झापामा अस्पताल चाहर्दाचाहर्दै एक बिरामीको मृत्यु
काँकडभिट्टा — झापामा एक बिरामीको अस्पताल चाहर्दाचाहर्दै मृत्यु भएको छ । कनकाई नगरपालिका–५ का १७ वर्षीय रोशन सुनारको यहाँका विभिन्न अस्पतालले उपचार गर्न नमान्दा मृत्यु भएको हो ।
केही दिन अघि फुटबल खेल्ने क्रममा बलले छातीमा लागेर घाइते भएका रोशनलाई स्वास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । विर्तामोडका विभिन्न अस्पताल लगिएको तर भेन्टिलेटरको सुविधा भएको कुनैपनि निजी अस्पतालले भर्ना नलिएकै कारण मृत्यु भएको बुवा ताराकुमार सुनारले दाबी गरे ।
'स्वास्थ्य स्थिति बिग्रिँदै गएपछि पहिला विर्तामोडको विर्ता सिटी अस्पताल पुर्याइयो । तर, अस्पतालले कोरोना परीक्षणको पीसीआर रिपोर्ट भए मात्रै उपचार गर्ने जनायो,' उनले भने, 'त्यसपछि विर्तामोडकै कनकाई अस्पतालले पो उपचार गर्ला कि भनेर बिरामीलाई त्यहाँ पुर्याइयो । तर, कनकाई अस्पतालले पनि विर्ता सिटीले झै पीसीआर रिपोर्ट नभएका कारण उपचार गर्न नसक्ने भन्दै बिरामीलाई गेटबाटै फर्काइदियो ।'
मंगलबार बिहान करिब २ बजेतिर बिरामी लिएर अभिभावक भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पुगे । मेचीले उपचार सुरु त गर्यो । तर, शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको भन्दै उनलाई तत्काल भ्यान्टिलेटरमा राखेर उपचार गर्नुपर्ने चिकित्सकले जानकारी दिँदै त्यस्तो सुविधा भएको अस्पतालमा लैजान सुझाव दिए । भेन्टिलेटर नभएकै कारणले गर्दा मेची प्रादेशिक अस्पतालले उनलाई नजिकैको ओम साई पाथिभरा अस्पतालमा रेफर गरेको थियो ।
उक्त अस्पतालले समेत कोरोना लागेको आशंका गर्दै सुनारको उपचार गर्न मानेन ।
त्यसपछि अभिभावकले पुन: सुनारलाई मेची अस्पताल नै लगे । अन्तत: इमरजेन्सी कक्षमा उपचार हुँदै गर्दा उनको निधन भयो । मेची अस्पतालका चिकित्सक डा. गोविन्द कँडेलका अनुसार मृतकको पीसीआर टेष्ट हुँदै छ । साँझसम्म रिपोर्ट आउने उनले बताए । कोरोना निगेटिभ आए मात्रै परिवारलाई शव हस्तान्तरण गरिने डा. कँडेलले जनाए ।
प्रकाशित : श्रावण २७, २०७७ १८:५१