कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथा सफाई अभियानलाई विश्‍व कीर्तिमानको प्रमाणपत्र

सुरज कुँवर

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित नौं वटा संस्था मिलेर २०७६ वैशाखको पहिलो सातादेखि सुरु गरिएको ४६ दिन लामो सगरमाथा सफाई अभियानलाई गिनिज वर्ल्ड रेकर्डले विश्‍व कीर्तिमानको प्रमाणपत्र दिएको छ । 

सगरमाथा सफाई अभियानलाई विश्‍व कीर्तिमानको प्रमाणपत्र

गिनिज वर्ल्ड रेकर्डले सफाई अभियानलाई सबैभन्दा लामो सगरमाथा सफाई अभियानको उल्लेख गर्दै यो अभियानको नेतृत्व गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डियन मन्त्रालयलाई प्रमाणपत्र प्रदान गरेको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले कान्तिपुरसँग बताइन् ।

‘प्रमाणपत्र हस्तान्तरण गर्ने गिनिजको कार्यक्रम थियो तर कोरोना महामारीका कारण उनीहरु नेपाल आउन सकेनन्’ निर्देशक आचार्यले भनिन्, ‘मन्त्रालयका तर्फबाट प्रमाणपत्र आज (मंगलबार) मैले बुझें ।’

अभियानमा मन्त्रालयबाहेक नेपाली सेना, वन विभाग, नेपाल पर्यटन बोर्ड, प्रदेश १ को उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्रालय थिए । त्यस्तै यसमा अभियानमा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सगरमाथा प्रदूषण नियन्त्रण समिति र नेपाल पर्वतारोहण संघ सहभागी थिए । यी सबै निकायले यो अभियानका लागि २ करोड ३२ लाख बजेट विनियोजन गरेका थिए ।

स्थानीय तहको पहलमा पहिलोपकट सगरमाथा हिमाल सफाईमा पुगेको टोलीले ५ हजार ३ सय ८० मिटरमा रहेको सगरमाथा आधार शिविरदेखि ७ हजार ९ सय मिटर उचाई (साउथकोल) सम्म सफाई गरेको थियो । त्यसक्रममा सफाई टोलीले चार वटा अलपत्र आरोहीहरुको शव फेला पारेको थियो । १० हजार ३ सय ८६ किलोग्राम फोहोर संकलन गरिएको थियो ।

अभियानमा १२ जना शेर्पाहरु खटाइएका थिए । त्यस्तै कुनै समस्या परेमा उद्धार टोली र हेलिकप्टर पनि तैनाथ गरिएको थियो । उनीहरुले संकलन गरेको फोहोर आधार शिविरबाट हेलिकप्टरले ओखलढुंगा र काठमाडौं ओसारेका थिए । फोहोरलाई काठमाडौंमा पुन: प्रयोग गर्ने उद्योगलाई हस्तान्तरण गरिएको थियो ।

चार शवलाई त्यसताका मनाङ एयरको हेलिकप्टरबाट लुक्ला हुँदै शिक्षण अस्पताल महाराजगंजमा ल्याइएको थियो । यो अभियानको नेतृत्व तत्कालीन पर्यटन विभागका महानिर्देशक दण्डुराज घिमिरेले गरेका थिए । अभियान मे २९ तारिखमा पर्ने अन्तर्राष्ट्रिय सगरमाथा दिवसका दिन बिर्सजन गरिएको थियो ।

प्रकाशित : श्रावण २७, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?