कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सीसीएमसीका संयोजक पोखरेललाई उपत्यका नगरपालिका फोरमको सुझाव- नाकामा कडाइ गरौं

कान्तिपुर संवाददाता

काठमाडौँ — उपत्यका नगरपालिका फोरमले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार रक्षा मन्त्रालयमा छलफल गरेको छ ।

सीसीएमसीका संयोजक पोखरेललाई उपत्यका नगरपालिका फोरमको सुझाव- नाकामा कडाइ गरौं

फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले छलफल गरेका हुन् ।

संयोजक पोखरेलसँग पछिल्लो समय उपत्यकामा बढ्दै गएको कोरोना संक्रमणको नियन्त्रण र यसका लागि चाल्नुपर्ने सकारात्मक कदमलगायतका विषयमा छलफल भएको फोरमका अध्यक्ष शाक्यले जानकारी दिए । ‘काठमाडौं उपत्यका मुलुकको राजधानी समेत हो । यहाँको घनाबस्ती युक्त क्षेत्रमा कोरोना संक्रम समुदायस्तरमा पुग्ने खतरा रहेको अवस्थामा यहाँ प्रवेश गर्ने नाकामा कडाइ गर्न हामीले सीसीएमसीका संयोजक समेत रहनु भएका उपप्रधानमन्त्री पोखरेलज्युलाई आग्रह गरेका छौं,’ शाक्यले भने, ‘हामीले उपत्यकावासीको मागका बारेमा जानकारी गराएका छौं । उहाँले हाम्रो सुझावलाई सकारात्मक रुपमा लिनुभएको छ । आजै सीसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भिरताका साथ छलफल गर्छौ भनेर उहाँले प्रतिबद्धता जनाउनु भएको छ ।’

छलफलका क्रममा फोरमको तर्फबाट तेस्रो मुलुकबाट आउन सक्ने ठूलो संख्याका यात्रुलाई ध्यानमा राखि क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्दा उपयुक्त हुने सुझाव दिएको शाक्यले जानकारी दिए । ‘उपत्यकामा समुदाय स्तरमा संक्रमण जानसक्ने खतरालाई ध्यानमा राखि सरकारको विरोध र समर्थनमा र्याली, भेला अनशन, जुलुसलगायतका गतिविधिमा कडाइ गर्न पनि हामीले सुझाव दिएका छौँ,’ मेयर शाक्यले भने, ‘जात्रा–पर्व विधिपूर्वक सामान्य रुपमा मनाउन र भिडभाडका साथ नमनाउन स्थानीयलाई आग्रह गरेका छौं । सरकारको समर्थन र विरोधका नाममा हुने जुलुस, अनसनलगायतले संक्रमणको खतरा बढी हुने भएकाले त्यस्ता कुरामा पूर्ण रोक लगाउन हामीले सुझाव दिएका छौं ।’

मेयर शाक्यले अहिले सरकारको नियमको पालना नगरी जथाभावी रुपमा लुकेर उपत्यका भित्रिने गरेको र उनीहरुका कारण समुदायस्तरमा सम्म कोरोना संक्रमण फैलिने खतरा रहेको भन्दै त्यस्ताहरुलाई कारबाहीको दायरामा ल्याउने व्यवस्था गर्न समेत आग्रह गरे ।

त्यसैगरी, छलफलमा फोरमका सचिव श्रेष्ठले संक्रमण सर्न सक्ने सम्भावनलाई न्यूनिकरण गर्न मास्क उपयुक्त र अनिवार्य भएको तथ्यलाई ध्यानमा राखेर मास्क नलगाई आवत–जावत गर्न तथा मास्कलाई उपयुक्त रुपमा प्रयोग नगर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सुझाव दिएको जानकारी दिए । ‘सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालन भएपछि संक्रमण दर तीव्र भइरहेको स्थितिलाई ध्यानमा राखि पुनः जोरविजोर प्रणली लागू गरिएकोमा संक्रमणलाई नियन्त्रणमा राख्न सार्वजनिक यातायात सञ्चालनमा ३ हप्ता पुनः रोक लगाउनुपर्ने तथा अरु सवारी साधनमा जोर–विजोर लागु गर्नुपर्ने सुझाव दिएका छौं,’ श्रेष्ठले भने, ‘उपत्यकामा संक्रमणको जोखिम युक्तबाट स्थानबाट प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, कवाडी संकलक, डेलागाडा, साईकल, फुटपाथ, तरकारी व्यापारीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छौँ । जसका लागि तरकारी व्यापारलाई साँझ,–विहान मात्र खोल्न दिने, निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत गरिने व्यापारलाई ३ हप्ताका लागि निषेध गर्न सुझाव दिएका छौँ ।’

आर्थिक गतिविधिलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाइएको अवस्थामा व्यापारिक क्षेत्र, तथा सपिङ महलहरु संक्रमणको उच्च जोखिम रहने भएकाले सो क्षेत्रमा मापदण्डको पूर्ण पालना गर्न र गरे–नगरेको बुझ्न नियमित अनुगमन गर्नुपर्ने सुझाव पनि फोरमले दिएको छ । फोरमले कोरोना संक्रमण फैलिरहेको अवस्थामा सामाजिक सुरक्षा भत्ताको नविकरणका लागि वृद्ध–वृद्धा बाहिर निस्किने र संक्रमणको खतरा बढी हुने भन्दै त्यसको नविकरणका लागि म्याद थप गर्न पनि सुझाव दिएको छ ।

फोरमका अध्यक्ष शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव श्रेष्ठसहितको शनिबार बसेको छलफलले आइतबार मन्त्री पोखरेललाई भेटेर सुझाव दिने निर्णय गरेको थियो । फोरमको बैठक सोमबार बस्ने तय भएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?