मुलुकव्यापी रुपमा तत्काल लकडाउन हुँदैन : सरकारका प्रवक्ता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुलुकव्यापी रुपमा तत्काल लकडाउन हुँदैन : सरकारका प्रवक्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारका प्रवक्ता, सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकारले अहिलेको अवस्थालाई हेरेर मुलुकव्यापी रुपमा लकडाउन नगर्ने बताएका छन् । उनले जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्‍ने बताए । 

मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने तर मुलुकव्यापी रुपमा लकडाउन नहुने प्रस्ट्याए । उनले भने, 'सरकारले चैतमा घोषणा गरे जसरीको विधि अपनाएर जानेतर्फ सोचेको छैन । जोखिम बढ्यो भने स्थानीय प्रशासनले कदम चाल्न सक्छ ।'

मन्त्री खतिवडाले सरकारले परिस्थितिअनुसार लकडाउन हटाउने र आंशिक विधि अपनाएर केही खुकुलो पार्ने वा जोखिम बढेको स्थानमा कडाइ गर्न सक्‍ने बताए ।

काठमाडौंभित्र संक्रमणको जोखिम बढेकाले सिहंदरबार प्रवेशमा सर्वसाधरणलाई रोक लगाइएको मन्त्री खतिवडाको भनाइ छ । यस्तै उपत्यकामा जोरबिजोर प्रणाली संक्रमणको जोखिम बढेर नै लगाइएको उनले बताए । 'काठमाडौंभित्रको संक्रमणको जोखिम भएकाले केही कदम चाल्न थालिएको हो,' मन्त्री खतिवडाले भने, 'यसले जनजीवनमा केही असर पर्छ । तर अतिआवश्यक वा जरुरीका काम छैन भने सार्वजनिक सेवा लिने कुरामा हतार नगरौं । स्वास्थ्य जोखिममा पर्यो भने ठूलो असर हुन्छ ।' उनले स्थिति सहज हुनेबित्तिकै सिंहदरबार प्रवेश खुला हुने पनि बताए ।

यसैबीच मन्त्री खतिवडाले सरकारले आईसीयूहरुको थप विस्तार गर्ने तयारी गरिरहेको बताएका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै प्रकारका उपचारका विधिहरु अपनाउने बताए ।

प्रकाशित : श्रावण २२, २०७७ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

कार्यालयहरुमा बैठक तथा जमघट बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी कार्यालयहरुमा बैठक, गोष्ठी , सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बन्द गर्न नमिले भर्चुअल रुपमा बैठक बस्न आग्रह गरे ।

मन्त्रालयले भारतीय सीमा क्षेत्रका सीमानामा कोरोना संक्रमणको दर उच्च भएकाले प्रदेश सरकार, स्थानीय पालिका, गैरसरकारी संस्था तथा अन्य पेसा व्यवसायीका व्यक्तिलाई सावधानी अपनाउन आग्रह गरेको छ । प्रवक्ता डा गौतमले कोरोना परीक्षणको स्वाब संकलन गरेपछि कुनै पनि शंकास्पद व्यक्तिले रिपोर्ट नआउन्जेल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने बताए ।

काठमाडौँ तथा अन्य घना बस्तीमा संक्रमितको संख्या बढिरहेकोले बेड, उपकरण तथा स्वास्थ्यमकर्मी अभाव हुन सक्ने उनको भनाइ छ ।

प्रकाशित : श्रावण २२, २०७७ १७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×