नेकपा विवाद : हस्ताक्षर सार्वजनिक गर्दै प्रतिनिधिसभाका सांसद

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको विवाद बढ्दै गएको बेला प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरूले भने विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक गर्न लागेका छन् ।

नेकपा विवाद : हस्ताक्षर सार्वजनिक गर्दै प्रतिनिधिसभाका सांसद

ओली र दाहाल-नेपाल पक्षको विवादले स्थायी कमिटी बैठक अवरुद्ध भइरहेका बेला नेकपाका संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ५० भन्दा बढी सांसदले हस्ताक्षर सार्वजनिक गर्न लागेका हुन् । आइतबार २ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरेर विभाजनविरुद्ध हस्ताक्षर सार्वजनिक गर्न लागेको सांसद यज्ञराज सुनुवारले जानकारी दिए ।

पार्टीले निर्वाचनका बेला जनतामाझ सार्वजनिक गरेका घोषणापत्र र कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा विभाजनको दिशातिर गएको भन्दै ओली, दाहाल र नेपाल पक्षका सांसदले संयुक्त रूपमा एकताको दबाबका लागि हस्ताक्षर अभियान संचालन गरेका थिए ।

सांसद सुनुवारका अनुसार ५० भन्दा बढी सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर सार्वजनिक गरेपछि सांसदहरूले शीर्ष नेताहरूलाई बुझाउने तयारी पनि गरिरहेको सांसद गणेश पहाडीले जानकारी दिए । हस्ताक्षर अभियानमा सांसदहरू कृष्णप्रसाद दाहाल, यज्ञराज सुनुवार, सुरेश राई, झपट रावल, गणेश पहाडी, रामकुमारी झाँक्री, विशाल भट्टराई, नवराज सिलवाललगायत सांसद रहेका छन् ।

हस्ताक्षर अभियानमा रहेका सांसदहरूले विवाद समाधानका लागि सबै नेता एकठाउँमा लाग्नुपर्ने र आफूहरू विभाजनको विपक्षमा उभिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले स्थायित्व र विकास तथा समृद्धिका लागि पार्टी नेतृत्व एकताबद्ध भएर अगाडि बढ्नुपर्ने भन्दै दबाब दिन लागेका हुन् ।

उक्त हस्ताक्षरहरू यसअघि नै सार्वजनिक गर्ने कार्यक्रम रहेको थियो । तर, पार्टी विवाद उत्कर्षमा रहेको बेला सांसदहरूले हस्ताक्षर थालेकोप्रति प्रधानमन्त्री ओली पक्ष सशंकीत भएको थियो । हस्ताक्षर अभियानमा राष्ट्रिय सभाका सांसदहरूलाई समेटिएको छैन ।

सम्बन्धित समाचारः

प्रकाशित : श्रावण २५, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?