१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

छोरीसँगको त्यो अन्तिम भेट

छोरी भेट्न गएकी झाँकरीलाई सोमबारको भेट नै अन्तिम होला भन्ने लागेको थिएन । सँगै खाना खाएर अबेरसम्म भलाकुसारी गरेर सुतेकी छोरी मात्रै हो इन, उनले तीन नातिनातिना पनि एकैसाथ गुमाइन् ।
मोहन शाही

डोटी — झाँकरी विक ११ वर्षीय नाति इन्द्रलाई लिएर सोमबार दुई घण्टाको पैदल यात्रापछि आदर्श गाउँपालिका–१ बाझककानी खलगडास्थित छोरीको घर पुगिन् । बेलुकी छोरी बिस्ना, ज्वाइँ लोगे, सम्धिनी पानादेवी लुहारलगायत सबैले एकसाथ खाना खाए ।

छोरीसँगको त्यो अन्तिम भेट

‘ज्वाइँ, नातिहरू पारस र इन्द्र पल्लो कोठामा सुते,’ उनले भनिन्, ‘अर्को कोठामा सम्धिनी र नातिनीहरू सरु, कटी र अस्मितासँगै म एउटा कोठामा सुत्यौं ।’

बाहिर झमझम पानी परिरहेको थियो । छोरी र सम्धिनीसंँग अबेर रातिसम्म भलाकुसारी हुँदा ढिलो गरी सुतेको उनले बताइन् । राति डेढ बजेतिर एक्कासि सम्धिनी कराउन थालेपछि उनको निद्रा खुल्यो । ‘ब्युँझिँदा घरको छानाबाट लेदो खसिरहेको थियो, हामी दुवै कोठाभित्रै कराउन थाल्यौं, छोरी र नातिनीहरू उठ्न ढिलो गरे,’ उनले भनिन् । पल्लो कोठामा सुतेका उनका ज्वाइँ र नातिहरू भने उनीहरूको आवाज सुनेर ब्युँझिसकेका थिए ।

‘बाहिर निस्केर बार्दलीमा मात्र के पुगेका थियौं, गर्ल्याम्म घरको भित्ता हाम्रैतिर ढल्यो,’ लोगेले भने, ‘मेरा हातमा सालो र छोरो थियो, उफ्रन खोज्दा छोराको हात छुटेर आँगनमै च्यापियो, म र सालो भने बाँचेछौं ।’ झाँकरी हुत्तिएर टाढा लडेकीले बाँच्न सफल भइन् तर उनका छोरी र नातिनीहरू भने च्यापिए । सोमबार राति लोगे लुहारको तीनतले घर भत्कँदा च्यापिएर आमा र छोराछोरी गरी ४ जनाको मृत्यु भएपछि पूरै गाउँ शोकाकुल छ ।

मृत्यु हुनेमा लोगेकी श्रीमती २६ वर्षीय बिस्ना, उनका ९ वर्षीय छोरा पारस, छोरीहरू ४ वर्षीया सिरु र ९ महिने कटी रहेको इलाका प्रहरी कार्यालय आदर्शका इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले बताए ।

लोगे, उनकी आमा पाना, सासु झाँकरी, साला इन्द्र र छोरी अस्मिता घाइते छन् । उनीहरूको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक आइजंग कुँवरले बताए ।

झाँकरीको कम्मरमा चोट छ भने उनकी सम्धिनीको खुट्टा र छातीमा चोट लागेको छ । झाँकरी मंगलबार दिनभर अस्पतालमा छटपटाइरहेकी थिइन् । नयाँ मानिस देख्नबित्तिकै उनको भक्कानो छुट्थ्यो । छोरी र नातिनातिनासहित चार जनाको ज्यान गएको पीडा उनलाई असह्य भएको छ । छोरीको न्यास्रो लागेमा भेट्न जाने गरेकी थिइन् । गत जेठमा मात्र भेटेर फर्केकी उनी सोमबार फेरि छोरीको घर पुगेकी थिइन् । छोरीसँंगको त्यही भेट उनका लागि अन्तिम भयो ।

प्रहरीले घर पत्थरले छाएको जीर्ण रहेकोले भत्किएको बताएको छ । ‘पानादेवीले पानी परेका बेला माटो बेलाबेला खसिरहन्छ भन्दै बेवास्ता गरेर घरभित्र सुतेका रहेछन् । नभन्दै राति घर नै भत्केर दुःखद घटना भयो,’ बुढाऐरले भने । गत चैतमा भारतबाट फर्केपछि मर्मत गरेकाले घर भत्कने कल्पना नै नगरेको लोगेले बताए । ‘बाजेले जग खनेर बुबाले घर बनाएका हुन्,’ उनले भने, ‘त्यसरी भत्केला भन्ने सोचेकै थिएनौं, एक्कासि यस्तो भयो ।’

उधारोमै उपचार

आर्थिक अवस्था कमजोर रहेकाले घाइतेहरूको उपचारमा समस्या भएको छ । मंगलबार उनीहरूले शैलेश्वरी अस्पतालमा उधारोमै उपचार गराइरहेका छन् । कमजोर आर्थिक अवस्थाका कारण रोजीरोटीका लागि भारत गएका लोगे लकडाउनका कारण जागिर गुमेपछि घर फर्किएका थिए ।

श्रीमती, एक छोरा र दुई छोरी गुमाएका उनले आफूसंँग दाहसंस्कारका लागि समेत रकम नभएको गुनासो गरे । उनीहरूको उपचार र दाहसंस्कारका लागि मंगलबार कांग्रेस डोटीले २० हजार रुपैयाँ सहयोग गरेको जिल्ला उपसभापति लक्ष्मण सिंहले बताए ।

प्रकाशित : श्रावण २८, २०७७ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?