भारतीय विदेशमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : कांग्रेस प्रवक्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय विदेशमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : कांग्रेस प्रवक्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले 'बुद्ध महान् भारतीय भएको' भन्ने भारतीय विदेशमन्त्री एस. जयशंकरको अभिव्यक्तिमा आपत्ति  जनाएका छन् । 

'भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ' शर्माले ट्विट गर्दै भनेका छन् ।

भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा जयशंकरले बुद्ध महान् भारतीय भएको बताएका थिए ।

शर्माले आवेगको जवाफ आवेग दुवै देशको हितमा नभएको पनि बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म नेपालको ठोरीमा भएको दोहोर्‍याएर बोलेको प्रसंगतिर संकेत गर्दै उनले भनेका छन्, 'राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन् । मूल विषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।'

उनले भनेका छन्, 'बुद्ध नेपालमा जन्मेका हुन् भनेर संसारमा कहींबाट दर्ता प्रमाण हामीले मागेका छैनौं । भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि नेपाल बुद्ध भूमि हो भनेर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भइसकेको छ । फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्तै दु:खद छ ।'

प्रकाशित : श्रावण २५, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्

स्पोर्ट्स कम्प्लेक्समा परिणत हुँदै इटहरी रंगशाला

३७ करोड लगानी, मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी
विनोद भण्डारी, सुम्निमा चाम्लिङ

इटहरी/सुनसरी — मुलुक कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर सामान्य अस्वस्थामा फर्किए अबको चार महिनापछि अर्थात् मंसिरदेखि सुनसरीको इटहरी रंगशाला (स्पोर्ट्स कम्प्लेक्स) सञ्चालनमा आउने छ । यो रंगशाला सञ्चालनमा आएपछि एकैपल्ट विभिन्न १५ खेलको प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न सकिन्छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चार वर्षदेखि तत्कालीन जुट विकास संस्थानको आठ बिघा जमिनमा समेटिएको यो रंगशालालाई स्पोर्ट्स कम्प्लेक्समा परिणत गर्न ३७ करोड रुपैयाँ लगानी गरेको छ । सुनसरी जिल्ला खेलकुद समितिका निवर्तमान अध्यक्ष अनुरोध थापाका अनुसार स्पोर्ट्स कम्प्लेक्सको काम ९० प्रतिशत सकिएको छ ।

३७ करोडमा ३ हजार ५ सय दर्शक क्षमताको भीआईपी प्यारापिटसहित विभिन्न १५ खेलको नियमित प्रशिक्षण गर्ने र प्रतियोगिता समेत गर्ने सकिने पूर्वाधार निर्माण भइरहेको छ । अध्यक्ष थापाले भने, ‘भीआईपी प्यारापिट निर्माण कार्य अब दुई महिनामा सकिने छ ।’ चैत ११ देखि मुलुक लकडाउनमा नफसेको भए प्यारापिट असारभित्रमा निर्माण भइसक्ने थियो । प्यारापिटमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पोस्ट म्याच कन्फ्रेन्स हल, भीआईपी लाउन्ज कक्ष, मेडिकल वार्ड, दुइटा चेन्जिङ रूम र रेफ्री रुम निर्माण गरिएको छ । थापाले बाँकी विभिन्न १५ खेलको आयोजनास्थल र प्रशिक्षणस्थलको निर्माण सम्पन्न भइसकेको बताए ।

उनका अनुसार प्यारापिटको काम सकिएपछि मैदानको लेभलिङ गर्ने र हाल निर्माण भएको चार सय मिटरको एथलेटिक्स ट्र्याकलाई सेन्थिटिक ट्र्याकमा परिणत गरेर रंगशालामा मंसिरदेखि खेलकुद प्रतियोगिता र दर्शकमय बनाउने लक्ष्य छ । जमिनको लेभलिङ र एथलेटिक्स ट्र्याकलाई सेन्थेटिक ट्र्याकमा परिणत गर्न आवश्यक पर्ने बजेटका लागि राखेप र प्रदेश सरकारलाई गुहार्ने तयारी निर्माण समितिको छ । प्रदेश सरकारको एक करोड बजेटमा रंगशालामा कम्पाउन्डवाल लगाइएको छ । प्रतीक्षा कन्स्ट्रक्सनले २४ करोडको लागतमा भीआईपी प्यारापिट निर्माण गरिरहेको छ । बाँकी १३ करोडको लागतमा विभिन्न १५ खेलको पूर्वाधार निर्माण भइसकेको राखेपका तत्कालीन राखेप सदस्य–सचिव केशवकुमार विष्टले बताए ।

‘आफ्नो कार्यकालमा इटहरी रंगशाला मुलुककै पहिलो र नमुना स्पोर्ट्स कम्प्लेक्स वनाउने लक्ष्य थियो,’ अघिल्लो असारमा कार्यकाल सकिएका विष्टले भने, ‘त्यो लक्ष्य पूर्णता नजिक पुगेको छ । यसमा खुसी हुने दिन आउँदैछ ।’ आफ्नो कार्यकालमा दाङमा १८ करोड, पोखरामा ५० करोड, नेपालगन्जमा १९ करोड र इटहरीमा २४ करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रंगशाला निर्माण सुरु गरिएको र इटहरीको निर्माण कार्य अन्तिम चरणमा पुगेको विष्टको दाबी छ ।

विष्टको कार्यकालमा इटहरी र धरानमा मात्रै खेलकुद पूर्वाधार विकासमा ४३ करोडभन्दा बढी लगानी भएको छ । उक्त रकममध्ये इटहरी रंगशलामा ३७ करोड र धरान–१६ को रंगशालामा पटक–पटक गरेर ६ करोड खर्च भएको छ । इटहरी रंगशलामा फुटबल, भलिबल, एथलेटिक्स, कराते, उसु, तेक्वान्दो, आर्चरी, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धिचाल, क्रिकेटलगायतका १५ खेलको एकैपटक प्रशिक्षण र प्रतियोगिता आयोजना गर्न सकिन्छ ।

त्यसका लागि हाल पाँचवटा कोर्ट भएको र एक हजार दर्शक अटाउने इन्डोरसहितको कभर्डहल, मार्सल आर्टका सबै स्पर्धाको प्रशिक्षण र प्रतियोगिता गर्न सकिने १२ सय दर्शक अटाउने इन्डोर प्यारापिटसहितको भवन, इन्डोर क्रिकेट हल, कराते, उसु र तेक्वान्दोका प्रशिक्षण र प्रतियोगिता हल, टेबलटेनिस हल, भलिबलको दिवा र रात्रिकालीन खेल खेलाउन सकिने दुइटा कोर्ट र १५ सय दर्शक अटाउने इन्डोर प्यारापिटसहित योग भवन र ज्येष्ठ नागरिक खेलकुद भवन निर्माण भइसकेको सुनसरी खेलकुद समितिका निवर्तमान अध्यक्ष थापाले बताए ।

सुनसरी जिल्ला फुटबल संघका पूर्वअध्यक्ष दिलीप राई यो रंगशालाले इटहरीलाई मुलुककै खेलकुदको हबमात्र बनाएन पहिचान नै फेरिदिएको मान्छन् । आफ्नो कार्यकालमा हरेक पटक गृहनगर आउँदा तत्कालीन सदस्यसचिव विष्ट केही न केही खेल पूर्वाधार विकासको योजना लिएर आउँथे । राईले भने, ‘पाँचवर्षको कार्यकालमा १५ पटक इटहरी आउँदा विष्टले विभिन्न १५ खेलको आवश्यक भौतिक पूर्वाधार इटहरी रंगशलामा बनाएरै छाडे ।’ इटहरी आउटडोर र इन्डोर रंगशालालाई मूर्तरूप दिन विष्टले भीआईपी प्यारापिट पनि बनाएरै छाडे ।

धरान–१५ को खोरिया बस्तीमा प्रदेश सरकारको लगानीमा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानलाई तारजालीले घेरेर ड्रेनको काम पनि सकिएको छ ।तस्बिर : सुम्निमा चाम्लिङ

विष्टकै कार्यकालमा धरान–१६ मा रहेको रंगशालाको मैदान मर्मत र स्टेडियम निर्माणका लागि ६ करोड रुपैयाँ उपलब्ध गराए । प्रदेश सरकारको लगानीमा हाल धरान–१७ को २० बिघा क्षेत्रफलमा प्रदेश १ को खेलकुद हब बनाउने उद्देश्यसहित धरानमा खेलग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

ग्रिड कन्सल्टेन्सी काठमाडौंले गत आर्थिक वर्षदेखि आयोजनाको विस्तृत अध्ययनको काम गरिरहेको छ । धरान उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिले खेलग्रामको डीपीआर बनाउन लागेको हो । डीपीआरको काम आगामी असोजसम्म पूरा हुने समितिले जनाएको छ ।

प्रदेश सरकारले चालु वर्षमा खेलग्राम निर्माणका लागि ५ करोड रुपैयाँ छुट्याएको छ । गत वर्ष प्रदेश सरकारले खेलग्राम निर्माणका लागि उपलब्ध गराएको ४ करोड ५० लाख रुपैयाँ फ्रिज हुँदा धरानको खेल क्षेत्रको महत्त्वाकांक्षी योजना मानिएको खेलग्राम निर्माणको काम अघि बढ्न सकेन । सुरुआती चरणमा धरान रंगशालालाई खेलग्राम बनाउने निर्णय भएको थियो । यद्यपि पछिल्लो समय धरान–१७ साउने बस्तीमा खेलग्राम निर्माणका लागि प्रस्ताव गरियो । साउने बस्ती र धरान रंगशालामा बनाउने विषयमा पार्टीगत गुटबन्दीका कारण बजेट फ्रिज भएको स्रोतको भनाइ छ ।

धरान–१७ मै खेलग्राम बन्ने पक्का भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुभाष राईका अनुसार १० वर्षे उक्त खेलग्राम योजनामा धरानको आवश्यकताअनुसार खेलका पूर्वाधारहरू निर्माण गरिने छ । उक्त खेलग्रामको डीपीआर र खेलकुद शीर्षकमा धरान उपमहानगरपालिकाले गत वर्ष १ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर ९८ लाखमात्र खर्च भएर ७२ लाख रुपैयाँ फ्रिज भयो ।

डीपीआर तयार नहुँदा कतिवटा खेल अटाउने भन्ने टुंगो लाग्न नसकेको राईले बताए । समितिले कम्तीमा २९ वटा खेल संरचना बनाउने लक्ष्य राखेको छ । सबै खेल स्थानलाई कसरी लिंक गर्ने भनेर भौतिक योजना अघि बढाइएको छ । साहसिक खेलका लागि धरान–४ मा जग्गा खोजिसकेको छ । यस्तै विजयपुरगढीस्थित साइक्लिङ ट्र्याक, धरान–१६ मा रहेको रंगशाला, बीपी प्रतिष्ठानको गल्फ कोर्स, नेपाल प्रहरी स्कुलको ब्याडमिन्टन हल पनि डीपीआरमा समेटिने प्रयास भइरहेको राईले बताए ।

त्यसैगरी प्रदेश सरकारको लगानीमा धरान–१५ खोरिया बस्तीमा भक्तराजा कन्दङ्वा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणको काम भने अघि बढेको छ । मैदानवरिपरि तारजाली र ड्रेनको काम भर्खर सकिएको छ । उक्त मैदान निर्माणका लागि धरान उपमहानगर, सांसद र स्थानीयवासीले २०६५ देखि २०७५ सम्म ५० लाख रुपैयाँ खर्च गरेका थिए ।

प्रदेश सरकारले गत वर्ष डेढ करोड रुपैयाँ उपलब्ध गराएको थियो । उक्त क्रिकेट मैदान निर्माण सम्पन्न गर्न करिब एक अर्ब रुपैयाँ लाग्ने र उक्त रकम प्रदेश सरकारले क्रमागत रूपमा उपलब्ध गराउने क्रिकेट मैदान संरक्षण समितिका संयोजक आइन्द्रविक्रम बेघाले बताए । प्रदेश सरकारले चालु वर्ष प्रदेशको खेलकुदका लागि ३० करोड रुपैयाँ छुट्याएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×