कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमणकैबीच सिनेट बैठक गराउन ‘दौडधुप’, सदस्यहरुको विरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण बढिरहेका बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक बोलाइएकोमा आपत्ति जनाउँदै स्वास्थ्य संकटको बेलामा ५० भन्दा बढी पदाधिकारी, प्रतिनिधि र चिकित्सकको टोली सिनेट बैठकमा जान लागेकोमा विरोध भएकाे छ ।

कोरोना संक्रमणकैबीच सिनेट बैठक गराउन ‘दौडधुप’, सदस्यहरुको विरोध

आगामी शुक्रबार काठमाडौंमा सिनेट बैठक बोलाइएकोबारे ध्यानाकर्षण गर्न स्वास्थ्यमन्त्री, सचिवसहितका पदाधिकारीलाई अनुरोध गरेपनि कहीँकतै सुनुवाइ नभएपछि सिनेट सदस्य एवं बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानका चिकित्सकसमेत विरोधमा उत्रिएका हुन् ।

‘कोरोना संक्रमणको उपचार, व्यवस्थापन र संकट न्यूनिकरणमा लागि परेको प्रतिष्ठान स्वयं जनशक्ति तथा स्रोतसाधनको अभावमा गुज्रिरहेको छ,’ मेयर तिलक राईले कान्तिपुरसँग भने, ‘यो बेलामा सिनेट बैठक गर्नुको कुनै अर्थ छैन भनेर प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पत्र पठाएको छु, परिणाम आउन बाँकी छ ।’

प्रतिष्ठानको कार्यकारिणी समितिका एक सदस्यका अनुसार प्रतिष्ठानमा अहिले निर्माणाधीन मातृ शिशु स्वास्थ्य भवनको अवधि २ वर्ष थप्दै २१ करोड रुपैयाँ भुक्तानी गरिएको विषय अख्तियार दुरुपयोगमा छानबिनमा रहेको मुद्दालाई छल्न र यही भुक्तानी विषय कार्यकारिणी समितिमा नलगी सिनेटबाट पारित गराउनकै लागि जबर्जस्ती सिनेट बैठक राख्न खोजिएको हो । यस्तै यही समयमा प्रतिष्ठानको स्वामित्वमा रहेको झण्डै १ अर्ब रुपैयाँ मूल्यको सुन्दर हरैंचाको जग्गालाई मदन भण्डारीका नाममा अस्पताल निर्माण गर्न प्रदान गर्ने लगायतका प्रस्ताव सिनेटमा लगिने भएकोबारे पनि प्रतिष्ठान कार्यकारिणी र सरोकार सम्बद्ध पक्षबीच मतान्तर रहेको उनले बताए ।

साउन ३० मा सिनेट बैठक बस्ने भनिएपनि प्रतिष्ठानको सञ्चालक परिषद्को बैठक एजेन्डा अझैसम्म कुनै सदस्यलाई अवगत नगराइएको बारे प्रतिष्ठानको मेडिकल एन्ड डेन्टल फ्याकल्टी वेलफेयर सोइसाइटीका अध्यक्ष एवं सिनेट आमन्त्रित सदस्य विष्णु पोखरेलले सरोकारसम्बद्ध निकायमा अवगत गराएका छन् । सिनेट सदस्य एवं मेयर राईले पनि सिनेट बैठकका प्रस्ताव तथा एजेन्डाहरुबारे आफूलाई कुनै जानकारी नरहेको बताए ।

त्यसमाथि कोरोना संक्रमणको भयवाह स्थितिमा कुनै प्रकारका भेला, बैठक, सभा, सेमिनार, गोष्ठी गर्न गृह मन्त्रालयले रोक लगाएकै भएपनि सिनेट गराएरै छाड्ने भन्दै प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले ‘लबिइङ’मा लागेकोसमेत कार्यकारणी सदस्यहरुले बताए । झण्डै ‘लकडाउन’को अवस्थामा रहेको धरानबाट ५० भन्दा बढी पदाधिकारी, चिकित्सकको टोली लिएर सिनेट बैठकमा जान लागिएको नेपाल विद्यार्थी संघ तरुण दलसहितले विरोधमा विज्ञप्ति निकालेका छन् । सिनेट बैठक गराउनै पर्नुको कारण सोध्न उपकुलपति डा.गिरीलाई बारम्बार फोन गरेपनि उनी सम्पर्कमै आउन चाहेनन् ।

प्रकाशित : श्रावण २७, २०७७ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?