कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभाका विषयगत समिति सभापतिमा दोहोरिए पुरानै व्यक्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाका चार वटा समिति सभापतिमा पुरानै व्यक्ति दोहोरिएका छन् । राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यअवधि पूरा भएका कारण समितिहरुको पुनर्गठन गत साता गरिएको थियो । सदस्यहरुको मनोनयनपछि सभापति चयनका लागि प्रारम्भ चुनावी प्रक्रियामा पूरानै व्यक्तिहरु निर्विरोध भएका हुन् ।

राष्ट्रिय सभाका विषयगत समिति सभापतिमा दोहोरिए पुरानै व्यक्ति

समिति सभापतिका लागि उम्मेदवारी दर्ताका लागि बिहीबार तोकिएको समयभित्र यसअघि सभापतिको जिम्मेवारीमा रहेका व्यक्तिहरुकै एक/एक जनाको नामको प्रस्ताव मात्रै दर्ता भएको छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार समिति सभापतिको निर्वाचनका लागि नाम प्रस्ताव गर्न तोकिएको समयभित्र साविककै सभापतिहरुको नामको प्रस्ताव आएको बताए । ‘१/१ जनाको नाममात्रै आएपछि उहाँहरु स्वतः सभापति हुने निश्चित जस्तै भयो,’ उनले भने ‘तर, त्यसको औपचारिक घोषणा समिति बैठकबाटै हुनेछ ।’ चार समितिमध्ये पहिले गरिएकै भागबन्डाअनुसार प्रतिपक्षी कांग्रेसले एउटा समितिको बाँकी तीनको नेतृत्व नेकपाले पाएको छ ।

दीगो विकास तथा सुशासन समिति सभापतिमा कांग्रेस सांसद तारादेवी भट्ट दोहोरिएकी छन् । विधायन व्यवस्थापनको सभापतिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारी तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) दोहोरिएकी हुन् । सम्बन्धित समितिकै सदस्यमध्ये एकजना प्रस्ताव र अर्को एकजना समर्थक भएर चार जनाको नामको प्रस्ताव राष्ट्रिय सभा सचिवालयमा दर्ता गरिएको थियो ।

प्रकाशित : श्रावण २२, २०७७ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?