कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोंगबु घटना : औषधि खुवाएर बेहोस, हथौडाले हानेर हत्या

कृष्णबहादुर बोहराको हत्यामा कल्पना मुडभरी (पौडेल) को संलग्नता : प्रहरी
मातृका दाहाल

काठमाडौँ — रोल्पाबाट दाङ बसाइँसराइँ गरी हाल काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको हत्यामा कल्पना मुडभरी (पौडेल) नै मुख्य योजनाकार भएको निष्कर्ष प्रहरीले निकालेको छ । शनिबार राति कल्पनाको कोठामा पुगेका कृष्णबहादुर कल्पनासँगै बसेर बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । बियरको नसा चढ्दै गएपछि कल्पनाले कृष्णबहादुरलाई दहीमा औषधि घोलेर खुवाएको बयान दिएकी छिन् ।

त्यस रात कृष्णबहादुर ती महिलाकै घरमा बस्ने गरी गएको पनि अनुसन्धानबाट खुलेको छ । दही खाएपछि कृष्णबहादुर बेहोस भएको र त्यसपछि हथौडाले कृष्णबहादुरको संवेदनशील अंगमा प्रहार गरी उनको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । हत्या गर्दा कल्पनाका १५ वर्षीया छोरी र १३ वर्षका छोरा साथमै थिए । हथौडा प्रहारबाट हत्या गरेपछि शव लुकाउन कल्पनाले टाउको र खुट्टा काटेर प्लास्टिकको झोलामा राखेर टाउको र खुट्टाबिनाको भाग सुटकेसमा हालेर नाम्लोमा बोकेर बाहिर निस्केको पनि अनुसन्धानबाट खुलेको छ ।

त्यसपछि फेरी कोठामा आएर कल्पना बोहराको टाउको र खुट्टासहितको प्लास्टिकमा बोकेर बाहिर गएकी थिइन् । बोहराको मृत शरीर टुक्राटुक्रा पार्न कल्पनाले २ वटा खुकुरी प्रयोग गरेको प्रहरी स्रोतले बतायो । उनी भागेर माइती गएको बेला सोमबार दिउँसो टाडीबाट पक्राउ परेकी हुन् ।

चितवनको टाँडीबाट पक्राउ गरी काठमाडौं ल्याइएकी ती महिलाले आफू नै हत्यामा संलग्न भएको बयान दिएकी छिन् । हत्या गरेर आइतबार आफू काठमाडौंबाट भागेर चितवन पुगेको ती महिलाले बयानमा भनेकी छिन् । महिला बस्ने कोठाबाट प्रहरीले मृतकका गञ्जी र भित्री वस्त्र पनि बरामद गरेको छ । आफूले हत्यामा प्रयोग गरेको खुकुरी पनि महिलाले प्रहरीलाई देखाएकी छिन् । प्रहरीका अनुसार महिलाले हत्या गर्दा हातमा पञ्जा लगाएकी थिइन् । हत्या गरिएका पुरुष विवाहित भएको र हाल उनी काठमाडौंमा एक्लै बस्दै आएको पनि अनुसन्धानबाट खुलेको छ । मंगलबार बिहान साढे १० बजे महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले संयुक्त पत्रकार सम्मेलन गरी हत्यासम्बन्धी विवरण सार्वजनिक गर्दे छ । ती महिलालाई पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

‘घटनाको सबै तथ्य र विवरण अहिले १०:३० मा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छौं,’ महाशाखा प्रमुख एसएसपी दीपक थापाले कान्तिपुरसँग भने । टाउको र खुट्टाबिनाको शव भेटिएको स्थानबाट करिब ५०/६० मिटर नजिकैको कोठामा ती महिला बस्दै आएकी थिइन् ।

टोखा नगरपालिका–१०, नवज्योती मार्गमा आइतबार बिहानै पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरीले सुटकेस खोलेर हेर्दा टाउको र घुँडामुनि दुवै खुट्टा नभएको पुरुषको शव फेला पारेको थियो ।

टाउको र खुट्टाबिनाको मृत शरीर हुँदा अनुसन्धानमा अलमलिएको प्रहरीले डग स्कुलबाट ‘ब्लन्ट हन्ट’ नामको कुकुर पनि झिकाएर अनुसन्धान अघि बढाएको थियो । कुकुरले नै सुँघेर सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटर पर स्वर्गद्वारी मार्गमा प्लास्टिकमा बेरिएको अवस्थामा टाउको र दुवै खुट्टा फेला पारेको थियो ।

सोमबार सार्वजनिक गरिएको हुलियाअनुसार मृतकको उचाइ ५ फिट इन्चदेखि ५ फिट ५ इन्चसम्मको छ । टाउको भेटिएको स्थानबाट कुकुर अघि बढ्दै १ किलोमिटर पर चौबाटो रहेको सिद्धेश्वर मन्दिरसम्म पछ्याएको थियो । हत्यामा संलग्नको खोजी गर्न महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा परिसर काठमाडौं, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महाशाखाका ५ वटा टोली परिचालन गरिएको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २७, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?