भारतीय विदेश मन्त्रालयले भन्यो- बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका छैन- समाचार - कान्तिपुर समाचार

भारतीय विदेश मन्त्रालयले भन्यो- बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका छैन

जगदीश्वर पण्डे

काठमाडौँ — भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको- 'बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।'

शनिबार नयाँ दिल्लीमा भएको एक कार्यक्रममा भारतीय विदेश मन्त्री एस. जयशंकरले बुद्धलाई महान् भारतीयका रुपमा चित्रण गरेपछि नेपालले यसको विरोध गरेको थियो । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।

विदेश मन्त्री एस. जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्धारा आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए । उनले यो कार्यक्रममा दिएको अभिव्यक्तिबारे मिडियाबाट राखिएका जिज्ञासाको जवाफ भनेर जारी गरिएको विज्ञप्तिमा विदेशमन्त्री जयशंकरले नेपाल र भारतबीच रहेको संयुक्त बौद्ध परम्परा र सम्पदालाई इंगित गरेको प्रष्टीकरण पनि दिइएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले १५ करोडको क्षति

तुलाराम पाण्डे

कालीकोट — अविरल वर्षापछि जिल्लाका ९ वटै स्थानीय तहमा गएको पहिरोले करिब १५ करोड रुपैयाँको क्षति पुर्‍याएको छ । कालीकोटमा पहिरोमा परी १९ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पहिरोमा ९ जना घाइते भए भने ३ सय ५८ घर पूर्णरुपमा भत्किएका छन् । ५ सय ९५ परिवारका २ हजार ५ सय ७८ जना विस्थापित भएर गोठ, विद्यालय र सार्वजनिक ठाउँमा बसिरहेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनका अनुसार नरहरिनाथ, रास्कोट र सान्नीत्रिवेणीमा मात्रै १२ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

पहिरोले पुर्‍याएको क्षतिको मुचुल्का उठाएर जिल्ला विपद् व्यवस्थापन समितिमा पेश गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । ‘वर्षा नरोकिएकोले क्षतिको विवरण बढिरहेको छ,’ उनले भने, ‘पूर्वतयारीको लागि जिल्लाभरि प्रहरी परिचालन गरेका छौं ।’ पहिरोले सबैभन्दा बढी नरहरिनाथ, रास्कोट र सान्नीत्रिवेणीमा क्षति पुगेको उनले जानकारी दिए । प्रहरीका अनुसार पहिरोमा १ सय १७ पशुचौपाया मरेका छन् भने ३ सय ५८ घर भत्किँदा ५ करोड ९४ लाख रुपैयाँको क्षति पुगेको छ । ८९ रोपनी जमिन पहिरोले बगाउँदा ७ करोड ७२ लाख रुपैयाँको क्षति पुगेको उनले जानकारी दिए ।

कालीकोटको नरहरिनाथ–७, बागामा साउन दोस्रो साता खसेको पहिरोले बगाएको घर र खेत । तस्बिर: तुलाराम/कान्तिपुर

पहिरोले एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको र ६ जना अझै बेपत्ता भएको नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताए । उनका अनुसार बेपत्ता भेटिने अवस्था नभएकाले मृतकसरह मानेर आश्रित परिवारलाई राहत रकम उपलब्ध गराउने तयारी भइरहेको छ । वर्षाले नरहरिनाथ–४, गोठी, अदेला, खातीरुप्सा र ५ नम्बर वडाको खलापाटा, भाटगाउँलगायत बस्ती जोखिममा छन् ।

अव्यवस्थित सडक निर्माणले पहिरो बढिरहेको स्थानीय कमल पाण्डेले बताए । ‘पहिरोले कतिखेर पेलेर बगाउँछ भन्ने चिन्ता सबैतिर छ,’ उनले भने, ‘अधिकांश गाउँका खेतबारी भुकम्पले चिरा पारेकोजस्तो गरी क्षतविक्षत भएका छन् ।’ केही गैह्रसरकारी संस्थाले राहत दिए पनि विस्थापितलाई छाक टार्नै समस्या भएको उनले गुनासो गरे । उनका अनुसार अधिकांश गाउँमा हिँडडुल गर्ने बाटो छैन । विद्युत्, खानेपानी र सिँचाइ कुला पहिरोकै कारण अवरुद्ध बनेको उनको भनाइ छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकप्टर चढेर २ पटक गाउँ पुगे पनि पीडितले अझै राहत पाउन सकेका छैनन् । पहिरो पीडितलाई सरकारले दिने भनेको नगद राहत अझै नपाएको नरहरिनाथ–७ बांगाका कुलबहादुर सहकारीले बताए । पहिरोमा परि उनका ससुरा गंग बुढाले ज्यान गुमाएका छन् ।

प्रकाशित : श्रावण २५, २०७७ १८:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×