१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उपत्यकामा दिनहुँ सय हाराहारी संक्रमित : बल्ल आइसोलेसन भवन खोजी 

मकर श्रेष्ठ

काठमाडौँ — उपत्यकामा कोरोना संक्रमण भयावह हुन थालेपछि बल्ल स्वास्थ्य मन्त्रालय आइसोलेसन सेन्टर व्यवस्थापनमा जुटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा दिनमा एक सय जनाभन्दा बढी संक्रमित देखिएपछि आइसोलेसनका लागि खाली भवन खोज्न थालिएको हो । मन्त्रालय सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार पहिला तोकिएका आइसोलेसन भरिएपछि कीर्तिपुरको आयुर्वेद अस्पतालमा क्षमता विस्तार गरेर दुई सय शय्या तयार गरिएको छ ।

उपत्यकामा दिनहुँ सय हाराहारी संक्रमित : बल्ल आइसोलेसन भवन खोजी 

त्यहाँ चार दिनअघिसम्म २० जना मात्रै संक्रमित राख्ने गरिएको थियो । ‘यो पनि भरियो भने वरिपरिका अरू खाली भवनमा समेत बेड व्यवस्था गरेर संक्रमित राख्ने योजना छ,’ डा. अधिकारीले भने ।

आयुर्वेद अस्पतालको कोरोना संक्रमित व्यवस्थापन टोलीका संयोजक डा. जितेन्द्र श्रेष्ठका अनुसार कीर्तिपुर नगरपालिकाले क्वारेन्टाइन बनाएको भवनमा आइसोलेसन बनाइएको हो । क्वारेन्टाइन खाली हुनेबित्तिकै वाईफाई, पानी, बत्तीको व्यवस्था गरेर लक्षण नभएका संक्रमितलाई आइसोलेसनमा राख्ने प्रबन्ध मिलाइएको थियो । तीनतले भवनको पहिलो र दोस्रो तलामा संक्रमितलाई राखिएको छ । भवनमा महिलाका लागि ४ वटा र पुरुषका लागि ८ वटा मात्रै शौचालय छन् । कार्यालय प्रयोजनका लागि बनाइएको यो भवनमा बाथरुम एउटा पनि छैन । डा. श्रेष्ठले आइतबार राति ९ बजेसम्म १ सय १६ जना संक्रमित भर्ना भएको जानकारी दिए । ‘२० जना संक्रमित व्यवस्थापन गर्ने कर्मचारीले एक सयभन्दा बढीलाई व्यवस्थापन गरिरहेका छौं । संक्रमित आउने क्रम जारी छ,’ उनले भने ।

आयुर्वेद अस्पताल वरिपरि खाली भवन खोजेर थप आठ सय जना व्यवस्थापन गर्ने योजना स्वास्थ्य मन्त्रालयको छ । मनमोहन अस्पतालले मेडिकल कलेजका लागि तयार गरेको इचंगुनारायणको भवनमा पनि दुई सय जना व्यवस्थापन गर्ने तयारी छ । ‘कीर्तिपुर र मनमोहनको भवन पनि भरिए खरिपाटीको विद्युत् प्राधिकरणको भवनलाई प्रयोग गर्ने योजना छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीले भने ।

मन्त्रालयले यसअघि नै कोरोना संक्रमितलाई उपचार गर्न तोकेका बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १ सय २०, पाटन अस्पतालमा ६०, केएमसीमा १ सय शय्या, टेकुमा ५४ शय्या छन् । ती सबै संक्रमितले भरिएपछि सेना र प्रहरी अस्पतालमा राख्ने निर्णय गरेको थियो । यी दुई अस्पताललाई असार २१ को मन्त्रीस्तरीय बैठकले लेभल २ मा समावेश गरेको थियो । तर, सैनिक अस्पतालले संक्रमित सेना र प्रहरीले संक्रमित प्रहरीलाई मात्रै भर्ना गर्ने भनेपछि मन्त्रालयले अर्को विकल्प अघि सारेको हो ।

सरकारी अस्पतालले मात्रै सम्भव नभए ठूला हब अस्पताल र स्याटलाइट अस्पताललाई पनि तयारी अवस्थामा राख्न छलफल भइरहेको डा. अधिकारीले बताए । धुलिखेल, सिभिल, वीर, पाटन, टिचिङ र आर्मी हब अस्पताल हुन् । यी अस्पतालको मातहतमा रहेका स्याटलाइट अस्पतालबाट संक्रमितको कसरी व्यवस्थापन गर्न सकिन्छ, योजना बनाएर ल्याउन मन्त्रालयले निर्देशन दिइसकेको छ ।

९२ संक्रमित थपिए

स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा आइतबार ९२ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा संक्रमितको संख्या १ हजार १ सय ३६ पुगेको छ । काठमाडौंका ९ सय १२ संक्रमितमध्ये १ सय १६ जना संक्रमण मुक्त भइसकेका छन् । ललितपुरमा १ सय ३९ र भक्तपुरमा ८५ संक्रमित भएकामा ३२–३२ जना संक्रमण मुक्त भइसकेका छन् । उपत्यकामा ६ जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये ६४ प्रतिशत बाहिरबाट आएको पाइएको बताए । ‘संक्रमितको संख्या बढेसँगै कुनै पनि ठाउँ सुरक्षित छैन । सचेत हुनु जरुरी छ,’ उनले भने, ‘रेस्टुरेन्ट खुलेका छन् । सावधानी अपनाइएको छैन । पसल र रेस्टुरेन्टमा भीडभाड हुँदा हामीलाई तनाव हुन्छ ।’

स्वास्थ्य मन्त्रालयमा ८१ जनाको पीसीआर गर्दा आइतबार ४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यसमा तीन जना मन्त्रालयका सहयोगी हुन् । एक जना भने सर्वसाधारण हुन् । ‘मन्त्रालयमा चिया दिने कर्मचारीलाई समेत कोरोना देखिएपछि थप जोखिम बढेको छ,’ ईडीसीडीका निर्देशक डा. पाण्डेले भने ।

ईडीसीडीका अनुसार गंगालाल अस्पतालमा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । गंगालालमा संक्रमितको संख्या १६ जना पुगेको छ । त्यस्तै एभरेस्ट बैंकमा तीन जनामा संक्रमण पुष्टि भएको छ । सर्वसाधारणको प्रत्यक्ष संलग्न हुने प्रहरी र अन्य कार्यालयका कर्मचारीलाई संक्रमण देखिएपछि समुदायमा फैलने आकलन स्वास्थ्य मन्त्रालयले गरेको छ । प्रहरी प्रधान कार्यालयका संक्रमित प्रहरीले परिवार र आफन्तलाई समेत सारेको पाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : श्रावण २६, २०७७ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?