुख्य कुरा त बिरामीहरुमा नसरोस् र उनीहरुबाट हामीमा नसरोस् भन्नेमा नै सजग हुने हो ।

मलाई सायद ओपिडीमा जँचाउन आएको एक व्यक्तिबाट सरेको हुनुपर्छ । किनकी उनी होम आइसोलेसनमा बसेका थिए पछि शंका लागेर उपचारमा आएका थिए । उनैलाई पछि कोरोना पुष्टि भएको थियो ।

अहिले त लक्षण देखिएका कोरोना संक्रमित पनि देखापरिरहेका छन् । त्यो अलि डरलाग्दो हो । विदेशमा कोरोना संक्रमितलाई सम्भव भएसम्म घरमै बस्न सल्लाह दिइन्छ । नेपालमा त्यो त्यति सम्भव देखिँदैन । किनकी धेरैजना घरभाडामा बसेका हुन्छन् । त्यसमाथि परिवारका सदस्य पनि धेरैजना हुन्छन् ।

सरकारले बढी भन्दा बढी आइसोलेसनको व्यवस्था गर्नुपर्यो । परीक्षणकोे दायरा बढाउँदै लानुपर्छ ।

पीपीई लगाएर हामीले पनि दूरी कायम गरेर बिरामी जाँच्नुपर्छ अनि बिरामी पनि मास्क तथा अरु जनस्वास्थ्यका मापदण्ड पालना गरेर सुरक्षित बस्नुपर्छ । पीपीई फुकाल्न नजान्दा पनि संक्रमणको जोखिम धेरै बढी हुन्छ । हामीले नै ३–४ पटक फुकाल्ने तथा लगाउने तालिम लियौँ । ८ घण्टाको ड्युटीमा पीपीई लगाएर काम गर्न गाह्रो हुन्छ । गर्मी हुन्छ । डाइपर लगाएर पनि काम गर्नुपर्ने अवस्था छ ।

यही हिसाबले स्वास्थ्यकर्मी संक्रमित भए, पछि उपचार गर्ने स्वास्थ्यकर्मी नै कम हुन पुग्छन् । जति एक्सपोज भए त्यति नै संक्रमणको जोखिममा पर्न सक्छन् । अहिले पनि म घरमा जाँदा एक्लै बस्ने गर्दछु । छुट्टै खाने गर्दछु । हामी स्वास्थ्यकर्मी मात्रैले ख्याल गरेर पुग्दैन ।

सर्वसाधारणले पनि आफ्नो ख्याल राख्नुपर्छ । अनि मात्र संक्रमणको जोखिम कम हुन्छ । त्यसैले भीडभाडमा जाँदै नजानुस् । संक्रमित भइहालेमा नडराउनुस् ।

प्रकाशित : श्रावण २८, २०७७ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?