लापरबाहीले फैलियो संक्रमण

प्रदेश ब्युरो

विराटनगर — तीन साताअघि रंगेली–७ का एक वृद्ध गम्भीर बिरामी भएर विराटनगरस्थित एक अस्पतालमा भर्ना भए । बुबालाई भेट्न र हेरचाह गर्न भन्दै उनकी छोरी दिल्लीबाट जोगबनी नाकामा आइपुगिन् । परिवारले विराटनगर–१० स्थित वडा कार्यालयमा झूटो विवरण पेस गर्दै बिरामी बुबा यही वडाको बासिन्दा भएको र उनको रेखदेखका लागि आएकी छोरीलाई होटलको क्वारेन्टाइनमा बस्न व्यवस्था मिलाइदिन भन्दै सिफारिस बनाए । तर उनी होटल नगई बिरामी बुबासँगै अस्पताल बसिन् ।

लापरबाहीले फैलियो संक्रमण

उपचारकै क्रममा दुई साताअघि बुबाको निधन भएपछि सपरिवार उनी पनि अन्तिम संस्कारका लागि रंगेली पुगिन् । उनमा दिल्लीबाट आएदेखि नै ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो । तर कसैलाई नभनी चुपचाप बसिन् । मास्क नलगाई अस्पताल र बजार घुमिन् । भारतबाट आएको र रुघाखोकी, ज्वरो निको नभएपछि उनका माइतीले नै उनको पीसीआर परीक्षण गराए । तर परीक्षण रिपोर्ट नआउँदै उनीसहित परिवारका सदस्य भारत र काठमाडौं फर्कन भन्दै सिफारिस पत्र लिन रंगेली नगरपालिका पुगे । ‘हामीले सबै कुरा बुझेपछि उहाँहरूलाई अनुमति दिएनौं, शंका लागेर सबैको परीक्षण गर्न लगायौं,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र मण्डलले भने, ‘अन्ततः परिवारै संक्रमित देखिए, संक्रमणको स्रोत भारतबाट आएकी ती महिला नै रहेको हाम्रो ठम्याइ हो ।’

ती महिलामा कोरोना पोजिटिभ देखिएपछि परीक्षण गर्दा गत सोमबार परिवारका १४ जनामा समेत संक्रमण देखियो । कन्ट्याक्ट ट्रेसिङ गर्दा २३ जना छिमेकीसमेत संक्रमितमा थपिए । हालसम्म रंगेलीको मुख्य बजार क्षेत्रमा मात्रै संक्रमितको संख्या ३८ पुगिसकेको छ । पाँच दिनमै नगरभित्र थपिएका ४२ सहित हालसम्म ५२ जनामा संक्रमण पुष्टि भएको मण्डलले बताए । ‘एक व्यक्तिको लापरबाही र ढाकछोपले धेरै जना जोखिममा परे,’ उनले भने, ‘अहिलेसम्म १ हजार ५ सय जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।’ सोमबार विद्युत् प्राधिकरण रंगेली वितरण शाखाका ५ र अस्पतालका ३ कर्मचारीमा पनि कोरोना पुष्टि भएको थियो । उनीहरूको सम्पर्कमा आएकाको परीक्षण गर्दा रंगेली–४, ५ र ६ मा गरी ७ संक्रमित फेला परे ।

गत साउन ६ मा विराटनगर महानगरभित्र २९ जनामा सीमित संक्रमितको संख्या शनिबारसम्म २ सय ४५ पुगेको छ । यहाँ पनि लापरबाहीकै कारण व्यक्तिबाट समूह हुँदै समुदायमा संक्रमण सरेको बताउँछन् कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दास । औषधि विभागबाट साउन १ मा सरुवा भएर कोसी अस्पताल आएका एक चिकित्सक र काठमाडौंबाटै फर्केका विराट नर्सिङ होमका सञ्चालकको लापरबाहीले पनि यहाँका अस्पताल र समुदायमा संक्रमण विस्तार भएको उनको ठम्याइ छ । ‘गलत विवरण दिएर आफू संक्रमित भएको लुकाउने नर्सिङ होम सञ्चालक, मास्क नलगाई सहकर्मीसँग कुराकानी गर्ने हाम्रै अस्पतालका एक चिकित्सक र सावधानीको उपाय नअपनाउने नागरिकले गर्दा यस्तो भयावह अवस्था आएको हो,’ डा.दासले भने, ‘मास्क मात्र लगाएका भए पनि यति धेरै जना संक्रमित हुँदैनथे ।’ कोसी अस्पतालमा मात्रै ती चिकित्सकसहित १५ स्वास्थ्यकर्मी संक्रमित छन् । ‘उनै चिकित्सक र आंशिक रूपमा विराटमा समेत कार्यरत यहाँकै एक स्टाफ नर्सबाट हाम्रो अस्पतालमा संक्रमण विस्तार भयो,’ उनले भने । स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि चार दिनसम्म अस्पतालको बहिरंग सेवा (ओपीडी) ठप्प भयो । विराटमा समेत कार्यरत एक मेडिकल अफिसरबाट विराटनगरकै न्युरो अस्पतालका सात जनामा संक्रमण सर्‍यो । विराटमा संक्रमित स्वास्थ्यकर्मीको संख्या ८ छ । मोरङ सहकारी अस्पतालका ६, गोल्डेनका ३ स्वास्थ्यकर्मी र नोबेल मेडिकल कलेजका २ चिकित्सकको नतिजासमेत पोजिटिभ आएको छ ।

कतिपय सर्वसाधारण र चिकित्सककै लापरबाहीले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको मान्छन्, विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेत । ‘अनुशासित जीवन बिताउँदा दुई साताभित्रै हाम्रो उपचार केन्द्रमा निको हुन्छन् भने नागरिकले यस्तै सावधानी दैनिक जीवनमा अपनाए संक्रमित हुँदैनन् नि,’ उनले भने ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखा प्रमुख डा.सुरेशप्रसाद मेहताले विराटनगरमा साँझ–बिहान मास्क नलगाई आवागमन गरिरहेको र समूहमा हिँडिरहेको देखिएको भन्दै संक्रमणबाट जोगिन र अरूलाई जोगाउन सतर्क रहनुपर्नेमा जोड दिए । ‘न्यूनतम सुरक्षा सतर्कता नअपनाउनु भनेको त सोझै लापरबाही भयो नि,’ उनले भने ।

धमाधम समूहमा परीक्षण

सुनसरीको धरानमा संक्रमितको संख्या बढेसँगै साउन २० देखि ‘र्‍यान्डम मास टेस्टिङ’ थालिएको छ । शनिबारसम्म १ हजार ७ सय स्वाब संकलन गरिएको छ । उपमहानगरका स्वास्थ्य विभाग प्रमुख उमेश मेहताका अनुसार पहिलो दिनमा १३० जनाको पीसीआर गर्दा दुई बालकसहित ६ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूको ट्राभल हिस्ट्री खुलेको छैन ।

अझै ७ सय ४३ जनाको रिपोर्ट आउन बाँकी छ । यसअघि धरानका मात्रै ९ सय ५० जनाको परीक्षण गर्दा ४६ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जीव शर्माले भने, ‘अहिलेसम्म धानिँदै छ । तर दैनिक संक्रमितको संख्या बढेमा आवश्यक जनशक्ति अभाव मात्र हुँदैन, पर्याप्त मेडिकल उपकरण, आईसीयू, आइसोलेसन शय्यासमेत पुग्दैन ।’

संक्रमण समुदायमा फैलिएपछि झापाको बिर्तामोड नगरपालिकाले निषेधाज्ञा गरी ‘मास स्क्रिनिङ’ थालेको छ । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रमा पीसीआर परीक्षण गर्न थालिएको हो । एक सातामा नगर क्षेत्रका ८ सय ४४ जनाको स्वाब संकलन गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति बिर्तामोडका संयोजक ओम खड्काले बताए । ‘अब सातामा एक हजारभन्दा बढीको परीक्षण गर्ने गरी अघि बढ्छौं,’ उनले भने । सशस्त्र प्रहरी र बैंकका कर्मचारीमा समेत कोरोना पुष्टि भएपछि परीक्षणको दायरा बढाइएको उनको भनाइ छ ।

जिल्लाकै बाह्रदशी गाउँपालिकाका एक औषधि व्यवसायी र नेकपाका स्थानीय नेतामा संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रका औषधि व्यवसायी, क्लिनिक सञ्चालक, प्रहरी, बैंकका कर्मचारी, नेता–कार्यकर्ता तथा संक्रमितको सम्पर्कमा आएका किराना, तरकारी पसल सञ्चालकलगायतको परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ ।

माधव घिमिरे र जितेन्द्र साह (विराटनगर),प्रदीप मेन्याङ्बो (धरान) र अर्जुन राजवंशी (बिर्तामोड)

प्रकाशित : श्रावण २५, २०७७ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?