कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — पर्सा र बाँकेमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय संक्रमितको पनि शनिबार राति मृत्यु भएको छ । योसँगै देशभर हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

वीरगन्जमा शुक्रबार राति अस्पताल चहार्दा–चहार्दै मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण रहेको पाइएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको थियो । यस्तै, कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएकी ७० वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । कोहलपुर–२ की ती महिला निमोनिया भएपछि शुक्रबारदेखि अस्पतालमा उपचाररत थिइन् । उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । आइतबार दिउँसो आएको पीसीआर परीक्षण रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको शिक्षण अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठले बताए ।

‘उहाँको आइतबार ११ बजे मृत्यु भयो,’ उनले भने, ‘दिउँसो मात्र रिपोर्ट आयो ।’ उनका अनुसार मृतक महिलाको सम्पर्कमा आएका चिकित्सक, नर्स र सफाइ कर्मचारी गरी ८० जनालाई क्वारेन्टाइनमा राखिएको छ । यसअघि बाँकेमा मात्रै कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ ।

उता, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका पुरुषको कन्ट्याक्ट ट्रेसिङपछि गरिएको परीक्षणमा थप ६ जनामा कोरोना देखिएको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए । यसअघि नै मधुमेह रोगबाट पीडित उनी ज्वरो र रुघाखोकी लागेपछि आफैं अस्पताल गएका थिए । पौडेलका अनुसार उनको कुनै ‘ट्राभल हिस्ट्री’ थिएन । तर घरमै एक धार्मिक केन्द्र सञ्चालनमा ल्याई भजनकीर्तन गर्दै आएका थिए । उनको शव पोखरा–३२ मा व्यवस्थापन गरिएको छ । गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि स्याङ्जाका २, बागलुङ र गोरखाका १/१ जनाको मृत्यु भएको थियो ।


प्रकाशित : श्रावण २५, २०७७ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?