कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

छाक टार्नै मुस्किल

भारतबाट बल्ल घर आउँदै गरेकालाई रोजगारी गुमेपछि अब हातमुख कसरी जोर्ने भन्ने चिन्ता बढेको छ ।

सिरहा, सर्लाही, कञ्चनपुर — सिरहाको लहान–१४ बस्तीपुरका प्रमोद सदाय मुसहरले भारतको पञ्जाबमा मजदुरी गरेर परिवार धानेका थिए । ४२ वर्षीया आमा रेवनी र ८ वर्षीय भाइ भुलाई, पत्नी र काखे छोरीको खर्च उनको कमाइले चलेको थियो । 

छाक टार्नै मुस्किल

बहिनीहरू संगीता र कागियाको विवाहको ऋण छँदै थियो । त्यसमाथि गत वर्ष बुबा सतौनको निधन भएपछि अझ घरको जिम्मेवारी प्रमोदकै काँधमा आइपर्‍यो ।

वार्षिक ७०–८० हजार रुपैयाँ घर पठाउने उनी कोरोनाले कामविहीन भएपछि फर्किएका छन् । बहिनीहरूको बिहेको खर्च र साहूको ऋण तिर्न पिरलोसँगै उनलाई चुलो बाल्नै सकस भइसकेको छ । ‘गुजारा चलाउनै गाह्रो भो,’ उनले भने, ‘लकडाउनभरि फेरि साहूबाटै ऋण लिएर गुजारा चलाएँ । अब त दिन पनि छाडे ।’ बस्तीपुर मुसहरी टोलकै १८ वर्षीय सोमना र हेमना दाजुभाइ पनि पञ्जाबमा मजदुरी गरेर वर्षमा ८०–९० हजार कमाउँथे । त्यो पैसाले वर्षभरि खानलाउन मनग्गे हुन्थ्यो । उनीहरू पनि बेरोजगार बनेका छन् ।

घरमा बाबु समस्ती सदाय मुसहर १० वर्षदेखि पक्षाघातले घरमै थलिएका छन् । आमा रामा कुमारीको १५ वर्षअघि मृत्यु भएपछि परिवार सोमनाको कमाइले घरखर्च थेग्दै आएको छ । बहिनी हेमकुमारीको गत वर्ष बिहे गरिदिएका सोमनाले लकडाउनका कारण गुजारा चलाउन समस्या भएको सुनाए ।

बस्तीपुर मुसहरी टोलका युवाको रोजगारीको गन्तव्य पञ्जाब हो । टोलका २५ जनाभन्दा बढी युवा पञ्जाबमा मजदुरी गर्थे ।

बस्तीमा २५ घरपरिवार मुसहर समुदायको बसोबास छ । भारत र नेपालमा समेत लकडाउन सुरु भएपछि २१ दिन क्वारेन्टाइनमा बसेर ती युवाहरू घर फर्किएका हुन् ।

लहान १६ तरेगना मुसहरीका २० युवा दिल्ली र पञ्जाबमा मजदुरी गर्थे । उनीहरू पनि लकडाउन सुरु भएपछि घर फिरे । पाँच महिनादेखि कामविहीन उनीहरूको घरमा कसरी चुलो बाल्ने भन्ने सकस परेको छ । यहाँ नै सधैंभरि मजदुरीमा खटेर गुजारा चलाउँदै आएका सिरहाका दलित बस्ती पनि कोरोना कहरले समस्यामा परेको छ ।

जिल्लाका भूमिहीन सुकुम्बासी मुसहर परिवारलाई छाक टार्न मुस्किल परेको छ । कतिपय छरछिमेकबाट चामल ऐंचोपैंचो गरेर गुजारा चलाइरहेका छन् भने धेरैजसोलाई साँझबिहान हातमुख जोर्नै गाह्रो परेको छ । धनगढीमाई–१२ खोरियाका २१ घरधुरी मुसहरलाई पनि उस्तै समस्या छ ।

सर्लाहीको कविलासी–१ का छोटे राय भाइसँग छुट्टिएपछि ५ वर्षअघि रोजगारीका लागि भारतको पञ्जाब हानिए । त्यहाँ एक कम्पनीमा मजदुरी गरिरहेका राय उतैको कमाइले परिवार पाल्थे । परिवारका सदस्य बिरामी पर्दा गाउँमा साहूसँग लिएको कर्जा पनि उनले त्यहींको कमाइबाटै तिरे । चार महिनाअघि घर फर्केका राय अहिले बेरोजगार छन् । रोजगारी गुमेपछि उनलाई परिवार पाल्न सकस छ । उनलाई अहिले खाना जुटाउने चिन्ता छ ।

तलबको आस मारेर स्वदेश फिर्ती

कञ्चनपुर– भारतको जम्मुमा काम गर्ने बैतडी मेलौलीका बिसन जोशी लकडाउनअगाडि नै घर आउन चाहन्थे । त्यो बेला साहूले छुट्टी दिएनन् । लकडाउनको बीचमा पनि उनले फेरि घर फर्कने प्रयास गरे । यसपटक साहूले छुट्टी

दिए पनि तलब दिएनन् । भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि डराएका उनी पाकेको तलबसमेत छाडेर घर फर्किएका छन् ।

एक वर्षअघि जम्मु गएका उनले चार महिनाको तलब पाएनन् । ‘लकडाउन अघि नै घर पुगिसक्थ्यौं, तर कहिले आउन नदिने कहिले तलब नदिने गरेर हामीलाई अहिलेसम्म अल्झायो,’ सोमबार गड्डाचौकी नाका भएर घर फर्किएका जोशीले भने । गाउँकै अन्य साथीभाइसंँग मिलेर उनी सानो गाडी बुक गरेर बनबासासम्म आइपुगेका हुन् ।

जम्मुदेखि वनबासासम्म एक जनाको भाडाबापत मात्रै १० हजार बढी खर्च भएको उनले बताए । बाटोमा होटलहरू खुला भए पनि संक्रमणको डरले जथाभावी खाना नखाएको उनले सुनाए । बैतडीको दोगडाकेदार गाउँपालिकाका लोकेन्द्र कुँवरले पनि लकडाउन अघि वा लकडाउनकै समयमा भए पनि घर फर्कन खोजेका थिए ।

समयमा तलब नपाएकै कारण हालसम्म रोकिनुपरेको उनले बताए । ‘कहिले लकडाउन, कहिले तलब नपाइने समस्या भयो,’ कुँवरले भने, ‘फेरि काम पनि चलिरहेकै थियो ।’ कुँवर हरियाणामा गाडीका पार्टसहरू बनाउने कम्पनीमा काम गर्छन् । उनी एक वर्षअघि परिवारसहित हरियाणा त्यहाँ हुन् ।

अहिले गड्डाचौकी नाकाबाट दैनिक ४०/५० देखि १ सय जनासम्म नेपालीहरू घर फर्किरहेका छन् । उनीहरूमध्ये अधिकांश समयमा तलब नपाएका र साहूले छुट्टी नदिएका कारण घर फर्किन नसकेका छन् ।

प्रकाशित : श्रावण २८, २०७७ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?