वन हुर्काउँदा मासिँदै हात्तीको घर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन हुर्काउँदा मासिँदै हात्तीको घर

गोविन्द पोखरेल

काठमाडौँ — साउन पहिलो साता सरकारले ‘राम–लक्ष्मण’ नामका जुम्ल्याहा हात्ती अंकित हजार रुपैयाँको नोट सार्वजनिक गर्‍यो । १२ वर्षअघि चितवनस्थित हात्ती प्रजनन केन्द्रमा जन्मिएका हुन् यिनीहरू ।यी हात्तीलाई सरकारले नोटमा त सजायो तर यिनको सही संरक्षण कसरी हुन्छ, त्यसतर्फ चासो देखिँदैन ।

यिनलाई हुर्कन वासस्थान र वातावरण दुवै अनुकूल हुनुपर्छ । संरक्षणको नीति मात्र लिइयो तर त्यसको कार्यान्वयन गरिएन भने यिनले त्यो वातावरण पाउँदैनन् । जस्तो विगतदेखि हुँदै आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको हात्ती व्यवस्थापन कार्ययोजना (२००८–२०१८) अनुसार नेपालमा हात्तीको संख्या १ सय ९ देखि १ सय ४२ को बीचमा छ । ती हात्ती झापादेखि कोसी नदी करिडोर, सर्लाहीदेखि चितवन–पर्सा करिडोर, बाँके–बर्दिया करिडोर र शुक्लाफाँटा करिडोरमा छुट्टाछुट्टै झुन्डमा पाइन्छन् ।

जमिनमा पाइने सबैभन्दा ठूलो स्तनधारी जीव हात्ती अहिले संकटापन्न अवस्थामा छ । जैविक मार्गमा मानवीय अतिक्रमण बढ्दै जाँदा मानव–हात्ती द्वन्द्व बढ्दै गइरहेका छन् । मानव–हात्ती द्वन्द्व, वासस्थानको विनाश, वन क्षेत्रको अतिक्रमणले हात्तीको वासस्थान पनि सोही अनुपातमा घट्दै गएको विज्ञहरू बताउँछन् ।

सरकारको ध्यान पछिल्लो समय वनपैदावार र काठतिर मात्र छ । काष्ठजन्य उत्पादनमा केन्द्रित भएर गरिने वृक्षरोपणजस्ता कार्यले हात्तीको वासस्थान घट्दै गएको अनुसन्धानले देखाएको छ ।

ग्लोबल इकोलोजी जर्नलमा अघिल्लो महिना प्रकाशित अनुसन्धानात्मक लेखअनुसार वन विकासका कार्यक्रम काठ उत्पादनमा मात्रै केन्द्रित हुँदा हात्तीको वासस्थान २० देखि २२ प्रतिशतसम्म खुम्चँदै गएको छ ।

बर्दियामा गरिएको अनुसन्धानले ३० वर्षयता हात्तीको वासस्थान जिल्लामा २२ प्रतिशत र निकुञ्जभित्र २० प्रतिशतले घटेको देखाएको छ । काठ उत्पादनमा मात्रै केन्द्रित भएर वन व्यवस्थापन गरिँदा हात्तीलाई चाहिने घाँसे मैदान तथा लहरे वनस्पति घटेको हात्तीमा विद्यावारिधि गरेका दिनेश न्यौपानेले बताए । ‘हाम्रो मुलुकमा सामुदायिक वन कार्यक्रम सफल भयो तर हात्तीजस्ता वन्यजन्तुको वासस्थान भने बढेन । बरु घट्दै गएको देखियो,’ उनले भने ।

निकुञ्जभित्र पनि हात्तीलाई आवश्यक झाडी, लहरे वनस्पतिलगायत अन्य स–साना प्रजातिका वनस्पतिको संरक्षण र व्यवस्थापनमा ध्यान नदिइएको न्यौपानेले बताए । वासस्थान संरक्षण नगरिँदा नेपालमा हात्तीको मात्रै नभएर अन्य जीवको संख्या पनि घट्दै जान सक्ने उनले औंल्याए । ‘एकै प्रजातिको मात्र रूख भएको जंगल हात्तीलाई वासस्थानका रुपमा रुचाउँदैन,’ उनले भने, ‘यसले भएका हात्तीलाई पनि अप्ठेरो पार्छ ।’

अनुसन्धाताका अनुसार वासस्थानको अवस्था हेरी हात्तीलाई चरिचरनका लागि १८ देखि २४ वर्गकिलोमिटर क्षेत्र आवश्यक पर्छ । हात्तीलाई नियमित रूपमा सयदेखि तीन सय केजीसम्म खाना तथा त्यही अनुपातको पानी चाहिन्छ ।

क्षेत्रफल घट्दै जाँदा संख्या पनि घट्ने न्यौपानेको भनाइ छ । उनका अनुसार हात्ती हिँड्दा बन्ने डोब स–साना किरा प्रजातिका जीवका लागि उपयुक्त वासस्थान हुन्छ । त्यही भएर जैविक मार्गको व्यवस्थापन र मानव हात्तीको सहअस्तित्वको स्वीकार गर्न सकिन्छ ।

नेपालमा हात्ती पर्यापर्यटन, हात्ती सफारी, हात्ती पोलो, हात्तीको सामूहिक वनभोजजस्ता कार्यक्रमबाट पर्यटक आकर्षित भए पनि मानवसँगको द्वन्द्व बढ्दो छ । न्यौपानेकै एक जर्नलमा प्रकाशित अनुसन्धानअनुसार हात्ती व्यवस्थापनका लागि बनाइएका सोलर फेन्सिङलाई जैविक मार्ग व्यवस्थापन गर्न नसक्दा मानव–हात्ती द्वन्द्व नयाँनयाँ ठाउँमा हुने गरेको छ ।

हात्तीका कारण नेपालमा बर्सेनि १० देखि १२ को जनाको मृत्यु हुने गरेको छ । त्यस्तै वार्षिक २ वटा हात्ती मानवसँगको द्वन्द्वमा मर्ने गरेको न्यौपानेले बताए ।

समूहमा बस्ने यो जीवमा भावनात्मक सम्बन्ध बढी हुन्छ । मानिसजस्तै यिनीहरू पनि जन्मँदा खुसी हुने, मृत्युमा दु:खी भई धेरै समयसम्म मृत शरीरछेउ बस्ने गर्छन् । यिनीहरू डल्फिनपछिको बुद्धिमान् प्राणी रहेको न्यौपानेले बताए । एकपटक गएको र देखेको ठाउँ हात्तीले बिर्संदैन । हात्तीको छावाले ८/१० वर्षसम्म मातृत्व स्याहार पाउँछ । भाले हात्ती एक्लै बस्छ । हात्तीको सुँड सास फेर्न, वस्तुहरू बोक्नका लागि प्रयोग हुन्छ भने दाह्राले हतियारको काम गर्छ ।

हात्तीको वासस्थान जोगाउँदा यो जीव मात्रै नभएर अन्य जीवको पनि संरक्षण हुने न्यौपानेको भनाइ छ । उनले भने, ‘हात्तीले घना जंगलका रूखका हाँगा भाँचेर जमिनमा रहेका स–साना बिरुवाका लागि प्रकाशको पहुँच दिलाइदिन्छ । यसबाट प्रकाश संश्लेषण प्रकिया सुरु भएर यिनीहरू हुर्कन्छन् ।’ वन विकासका कार्यक्रम गरिँदा वन्यजन्तुको वासस्थान संरक्षणमा पनि ध्यान दिनुपर्ने विज्ञहरूको भनाइ छ ।

प्रकाशित : श्रावण २८, २०७७ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्

बीपी प्रतिष्ठानमा मोरङका थप एक जना कोराना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो, देवनारायण साह

धरान, विराटनगर — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार मोरङको बुढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई साउन २६ गते प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो । रुघाखोकीको समस्यासहित सोमबार कोसी अस्पताल पुगेका उनलाई कोरोनाको लक्षण देखिएको भन्दै धरान रिफर गरिएको थियो ।

चिकित्सकहरुले कोरोना संक्रमणको आशंकामा आइसोलसनको आईसीयूमा राखेर उपचार गरेका थिए । ती बिरामीको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि विराटनगरस्थित प्रदेश १ को प्रयोगशालामा पठाइएको थियो । उनको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको थियो । डाक्टर सापकोटाका अनुसार ती पुरुषमा मधुमेह, मुटुसम्बन्धी, उच्च रक्तचाप जस्ता कुनै पनि जटिल र दीर्घ रोग थिएन ।

उनको शव व्यवस्थापनका लागि आवश्यक समन्वय भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताए ।

योसँगै मोरङका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रकाशित : श्रावण २८, २०७७ ११:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×