२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सुरक्षा मापदण्ड पालना गराउन टोल सुधार समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमितको पहिचान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय टोल सुधार समितिलाई परिचालन गर्ने गरी नयाँ प्रतिकार्य योजना ल्याएको छ ।

सुरक्षा मापदण्ड पालना गराउन टोल सुधार समिति

राजधानीमा संक्रमितको संख्या दैनिक बढ्दै गएको, संक्रमण पुष्टि भए पनि संक्रमित सम्पर्कमै नआएको, स्वास्थ्य र सुरक्षा मापदण्ड पालना नगरेकोलगायत कारण स्थिति थप खतराउन्मुख हुन सक्ने भन्दै काठमाडौं प्रशासनले स्थानीय प्रहरी र नगरपालिकाका वडामार्फत टोल सुधार समितिलाई परिचालन गर्न लागेको हो ।

समितिका पदाधिकारी र सदस्यलाई भीडभाड नियन्त्रण, मास्क/सेनिटाइजर प्रयोग, लुकेर बसेका संक्रमितको खोजीलगायतमा परिचालन गरिने काठमाडौं प्रशासनले जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आइतबार कोरोना संक्रमणविरुद्ध थप प्रतिकार्य योजना अनुमोदन गर्न जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठक बोलाइएको बताए । चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख, काठमाडौं महानगरका मेयर, जिल्ला समन्वय समिति प्रमुखलगायत अधिकारीसहितको बैठकले यसबारे निर्णय गर्नेछ ।

‘स्थानीय टोल सुधार समितिलाई प्रहरी र स्थानीय वडा कार्यालयसँग समन्वय गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि परिचालन गर्ने गरी कार्ययोजना बनाएका छौं,’ प्रजिअ दाहालले भने, ‘आइतबार यसकै लागि आकस्मिक बैठक नै बोलाइएको छ ।’ अब टोल सुधार समितिकै सिफारिसमा प्रशासनले एरिया सिल गर्ने उनले बताए । ‘प्रशासनले समन्वय गर्छ, स्थानीयकै माग र आग्रह अनि जोखिम मूल्यांकन गरेर एरिया सिल गर्नेदेखि निश्चित सेवा सुचारु गर्ने, नगर्नेबारे निर्णय लिन्छ,’ दाहालले भने, ‘संक्रटविरुद्ध जुध्न स्थानीयको भूमिका नै महत्त्वपूर्ण हुने देखियो ।’

आइतबार नै प्रशासनले काठमाडौंका उद्योग वाणिज्य संघ, गैरसरकारी संस्थाका प्रमुखलगायतसँग निजी र गैरसरकारी संघसंस्थाको सेवा प्रवाह र नियमनबारे छलफल गर्न बोलाएको छ । सचेतनासम्बन्धी माइकिङ, युवा परिचालन, मानवीय सहायता र समन्वय, व्यापार व्यवसाय सञ्चालनमा मापदण्ड पालनालगायत विषयमा छलफल गर्न निजी र गैरसरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरूलाई बोलाइएको प्रजिअ दाहालले बताए । यसबारे भक्तपुर र ललितपुरका प्रजिअसँग पनि समन्वय गरिने उनले बताए ।

गहना पोखरी क्षेत्र सिल

प्रहरी र स्थानीयसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं महानगरपालिका–५, हाँडीगाउँ–गहना पोखरी क्षेत्र शनिबार सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी परिसरसँग समन्वय गरेर वडा कार्यालयले टंगाल र छाते गणेशस्थानबाट गहनापोखरी हुँदै हाँडीगाउँतर्फ व्यापार–व्यवसाय, सवारी र मानिसको आवागमन अर्को निर्णय नभएसम्मका लागि रोकेको हो ।

प्रकाशित : श्रावण २५, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?