२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जसपा बैठक अझै एजेन्डाबाहिर

आगामी कार्यदिशाबारे अध्यक्ष यादवबाट साढे २ घण्टा र नेता भट्टराईबाट ३ घण्टा व्याख्या
कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टीको बिहीबारको बैठक पनि छलफलका लागि तय भएका एजेन्डामा प्रवेश गरेको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले पार्टीको सैद्धान्तिक, वैचारिक र आगामी कार्यदिशाबारेमा लामो व्याख्या गरेका थिए ।

जसपा बैठक अझै एजेन्डाबाहिर

भट्टराईले पार्टीको समुन्नत संघीय समाजवादी, यसअन्तर्गतको आर्थिक, सामाजिक आयमहरूका विषयमा प्रशिक्षण दिएका थिए । उनले पार्टीले अगाल्ने समुन्नत संघीय समाजवादीको सार आधुनिक खालको लोकतान्त्रिक समाज नै रहेको बताएका थिए । उनले यसका लागि अहिले अभ्यासमा रहेका शासकीय र निर्वाचन प्रणालीले काम नगर्ने बताएका थिए ।

भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई अंगिकार गर्नुपर्ने दृष्टिकोण अघि सारेका थिए । नेकपा र कांग्रेसले मुलुकलाई अघि बढाउन नसक्ने निष्कर्ष पनि उनले सुनाएका थिए । उनको करिब तीन घण्टाको प्रशिक्षणपछि अध्यक्ष यादवले पनि सैद्धान्तिक विषयमै दृष्टिकोण अघि सारे । उनले राज्य एकीकरणदेखि सुगौली सन्धि, राणाशासन, पञ्चायती शासन, ०४८ सालको परिवर्तन र जनआन्दोलन ०६२/६३ पछिको अवस्थाबारे साढे २ घण्टा धारणा राखेका थिए ।

शब्दाबली फरक भए पनि यादव र भट्टराईको सैद्धान्तिक दृष्टिकोण उस्तै भएको बैठकमा सहभागी एक सदस्यले बताए । जन्मकालदेखि नै कांग्रेसले संवैधानिक राजतन्त्रको वकालत गर्दै आएको र गणतन्त्र आएपछि उसको एजेन्डा नै सकिएको यादवको भनाइ थियो । कम्युनिस्टहरू प्रगतिशील भए पनि व्यवहारमा दलाल पुँजीवादकै पक्षमा उभिने गरेको उनले बताए । ‘तत्कालीन माओवादी केन्द्रका अध्यक्ष हुँदासम्म प्रचण्डबाट केही आशा राखिएको थियो तर ओलीबादमा फसेपछि उहाँबाट पनि केही हुने देखिएन,’ उनले भनेका थिए ।

दुवै नेताले जनता समाजवादी पार्टीलाई नेकपा र कांग्रेसको विकल्प बनाउने उद्घोष गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लोपटक सांस्कृतिक आक्रमणमा समेत उत्रन थालेको उनीहरूको भनाइ थियो । कार्यकारणी समितिका सदस्य केशव झाले बैठकमा प्रशिक्षण शैलीको अभ्यास नौलो भएको बताए । ‘यस्ता विचारको मन्थनले पार्टीलाई बलियो बनाउन सघाउ पुर्‍याउँछ,’ उनले बताए । अर्का अध्यक्ष महन्थ ठाकुर भने अस्वस्थताका कारण अनुपस्थित थिए ।

प्रकाशित : श्रावण २३, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?