१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

माडीका जनप्रतिनिधिसँग प्रधानमन्त्री ओलीले भने, ‘राम-सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्नुस्’

रमेशकुमार पौडेल

चितवन — प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि अयोध्या नेपालमै रहेको दोहोर्‍याउँदै चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिलाई उक्त क्षेत्रमा बृहत् धार्मिक मेला लगाउन तथा राम–सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्न भनेका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालसहितको टोलीलाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर ओलीले यस्तो सुझाव दिएका हुन् ।

माडीका जनप्रतिनिधिसँग प्रधानमन्त्री ओलीले भने, ‘राम-सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्नुस्’

‘आउँदो रामनवमीमा बृहत् धार्मिक मेला गर्न तथा अर्को वर्षको रामनवमीमा राम–सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्न प्रधानमन्त्रीले सुझाव दिनुभएको छ,’ माडी नगरपालिकाले गठन गरेको अयोध्या खोज, अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलले भने ।

प्रधानमन्त्री ओलीलाई भेट्न माडीबाट नगरप्रमुख ढकालसहितको टोली काठमाडौं गएको थियो । माडी नगरका प्रवक्तासमेत रहेका वडा नं ९ का अध्यक्ष शिवहरि सुवेदीका अनुसार साँझ प्रधानमन्त्री निवासमा भएको छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको उपस्थिति थियो । माडी क्षेत्रको धार्मिक महत्त्वबारे अध्ययन गर्दै आएका लोकमणि पौडेल पनि प्रधानमन्त्री ओलीसँगको छलफलमा सहभागी थिए । उनले धार्मिक आधारहरूबाट पनि अयोध्या माडीमा पर्ने मत राख्दै आएका छन् । ‘प्रधानमन्त्रीज्यूले माडीको अयोध्यापुरी नै राम जन्मभूमि भएको आधार छ, यसलाई स्थापित गर्नुपर्छ भन्नुभयो,’ नगर प्रवक्ता सुवेदीले भने ।

प्रधानमन्त्री ओलीले ठोस प्रमाण जुटाउँदै जान र योजना बनाएर काम पनि सुरु गर्न सुझाएका छन् । ‘शास्त्रीय हिसाबले अध्ययन गर्दा माडी क्षेत्रमा नै प्राचीन अयोध्या भएका आधारहरू धेरै रहेको प्रधानमन्त्रीले हामीलाई बताउनुभयो । उहाँले खोज अनुसन्धान र कार्ययोजना बनाउन भन्नुभएको छ,’ खोज समितिका संयोजक पौडेलले कान्तिपुरसित भने । प्रधानमन्त्री ओलीले गत असार २९ गते भानु जयन्तीका अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा वीरगन्ज नजिकको ठोरीमा अयोध्या भएको बताएका थिए ।

साविक अयोध्यापुरीसहित चार गाविस गाभेर माडी नगरपालिका बनाइएको हो । खोज समितिका संयोजक पौडेल साविक अध्योध्यापुरी गाविसका अध्यक्ष हुन् । तत्कालीन अयोध्यापुरी गाविस अहिले माडी नगरपालिकाको वडा नं ८ र ९ मा पर्छ । माडी नगरपालिका–१ मा वाल्मीकि ऋषिको आश्रम पनि छ । त्यहाँ लवकुशको जन्म भएको भन्ने गरिन्छ ।

प्रधानमन्त्री ओलीले माडी–९ कुसुमखोलामा सुकुम्बासी बस्तीमा निकुञ्जले आगो लगाएको घटनाबारे पनि चासो राखेका थिए । उनले निकुञ्जको संरक्षणसँगै भूमिहीनको पनि व्यवस्थापन गर्ने आश्वासन दिएको प्रवक्ता सुवेदीले बताए ।

प्रकाशित : श्रावण २४, २०७७ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?