कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

लेबनानमा रोजगारी गुमाउँदै नेपाली

आर्थिक संकटले धेरै स्थानीय नागरिकले तलब दिन नसक्ने भएपछि कोभिडपूर्व नै थुप्रै नेपाली महिलाले लेबनान छोडिसकेका थिए । एक साता अगाडि विस्फोट भएपछि आर्थिक संकट झन् गहिरिएको छ ।
होम कार्की

काठमाडौँ — लेबनानमा झापाकी कुमारी भुजेलको ड्युटी नियमित नभएको ६ महिना बितिसक्यो । आफ्नो रोजगारदाताले तलब दिन नसक्ने भएपछि उनलाई एउटा सर्तमा बस्न मात्रै दिएको छ ।

लेबनानमा रोजगारी गुमाउँदै नेपाली

बास दिएबापत सातामा एक दिन साहूको घर सरसफाइ गरिदिनुपर्छ । बाँकी ६ दिन आफैंले बाहिर काम खोज्न जानुपर्छ । उनी अन्य घरमा काम खोज्दै जसोतसो जीविका चलाउँदै आइरहेकी थिइन् ।

‘लेबनानमा पहिला जस्तो छैन । एक वर्षदेखि नै यसले आर्थिक संकट झेलिरहेको थियो । त्यसमा कोभिड थपियो । एक साता अगाडि विस्फोट भएपछि आर्थिक संकट झन् गहिरिएको छ,’ १० वर्षदेखि लेबनानमा कार्यरत भुजेलले कान्तिपुरलाई फोनमा भनिन्, ‘अब हामीजस्ता घरेलु श्रमिकको भविष्य झन् के हुन्छ भनेर केही भन्नै सकिएको छैन ।’

आर्थिक संकटले धेरै स्थानीय नागरिकले तलब दिन नसक्ने भएपछि कोभिडपूर्व नै थुप्रै नेपाली महिलाले लेबनान छोडिसकेका थिए । ‘म आउँदा लेबनानमा १२ हजार जति दिदीबहिनी थिए । श्रमस्वीकृति दिन बन्द गरेपछि नयाँ दिदीबहिनी आउन पाएनन् । पुरानाहरू पनि विस्तारै फर्किन थाले । अहिले जति छन्, ती सबै ९, १० वर्ष अगाडिदेखि राम्रो घरमा भएकाहरू मात्रै छन्,’ उनले भनिन्, ‘अहिले मुस्किलले १२ सयभन्दा बढी भेटिँदैनन् ।’ उनले आफू पनि नेपाल जान विमान खुल्ने दिनको प्रतीक्षामा बसिरहेको बताइन् ।

९ वर्षदेखि लेबनानमा कार्यरत इटहरीकी कुमारी लिम्बूले डलर सटही नहुँदा नेपालमा पैसा पठाउन नसकिएको बताइन् ।

‘यहाँका मालिकहरू काममा लगाएपछि हामीलाई डलरमा तलब दिन नै सक्तैनन् । ८ महिना भइसक्यो डलरको अनुहार देखेको छैन । हामीलाई पहिला डलरमै तलब पाउँथ्यो । उनीहरूले लेबनानी मुद्रा दिन्छन् । त्यो लेबनानी मुद्रा हामीलाई काम छैन । यो खोस्टो बराबरकै छ । नेपालमा पैसा पठाउन जाँदा मनी ट्रान्सफरले लेबनानी मुद्रा लिँदैनन् । हामीले सटही गर्न सक्दैनौं,’ उनले भनिन्, ‘लेबनानी पैसाले चामल, तरकारी किन्न मात्रै चल्छ । चामल र तरकारी किनेर खानका लागि यहाँ किन बस्नुपर्‍यो र ? फेरि महँगाइ निकै बढेको छ । एक किलो चामल किन्न झन्डै १२ सय रुपैयाँ पर्न थालेको छ ।’

१३ वर्षदेखि लेबनानमा कार्यरत चन्द्रा जोशीले मुस्किलले महिनामा ४० डलर पनि कमाउन कठिन रहेको बताए ।

‘महिनामा ५ सय डलर कतै जाँदैनथ्यो । अहिले ४० डलर हात पर्दैन,’ उनले भनिन्, ‘यहाँका लेबनानीहरूको जीवनशैली लोभलाग्दो थियो । उनीहरू कार्यालय जान्थे । हामी घरको कामदेखि रेखदेख गरिदिन्थ्यौं । अहिले उनीहरू आफैं घरको काम गर्न थालेपछि हाम्रो रोजगारी गुम्यो ।’ उनी २००७ तिर लेबनान पुगेकी थिइन् । त्यतिखेर इजरायल र लेबनानबीच युद्ध भएको थियो । ‘त्यतिखेर केही दिन डर भयो । सकियो । पछिल्लो एक वर्षदेखि हामी यहाँ आर्थिक तनाव झेलिरहेका छौं । अब पहिलाजस्तो दिन आउला जस्तो छैन । विस्फोटले लेबनानलाई झन् तल झारिदियो,’ उनले भने ।

राजधानी बेरुतमा साउन २० गते भएको विस्फोटबाट मारिनेको संख्या दुई सय नाघेको छ । ६ हजार जना घाइते भएका छन् ।

३ लाख घरविहीन हुनुका साथै झन्डै १५ विलियन डलरको नोक्सानी भएको अनुमान गरिएको छ । ‘हामी जहाँ पार्टटाइमरका लागि काम गर्न जान्छौं, त्यहाँका साहूहरू लेबनान खत्तमै भयो भनेर चिन्ता गर्छन् । भोलिको विषयलाई लिएर निराश देखिन्छन् । विस्फोटले बेरुत सहरै भग्नावशेष जस्तै देखिन्छ । एउटा घरमा सिसा छैन । पहिला हेर्दा सुन्दर देखिन बेरुत अहिले कुरूप झैं देखिन्छ,’ उनले भनिन्, ‘जीवनका महत्त्वपूर्ण उमेर यहीं बिताए । यही सहर कुरूप भइदिँदा हाम्रो मन पनि नमिठो हुँदोरहेछ । आफ्नै घरठाउँ उजाड भएजस्तो लाग्दोरहेछ ।’

बेरुतस्थित पत्रकार हविव वथाहले गत अक्टोबरदेखि सरकारविरुद्ध सडक आन्दोलन सुरु भएयता ‘ढुंगा खसेजसरी नै’ अमेरिकी डलरको तुलनामा लेबनानी मुद्राको भाउ निरन्तर तल झरेर कमजोर हुँदै गएको बताए । ‘लेबनानी नागरिकले आधारभूत जीवनयापनका लागि नै कष्टकर हुने अवस्था देखिन्छ,’ उनले भने, ‘आधा लेबनानी नागरिकको जीवन गरिबीको रेखामुनि आउने अनुमान गरिएको छ । ७५ प्रतिशतलाई दैनिक जीवनयापनका लागि सहयोग चाहिने अवस्था देखिने सरकारी अनुमान छ । संसारको एउटा कमजोर अर्थतन्त्रभित्र लेबनानको अर्थतन्त्र प्रवेश गरेको छ ।’

गैरआवासीय नेपाली संघ, लेबनानका अध्यक्ष अशोक थापाले लेबनानमा नेपालीको रोजगारीको अवसर अब समाप्तको दिशातर्फ अगाडि बढेको बताए ।

‘यहाँ नै रोजगारी निरन्तर हुन्छ भन्ने सानो मात्रै आशा छ,’ उनले भने, ‘यहाँको नागरिककै भविष्य अन्योलमा परेका बेला हामी आप्रवासीको के चाहिँ होला । अब स्वदेश फिर्नका लागि लगेज प्याक गर्नुको विकल्प देख्दिनँ ।’

प्रकाशित : श्रावण २८, २०७७ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?