रेडपान्डाको सहवास याम

आनन्द गौतम

ताप्लेजुङ — यतिबेला बाँस टुसाउँछन् । पात हाल्छन् । मालिंगोजस्ता मसिना बाँसका पात र टुसा मन पराउने जन्तु हो रेडपान्डा । हाब्रे पनि भनिने यो जन्तुका लागि यो याम पर्याप्त आहारा पाइने मात्रै होइन, सहवासको समय हो । यी लजालु जन्तु ठूलो आवाज सुन्दा र मान्छे देख्ता तर्सन्छन् । सजिलै आहारा पाइने क्षेत्र खोजेर जोडी बनाउँछन् । यो सहबासको समयपछि यिनीहरूले बस्न योग्य मानेको क्षेत्र बच्चा हुर्काउञ्जेल छाड्दैनन् ।

रेडपान्डाको सहवास याम

ताप्लेजुङ, पाँचथर, इलाम जिल्लाका वनहरूमा पाइने यो वन्यजन्तुको संख्या उल्लेख्य रूपमा बढेको छैन । संरक्षणकर्मीहरूका अनुसार सहज बास र प्रजननका गतिविधि गर्न बाधा परेकै कारण रेडपान्डाले संख्या बढाउन नसकेका हुन् । त्यसैले यतिबेला जंगल क्षेत्रमा विकास तथा विनाशका गतिविधि नगरिदिन संरक्षणकर्मीले विशेष अपिल गरेका छन् । रेडपान्डाको बाल मृत्युदर रोक्न साउनदेखि असोज महिनासम्म वनमा बाधा गरिनु हुँदैन । नेपालमै सबैभन्दा बढी रेडपान्डा (हाब्रे) रहेको दाबी गरिएको ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका वनहरूमा समेत उपभोक्ता समिति तथा समुदायमार्फत निगरानी बढाइएको छ ।

जेठदेखि साउनसम्म बच्चा जन्माउने तथा बाँकी एकाध महिना नियमित हेरचाह गरेर हुर्काउने भएकाले असोजसम्मलाई विशेष महत्त्वका साथ हेरिन्छ । लजालु स्वभावको रेडपान्डाले यो अवधिमा आफूलाई असुविधा महसुस भए ठाउँ सारी गर्छ । यस्तो अवस्थामा बच्चा लिएर सर्नुपर्ने भएकाले बच्चा हुर्काउन नसकी मृत्यु हुन सक्छ ।

संरक्षणविद् प्रह्लाद योञ्जनले सन् १९८९ मा लाङटाङ राष्ट्रिय निकुञ्जमा गरेको अध्ययनअनुसार ८६ प्रतिशतको बच्चा अवस्थामा नै मृत्यु हुने गरेको छ । संरक्षणविद्का अनुसार यस्तो मृत्युदरले रेडपान्डाको संख्या वृद्धिमा गम्भीर समस्या देखिन्छ ।

रेडपान्डासम्बन्धी काम गर्दै आएको संस्था रेडपान्डा नेटवर्कका कार्यक्रम संयोजक वाङ्चु भोटियाका अनुसार गाडीको हर्न बजेमा, घाँसदाउरा गर्दा ठूलो आवाजले कराएमा, रूखको हाँगा खसालेमा वा रूख काटेमा रेडपान्डा डराउँछन् र बच्चा सार्नतिर लाग्छन् । सार्न थालेपछि बच्चाका लागि उपयुक्त वातावरण दिन नसक्ने भएकाले मृत्यु हुने सम्भावना अधिक हुन्छ ।

माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका प्रहरीहरूका अनुसार रेडपान्डाले बच्चा सार्दा कुकुरको आक्रमणमा पर्ने जोखिम उच्च हुन्छ । माथिल्लो फेदी क्षेत्रमा कतिपटक रूखमा बसेका रेडपान्डालाई तल कुकुरले कुर्ने र भुइँमा उत्रँदा आक्रमण गरेर मारेको घटना प्रहरीहरूले देखेका छन् । रेडपान्डा नेटवर्कसँग मिलेर संरक्षणको काम गरिरहेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार कुकुर नियन्त्रण गर्न अप्ठ्यारो छ । रेडपान्डाले सामान्यतया १ सय ३५ दिनमा बच्चा जन्माउँछ । गर्भवती भएको अवस्थामा ठूलो रूखको टोड्का खोजेर जन्माउने ठाउँ बनाउँछ ।

मिहिनेत गरेर गुँड खोज्ने भएकाले बिनाअवरोध त्यहीँ हुर्काउन पाए बच्चा मर्दैन । ‘सार्नुपरे त्यस्तै वातावरण नहुँदा बच्चा बचाउन सक्दैन,’ भोटियाले भने, ‘त्यसैले यो बेला राम्रो वातावरण चाहिन्छ ।’ दूध चुसेरै हुर्कने रेडपान्डाका बच्चाहरूले तीन महिना मात्रै राम्रो वातावरण पाए मृत्यु हुने सम्भावना कम हुन्छ ।

मालिंगोको टुसा, टेङ्गाको दाना र भालुचिण्डेजस्ता वनस्पति खाएर बाँच्ने यो जन्तुले गुँड बनाउँदा आफूले खाने आहारा सुलभ भएको क्षेत्रलाई पनि ध्यान दिने संरक्षणकर्मी बताउँछन् । ‘प्राकृतिक रूपले यो सबै आहारा पाउने समय भएकाले ताप्लेजुङका रेडपान्डा पाइने सबै क्षेत्रमा आहाराको समस्या छैन,’ राई भन्छन् । केवल अवरोधहरू बढी भएकाले सडक बनाउने, रूख काट्ने, ढुंगा फुटाउने, घाँसदाउरा गर्नेजस्ता गतिविधि नगरिदिन र जंगलमा नपसिदिन सबै निकायसँग अनुरोध गरेको उनले बताए ।

पहिल्यैदेखि अनुरोध गरेको र सबैका कानमा पुर्‍याएकाले बिनाकारण पसे सामुदायिक वनले कारबाही गर्ने पाथीभराको सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष पासाङरिता शेर्पा बताउँछन् । हिमाली संरक्षण मञ्चले १४ वटा वडाका सामुदायिक वनमा संरक्षणसम्बन्धी कार्यक्रम गर्दै आएको छ । ताप्लेजुङमा १ सय ३४ भन्दा बढी रेडपान्डा रहेको अनुमान छ ।

प्रकाशित : श्रावण २७, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?