२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

जाउलोको भरमै बाढीपीडित

बस्तीका कतिपय घर भत्किने स्थितिमा त कतिपय हिलाम्मे हुँदा भजनीका करिब १५ सय बाढीपीडित परिवार अझै सडक र विद्यालयमा आश्रित छन् ।
मोहन बुढाऐर

धनगढी — वर्षा रोकिएर स्थानीय मोहना, काँडा, पथरिया, कान्द्रा खोलामा जल सतह घट्दै गएको छ । बाढी पसेर डुबानमा परेका बस्तीमा समेत पानी सुक्दो छ । कैलालीको भजनी नगरपालिका–६ कृष्णनगरकी मनीषा शाही ७ दिनपछि बल्ल मंगलबार आफ्नो घरभित्र पसिन् । बाढीका कारण उनको कच्ची घर भत्कने स्थितिमा पुगेको छ ।

जाउलोको भरमै बाढीपीडित

‘घरभित्र अनाज र लत्ताकपडा सबै भिजेको छ । अझै दुई–चार दिन फर्किने स्थिति छैन,’ उनले भनिन्, ‘घरको कुनै ठाउँ ओभानो छैन । चुलोमा आगो बाल्न सक्ने स्थिति नभएपछि अझै हुलाकी सडकमै दिनरात बिताउनुपर्ने भएको छ ।’

उनको सात जनाको परिवार छ । राहतमा अझै खाद्यान्न पाउन नसकेको उनले गुनासो गरिन् । ‘घरबाटै ल्याएको भिजेको चामल खानु परिरहेको छ, राहतका नाममा बाल्टी, त्रिपाल, चाउचाउ मात्रै पायौं,’ उनले भनिन् ।

५ महिने छोरासहित २४ वर्षीया लक्ष्मी शाहीको पनि बास ६ दिनदेखि हुलाकी सडकमै छ । भिजेको चामलको जाउलो खाएर बसिरहेका छन् । ‘राहत बाँड्दै छन्, तर कता बाँड्दै छन् कुन्नि ? हामी पनि त हुलाकी सडकमै छौं, किन नदेखेको होला ?’ उनको प्रश्न थियो । मनीषाको परिवारलाई जस्तै उनलाई पनि राहतका नाममा खाद्यान्न दिइएको छैन ।

खेमराज जोशी र रञ्जित लामाको परिवारले राहत पाएको बताए पनि घर फर्कने स्थिति नभएको बताउँछन् । जोशीले घरभित्रको अनाज, लत्ताकपडालगायत सबै वस्तु काम नलाग्ने भएकाले केही महिनासम्मकै लागि राहतको व्यवस्था मिलाइदिन सरकारसँग माग गरे । ‘घरभित्रको अनाज बाढीले बगाइसक्यो, बचेको पनि खराब भइसकेको छ,’ जोशीले भने, ‘किनेर खान पैसा छैन, अब कसरी बाँच्ने ?’

डुबान भएको क्षेत्रमा पानी सुक्न थालेपछि केही विस्थापित परिवार भने घर फर्कन थालेका छन् । ‘बाढीले डुबाएको घर कतै ओभानो छैन, हिलाम्मे छ,’ भजनीकै बाढीपीडित बुद्धिराम चौधरीले भने, ‘तैपनि आगो बालेर धूवाँबाट साँप, कीरा भगाएँ, भुस्सा बिछ्याएर अलि सुक्खा बनाएर घर फर्केको छु ।’

भजनी नगरपालिका–८ का अध्यक्ष पंकज चौधरी भने सोमबारदेखि सबै परिवारलाई १०/१० किलो चामल, दाल, नुन, तेललगायत राहतका सामग्री वितरण गरिरहेको बताउँछन् । उनका अनुसार घर फर्कने क्रम जारी रहे पनि मंगलबारसम्म उक्त वडाका ५ सय जति परिवार हुलाकी सडकमा, ४४ परिवार स्थानीय कृष्णघाट माविमा र १० परिवारले अपांग भवनमा आश्रय लिइरहेका छन् ।

भजनी नगर प्रमुख शेरबहादुर चौधरीले वडा–३, ५, ६, ७ र ८ मा विस्थापित भएका १ हजार ६ सय ७१ मध्ये मंगलबारसम्म एक सय परिवार घर फर्किसकेको बताए । उनका अनुसार नगरपालिकाभर करिब १५ सय परिवार मात्रै सडक, विद्यालय र सुरक्षित आवास घरमा बसिरहेका छन् । उनले डुबानमा परेका सबै परिवारलाई एक महिनाका लागि पुग्ने खाद्यान्नसहितको राहत उपलब्ध गराउन लागिएको बताए । ‘अहिले विभिन्न संघसंस्थाबाट प्राप्त राहत वितरण भइरहेको छ,’ उनले भने, ‘अपुगलाई स्थानीय तहले खरिद गरेर दिनेछ ।’ अहिले कसैले पनि भिजेको चामल खानु नपरेको उनले दाबी गरे ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले विभिन्न संघसंस्थाबाट संकलन भएको राहत सामग्री भजनी नगरपालिकामा पठाइसकेको जानकारी दिए । उनका अनुसार ४० क्विन्टल चामल, ४ क्विन्टल दाल, ५ क्विन्टल नुन, २ सय ५० लिटर तेल, मसला, सोयाबिन, ३० थान त्रिपाल, हाइजेनिक किट ५० थानलगायत सामग्री पठाइएको छ ।

प्रकाशित : श्रावण २२, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?