कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपामा तीन समूह छन्, म कतै छैन : उपाध्यक्ष गौतम

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रका कुनै समूहमा आफू नरहेको प्रष्टीकरण दिएका छन् । उनले नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल गरी तीन समूह रहेको बताए । 

नेकपामा तीन समूह छन्, म कतै छैन : उपाध्यक्ष गौतम

पार्टीमा तीनवटा विचार समूह बनेको र आफू कुनै पनि समूहमा नरहेको उनको प्रष्टीकरण छ ।

गौतमले पार्टीको अन्तरविरोध हल हुन नसक्दा यी समूह बनेको बताएका छन् । ‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा तीन वटा विचार समूह बनेका छन् । यी समूहसँग केपी ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल जोडिनु भएको छ । 'म समूहगत रुपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्नँ । तर ओली र दाहालले भेट्न बोलाउँदा जाने गरेको छु । सल्लाह सुझाव र राय पनि दिने गरेको छु । मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु । मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो,’ शुक्रबार विज्ञप्ति निकालेर गौतमले भनेका छन् ।

यद्यपि उनको ६ बुँदे प्रस्तावमा ओलीलाई पाँच वर्ष प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष बनाइराख्नुपर्ने प्रस्ताव पनि छ । अध्यक्ष भएकोले ओली र दाहाल जसले बोलाए पनि भेट्न जाने र सल्लाह, सुझाव दिने गरेको पनि गौतमले स्पष्ट गरेका छन् ।

‘पार्टी अध्यक्ष भनेको केबल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसैकारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै उहाँहरुले बोलाउँदा मैले भेट्ने गरेको छु । मैले समय–समयमा भेट गरेको बेला ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु । दाहाललाई पनि उहाँकै अगाडि आलोचना गर्ने गरेको छु । पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बेठक वा भेलालाई मैले गुट मान्दिनँ । त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छ,’ गौतमको विज्ञप्तिमा छ ।

सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाउन आफ्नो कुनै भूमिका र सरोकारको विषय पनि नभएको गौतमको दाबी छ । पछिल्लो पटक भट्टको नियुक्तिमा गौतमले चासो दिएको प्रचार भएको थियो ।

प्रकाशित : श्रावण २३, २०७७ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?