कहिले हुन्छ दिनहुँ १० हजार परीक्षण ?

अतुल मिश्र

काठमाडौँ — विज्ञहरूले कोभिड–१९ संक्रमण समुदायमा विस्तार हुने संघारमा रहेकाले पीसीआर परीक्षणको दायरा व्यापक बढाउनुपर्ने बताएका छन् । उनीहरूले अत्यधिक परीक्षणबाट संक्रमितहरूको पहिचान गरेर आइसोलेसनमा राख्दै उपचारलगायत प्रक्रिया सुरु गरेर संक्रमण सीमित पार्नुपर्ने जनाएका छन् ।

कहिले हुन्छ दिनहुँ १० हजार परीक्षण ?

विज्ञहरूले परीक्षणको दायरा नबढाए र जनस्वास्थ्यको सुरक्षा उपाय नअपनाए महामारीबाट व्यापक मानवीय क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् । स्वास्थ्य मन्त्रालयले समेत बिहीबार कोरोना संक्रमण बढ्दै गए मुलुकका अस्पतालहरूमा शय्या, उपकरण र स्वास्थ्यकर्मी अभाव हुने औंल्याउँदै स्वास्थ्य केन्द्रहरूले धान्न नसक्ने जनाइसकेको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले करिब दुई महिनाअघि जेठ २६ मा प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको उत्तर दिँदै असार १५ सम्ममा पीसीआर परीक्षणको दायरा बढाएर दिनहुँ १० हजार पुर्‍याइने बताएका थिए । तर अझै १० हजार परीक्षण हुन सकेको छैन । शुक्रबारसम्म ४ लाख २७ हजार ५ सय १ नमुनाको पीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो कुल जनसंख्याको १.५ प्रतिशत हो ।

करिब ६ महिनाअघि अर्थात् गत वर्ष माघ १३ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शंकास्पद ३ जनाको घाँटीको र्‍यालको नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेर मुलुकमै कोभिड–१९ जाँच्ने प्रक्रिया सुरु गरिएको थियो । सुस्त परीक्षण प्रक्रिया सुरु भएको दुई महिनापछि जम्मा ७९३ जनाको मात्र कोरोना परीक्षण गरिएको थियो । त्यति बेलादेखि नै विज्ञहरूले परीक्षणको दायरा बढाउने व्यापक माग गरे पनि सरकारले अझै सुनेको छैन । हालसम्म गरिएको पीसीआर परीक्षणबाट २२ हजार ५ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर गरिएका नमुनाहरूमध्ये संक्रमणको दर ५.२ प्रतिशत देखिएको छ । अर्थात् एक हजार नमुनाको पीसीआर परीक्षण गर्दा ५२ जनामा कोरोना देखिएको छ ।

‘हामी (विज्ञ समूह) ले सुरुदेखि नै हरेक ठाउँमा पीसीआर परीक्षणको दायरामा व्यापक विस्तार गर्नुपर्ने बताउँदै आए पनि सरकारी निकायले खासै चासो लिएको देखिएन,’ पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्माले कान्तिपुरसँग भनिन्, ‘लकडाउनको समय खेर फालियो, परीक्षण र उपचार गर्ने क्षमता बढाइएन ।’ विज्ञहरूका अनुसार कोरोना पोजिटिभ देखिएकाहरूको व्यापक रूपमा कन्ट्याक्ट ट्रेसिङ गर्दै भीडभाड भएको ठाउँमा अधिकतम नमुना संकलन गरेर परीक्षणको दायरा विस्तार गर्नुपर्छ ।


धेरै युवाहरूमा लक्षणरहित (एसिम्प्टोम्याटिक) कोरोना देखिने गरिएकाले उनीहरूबाट अरूमा संक्रमणको विस्तारको जोखिम कम गर्न यो वर्गमा समेत परीक्षणको दायरा विस्तार गर्नुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन् । कोरोना समुदायमा संक्रमण गइसकेको अवस्था देखिन थालेकाले परीक्षणमा झन् विस्तार आवश्यक भएको दाबी गर्दै डा. शर्मा भन्छिन्, ‘तर स्वास्थ्य मन्त्रालयले विभिन्न फोरममा कोरोना समुदायमा नगएको भनिरह्यो, यसले आम जनतालाई झन् असावधान बनायो, दिनहुँ संक्रमण बढेको बढ्यै छ ।’

धनुषाका कोभिड संयोजक डा. जामुन सिंहका अनुसार मुलुकमा कोरोनाको पीसीआर परीक्षण गर्नुपर्ने ठाउँमा कम भएको छ । ‘हाल हाम्रो आईसीयू भरिभराउ छ, क्लस्टर (समूह) मा रोग छ, क्लस्टरमै परीक्षण गर्नुपर्छ,’ डा. सिंह भन्छन्, ‘तीन वटा बैंकका कर्मचारीको कोरोना परीक्षण गर्दा ३० देखि ४० प्रतिशतमा पोजिटिभ देखिएको छ ।’ उनले हाल सरकारले परीक्षणको दायरामा व्यापक विस्तार नगरेसम्म कोरोना संक्रमणको ग्राफलाई मध्यम गर्न नसकिने बताए ।

सेती प्रादेशिक अस्पताल, मेडिसिन विभाग एवं कोभिड उपचार विभाग प्रमुख डा. शेरबहादुर कमरले सरकारले परीक्षणको दायरा बढाउनुपर्ने औंल्याउँदै १० हजार जनसंख्या भएको ठाउँमा न्यूनतम ३ हजार जनासम्मको परीक्षण गर्नुपर्ने बताए । ‘पहिला आयातीत केस मात्र थियो, त्यसपछि फाट्टफुट्ट देखिन थाल्यो र हाल समूहगत रूपमा कोरोना देखिएको छ,’ डा. कमरले भने, ‘जटिल केस र संक्रमितको संख्या बढ्दै छ ।’

अर्का पूर्वस्वास्थ्य सचिव डा. प्रवीण मिश्रले अस्पतालमा कोरोना उपचारका लागि राम्रो तयारी गरिएको भए व्यापक परीक्षण नगर्दा हुने बताए । ‘तर हामी अस्पतालको पाटोमा कमजोर छौं भने र आईसीयू, भेन्टिलेटर, दक्ष जनशक्ति पर्याप्त छैन भने हामीलाई परीक्षणबाहेकको विकल्प छैन,’ डा. मिश्र भन्छन्, ‘यसले संक्रमितको पहिचान भएपछि संक्रमणको विस्तार हुन नदिन सघाउँछ ।’

सम्बन्धित समाचार :

प्रकाशित : श्रावण २५, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?