१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

दुई ल्याबको फरक रिपोर्ट

कान्तिपुर संवाददाता

मोरङ — मिर्गौलाका बिरामी विराटनगर–१० का ६३ वर्षीय पुरुषको शनिबार मृत्यु भयो । परिवारजनले त्यही दिन अन्तिम संस्कार गरे । कोरोना संक्रमित भनिएका मृतकको दुई ल्याबमा गरिएको स्वाब परीक्षण रिपोर्ट भने फरक–फरक आएको छ । कोसी अस्पतालमा बिहीबार गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो । शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको हो ।

दुई ल्याबको फरक रिपोर्ट

प्रदेश सरकारले कोरोना संक्रमणबाटै उनको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ । सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दिएको रिपोर्टका आधारमा तथ्यांक सार्वजनिक गरिएको बताए । प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले दुई दिनकै फरकमा संक्रमण निको नहुने भएकाले उनको संक्रमणबाटै मृत्यु भएको दाबी गरे । ‘पछिल्लोपटक स्वाब संकलनका साथै अन्यमा त्रुटि भएको हुन सक्छ,’ उनले भने । पीसीआर परीक्षणको रिपोर्ट ६५ देखि ७० प्रतिशत मात्र सही हुने भएकाले यस्तो समस्या देखिनु सामान्य भएको यादवको भनाइ छ ।

मृतकलाई बिहीबार कोसी अस्पतालमा उपचार गर्न लैजाँदा स्वाब संकलन गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिँदै गएको र स्वाब परीक्षणको रिपोर्ट पनि नआएकाले उनलाई शुक्रबार थप उपचारका लागि बीपी प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले भर्ना गर्नु अगावै स्वाब लिएको तर शनिबार उनको उपचारका क्रममा मृत्यु भएको थियो । कोरोना रिपोर्ट पोजिटिभ आएकाले विराटनगर महानगरले मृतकका परिवारलाई अन्तिम संस्कारका लागि शव लैजान रोकेका थिए ।

विवाद भएपछि महानगरले परिवारका सदस्यहरूलाई मात्रै अन्तिम संस्कारमा सहभागी हुने सर्तमा शव लैजान दियो । महानगरले मृतकको परिवारजनको स्वाब परीक्षण गर्ने जनाएको छ । योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

प्रकाशित : श्रावण २६, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?