१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपालगन्जका सडकमा सेना, चोकहरूमा काँडेतार

नेपालगन्ज — नेपालगन्ज उपमहानगरका सबैजसो वडामा कोरोना संक्रमित भेटिएपछि स्थितिलाई थप बिग्रन नदिन आइतबारबाट सेना परिचालन गरिएको छ । नगरका मूल सडकहरूमा काँडेतार लगाइएको छ ।

नेपालगन्जका सडकमा सेना, चोकहरूमा काँडेतार

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञालाई स्थानीयले बेवास्ता गरेपछि सेना सडकमा उतार्नु परेको हो । सेना परिचालनसँगै संक्रमित भेटिएका विभिन्न क्षेत्र सिल गरिएका छन् । धम्बोझी चोकदेखि सेतु विक चोक जाने सडक, पुष्पलाल चोकदेखि हुलाकी राजमार्ग र बसपार्क क्षेत्रलगायतमा काँडेतार लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिल गरिएका क्षेत्रमा बिरामीका लागि औषधि घरमै पुर्‍याउने व्यवस्था मिलाइएको बताए । ‘महामारी फैलिएपछि निषेधाज्ञा जारी गरिएको छ,’ उनले भने, ‘यसले नियन्त्रणमा सघाउँछ ।’ कर्मचारीमा कोरोना देखिएपछि नगरभित्रका सातवटा सरकारी कार्यालय बन्द गरिएका छन् ।

उपमहानगरका २३ वडामध्ये १९ वटामा संक्रमण पुष्टि भइसकेको छ । बजार र आवास क्षेत्रमा संक्रमित भेटिएका छन् । संक्रमण नदेखिएका नेपालगन्ज–६ फुल्टेक्रा, वडा १९ वसुदेवपुर, २१ को पुरैनी, २३ को हिरमिनियामा अहिलेसम्म स्वाब संकलन गरेर परीक्षण गरिएको छैन । परीक्षण नभएपछि त्यहाँको अवस्था खुलेको छैन । गत बिहीबारयता चार दिनमा नगर क्षेत्रमा १ सय ४५ जनामा संक्रमण पुष्टि भइसकेको छ । आइतबार नेपालगन्जस्थित भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये ३० जना प्रहरी छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबार २०, शुक्रबार ४९ र बिहीबार २८ जनामा संक्रमण देखिएको हो । अन्यमा त्यसअघि नै देखिएको थियो । अहिलेसम्म बाँकेमा ६ सय १७ जना संक्रमित भइसकेका छन् । यसपालि प्रदेश सांसद, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, व्यवसायी, सरकारी अधिकारी, पार्टीका नेतामा कोरोना देखिएको छ ।

परीक्षणको दायरा बढाएसँगै संक्रमण पुष्टि हुनेको संख्या बढेको हो । स्वास्थ्य कार्यालय कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भने, ‘व्यवस्थापनमा चुनौती छ । समुदायमा त्रास छ ।’ सर्वसाधारण घरबाहिर निस्किन डराएका छन् । नेपालगन्जमा दोस्रो पटक संक्रमित धेरै भेटिन थालेपछि स्थानीय प्रशासनले मंगलबारसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । बजार पूर्ण रूपमा बन्द गरिएको छ । औषधि पसल पनि बन्द छन् ।

‘असावधानीले संक्रमण फैलिएको अवस्था छ,’ भेरी अस्पतालका मेडिकल विभाग प्रमुख डा. राजन पाण्डेले भने, ‘सरकारी कार्यालयदेखि बजार र समुदायमा सावधानी अपनाइएको देखिँदैन । सामाजिक दूरीको के कुरा, मास्क लगाएको समेत देखिँदैन ।’ परीक्षणको दायरा बढाउनु आवश्यक रहेको उनले बताए । मास्क नलगाउनेलाई प्रहरीले जरिवाना गर्दै आएको छ ।

सुरुमा भारतबाट आएकाहरूमा मात्रै संक्रमण देखिने गरेको थियो । क्वारेन्टाइन सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि संक्रमित भएका थिए । डा. पाण्डेले पछिल्लो समय कोरोनाको संक्रमण समुदायमा सरेको शंका गर्ने आधार देखिन थालेको बताए ।

प्रकाशित : श्रावण २६, २०७७ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?