१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्रधानमन्त्रीका सल्लाहकारलाई नेकपा प्रवक्ताको जवाफ- 'अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौं'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विवाद हलका लागि अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पार्टी प्रवक्ता पदको इज्जत जोगाउन भन्दै सामाजिक सञ्जालमार्फत भनेको भोलिपल्ट नेकपा प्रवक्ता श्रेष्ठले त्यसको जवाफ दिएका हुन् ।

प्रधानमन्त्रीका सल्लाहकारलाई नेकपा प्रवक्ताको जवाफ- 'अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौं'

व्यक्तिगत आरोप- प्रत्यारोप वा गालीगलौजका रुपमा होइन, वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गर्न प्रवक्ता श्रेष्ठको माग छ ।

'म फेरि जोड दिएर भन्छु, हाम्रो पार्टीको आजको संकटको निकासको निम्ति जारी स्थायी कमिटीको बैठक तुरुन्त सुचारु गरौं । सबै बैठकमा उपस्थित भएर आ-आफना विचार राखौं र छलफल गरौं । त्यसबीचमा आवश्यकताअनुसार शीर्षस्थ नेताहरुको बीचमा र सचिवालयमा गृहकार्य गरौं,' उनले भनेका छन्, 'बैठकले पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र केन्द्रीय कमिटीको निर्णयअनुसार महाधिवेशनको तयारी गर्ने गरी निकास निकालौं ।'

प्रवक्ता श्रेष्ठले थपेका छन्, 'यथास्थितिमा गुणात्मक परिवर्तन कुन रुपमा कसरी गर्ने भन्ने बारेमा अहंकार र पूर्वाग्रहबाट माथि उठेर छलफल गरौं र अतिवादबाट मुक्त हुँदै आजको आवश्यकतालाई सम्बोधन गर्ने गरी निष्कर्ष निकालौं । पार्टीभित्रको बहस र अन्तसंघर्षलाई सत्यौन्मुख रुपान्तरणको साधन बनाऔं, व्यक्तिको हार र जीतको विषय होइन । पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनतालाई विजयी बनाऔं । व्यक्तिगत आरोप- प्रत्यारोप वा गालिगलौजका रुपमा होइन, वैचारिक, सैद्धान्तिक, राजनीतिक र प्रवृत्तिगत विषयमा छलफल गरौं । ’

स्थायी कमिटी सदस्य रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार रिमालले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको भूमिकालाई लिएर तीव्र असन्तुष्टि जनाएका थिए । नेकपाभित्रको पछिल्लो अन्तरसंघर्षमा प्रवक्ता श्रेष्ठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा छन् । त्यही समूहमा बसेर काम गरेको विषयलाई लिएर रिमालले प्रवक्ता श्रेष्ठमाथि टिप्पणी गरेका थिए ।

रिमालले प्रवक्ता श्रेष्ठलाई ट्विटरमा मेन्सन गर्दै विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न आग्रह गरेका थिए ।

केही दिनअघि अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल र प्रवक्ता श्रेष्ठले संयुक्त रुपमा पत्रकार भेला गरेर आफ्ना असन्तुष्टि राखेका थिए ।

प्रकाशित : श्रावण २४, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?