१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाढीले जयपृथ्वी राजमार्गको जालिबगर खण्ड बगायो

वसन्तप्रताप सिंह

बझाङ — लगातारको वर्षापछि सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्गको २५ मिटर सडक बगाएपछि अनिश्चितकालका लागि राजमार्ग अवरुद्ध भएको छ ।

बाढीले जयपृथ्वी राजमार्गको जालिबगर खण्ड बगायो

जयपृथ्वी राजमार्ग अन्तर्गतको मटेला तमैल खण्डको जालिबगर भन्‍ने ठाउँको सडक बाढीले बगाएको हो । बाढीले सडक सुरक्षाका लागि निर्माण गरिएको तटबन्धसहितको पक्की सडक बगाएको हो । बाढीले सडक बगाएपछि जिल्ला सदरमुकाम चैनपुर लगायत माथिल्लो भेगको सडक सम्पर्क विच्छेद भएको छ । विभिन्‍न जिल्लाबाट बझाङका लागि आएका दर्जनौं सवारी साधन र यात्रुहरु बाटोमा अलपत्र रहेका छन् ।

माथिपट्टी कडा चट्टानी भाग रहेको र सेती नदीको बहाव नघटेको कारण तत्काल सडक मर्मत गरेर यातायात सञ्चालन गर्न सकिने सम्भावना न्यून रहेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । ‘वैकल्पिक उपाय के हुन सक्छ भनेर सडक डिभिजनसँग छलफल गरिरहेका छौं । छिटो भन्दा छिटो यातायात खुलाउने प्रयासमा छौं ।’

यता जयपृथ्वी राजमार्गको खोड्पे बझाङ सडक हेर्दै आएको सडक डिभिजन बैतडीका इन्जिनियर हरिश जोशीले भत्किएको सडकमा जाली भरेर मर्मत गर्ने प्रक्रिया थालिएको बताए । उनले सडक डिभिजनले यो कामलाई पहिलो प्राथमिकतामा राखेको र हप्तादिन भित्र सडक सञ्चालन गर्ने गरेर काम थालिने बताए ।

बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र विकल्पको रुपमा रहेको राजमार्ग बाढीले बगाएपछि जिल्लाको माथिल्लो भेगमा दैनिक उपभोग्य बस्तुहरु, निर्माण सामाग्री ढुवानी गर्न तथा आपतकालीन अवस्थाका बिरामीहरुलाई जिल्ला बाहिर पठाउन समस्या भएको छ ।

यसैबीच सेती नदीमा पानीको बहाव बढेसँगै नदी किनाराका बस्तीहरु जोखिममा रहेका छन् । नदीले कटान सुरु गरेपछि जाल्तडी, भोपुर, सुवेडा, लगायतका दर्जनौ गाउँ जोखिममा रहेको स्थानीयले बताएका छन् । सेतीको बाढीले थुप्रै ठाउँमा नदी किनारको खेतीयोग्य जमिन समेत कटान गरेको छ । लगातार वर्षा भइरहेको र नदीमा पानीको बहाब बढेपछि उच्च सर्तकता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीयलाई आग्रह गरेको छ ।

प्रकाशित : श्रावण २६, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?