‘संक्रमण तीव्र भए भेन्टिलेटर र आईसीयू पुग्दैन’

कोरोना संक्रमणको दर यही अनुपातमा बढे काठमाडौं उपत्यकामा अर्को दुई सातामा आईसीयूका सबै शय्या भरिन्छन् : चिकित्सक
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ का जटिल बिरामी बढ्दै गए उपलब्ध भेन्टिलेटर र आईसीयू शय्याले नधान्ने देखिएको छ । कोरोनाका गम्भीर बिरामीको उपचारका लागि निजी र सरकारीमा गरी ९ सय भेन्टिलेटर र १ हजार ७ सय २ आईसीयू शय्या मात्र उपलब्ध रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विज्ञहरूले संक्रमितको संख्या बढिरहेकाले थप आईसीयू र भेन्टिलेटर चाहिने बताएका छन् ।

‘संक्रमण तीव्र भए भेन्टिलेटर र आईसीयू पुग्दैन’

देशभरि बुधबारसम्म चार जना भेन्टिलेटरमा र ४६ जना संक्रमित आईसीयूमा छन् । मन्त्रालयका अनुसार हाल वाग्मती प्रदेशमा २४ जना आईसीयूमा र चार जना भेन्टिलेटरमा छन् । त्यस्तै प्रदेश २ मा १९ जना, प्रदेश ५ मा दुई जना र सुदूरपश्चिममा एक जना बिरामी आईसीयूमा छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले आईसीयूमा जाने बिरामीको बढ्दो संख्याले चिन्ता बढाएको बताए । ‘आईसीयू र भेन्टिलेटरको उपचार प्रक्रिया सहजै थेग्न नसकिने भएकाले कोरोना संक्रमणको विस्तार रोक्न थप कडा पाइला चाल्नु आवश्यक छ,’ उनले भने ।

त्रिवि शिक्षण अस्पतालका सबै आईसीयू भरिएको आईसीयू विभाग प्रमुख डा. सुवास आचार्यले जानकारी दिए । ‘कोरोना बिरामीका लागि आईसीयूको आवश्यकता देशभरि बढेको छ,’ उनले भने । कोरोना संक्रमणको दर यही अनुपातमा बढे काठमाडौं उपत्यकामा अर्को दुई सातामा आईसीयूका सबै शय्या भरिने चिकित्सकहरू बताउँछन् । डा. आचार्यले संक्रमण समुदायमा गए २ हजार आईसीयू शय्या र २ हजार भेन्टिलेटर भए पनि अपर्याप्त हुने बताए । ‘आईसीयूमा उपचार गर्न इटालीले त सकेन । सरकारको प्राथमिकतामा कहिले पनि आईसीयू परेन,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आवश्यकताअनुसार क्रमिक रूपमा आईसीयू र भेन्टिलेटर थप्ने प्रक्रिया अघि बढेको दाबी गरे । उनले आईसीयू र भेन्टिलेटरमा राख्ने अवस्था नआओस् भनेर रोकथाममै बढी जोड दिँदै आएको बताए । ‘विश्वको शक्तिशाली र स्वास्थ्य सेवामा एक नम्बरमा रहेका मुलुकहरूसमेत सबै कोरोना बिरामीलाई आईसीयू र भेन्टिलेटर सेवा दिन नसक्ने अवस्थामा पुगेको हामीले देखिसकेका छौं,’ उनले भने ।

डा. अधिकारीले कोरोनाको विस्तार समुदायमा हुन नदिन हरेक नेपालीले अत्यावश्यक अवस्थामा मात्र घरबाहिर निस्कनुपर्ने र यसरी निस्कँदा मास्क लगाएर अन्य व्यक्तिसँग दुई मिटरको दूरी कायम राख्नुपर्ने र हातको सफाइमा ध्यान दिनुपर्ने बताए । ‘यी सामान्य उपायले कोरोनाको विस्तारलाई नियन्त्रण गरेर मुलुकमा भएकै स्वास्थ्य संरचनाले अत्यावश्यक बिरामीलाई सहज रूपमा सेवा दिन सकिन्छ,’ उनले भने ।

त्यसो त कोरोना संक्रमितका लागि जनरल बेड (साधारण शय्या) को समेत अभाव हुन थालेको छ । कोरोनाकै लागि स्वास्थ्य मन्त्रालयले तोकेका लेभल १, २ र ३ का अस्पताल र प्रदेशका क्लिनिकहरूमा गरी देशभरिमा जनरल बेडको संख्या ९ हजार ८ सय ५७ छ । लेभल १, २ र ३ का अस्पताल र प्रदेशका क्लिनिकहरूमा कोरोना उपचारका लागि भनेर ४ सय ९ वटा आईसीयू शय्या र १ सय ६० वटा भेन्टिलेटर छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीको अनुसार क्रिटिकल केयर र तालिम प्राप्त कर्मचारी देशभरिका लेभल १, २ र ३ का अस्पताल र प्रदेशका क्लिनिकहरूमा गरी ४ सय २३ जना छन् । मुलुकभरिमा क्वारेन्टाइन बेडको संख्या १ लाख ९२ हजार ४ सय ७० छ । प्रदेश १ मा १२ हजार ९ सय, प्रदेश २ मा २३ हजार ५१, वाग्मती प्रदेशमा १२ हजार ९४, गण्डकी प्रदेशमा ११ हजार २ सय २०, प्रदेश ५ मा ५४ हजार ८ सय ११, कर्णाली प्रदेशमा २५ हजार २ सय ५७ र सुदूरपश्चिम प्रदेशमा ५३ हजार १ सय ३७ क्वारेन्टाइन बेड छन् ।

यस्तै देशभरिमा आइसोलेसन बेड संख्या ९ हजार ५ सय ७ छ । प्रदेश १ मा ५ सय ७, प्रदेश २ मा २ हजार ४ सय ४९, वाग्मती प्रदेशमा १ हजार ३ सय २४, गण्डकी प्रदेशमा २ सय ३५, प्रदेश ५ मा ३ हजार १ सय १९, कर्णाली प्रदेशमा १ हजार ५ सय ६१ र सुदूरपश्चिम प्रदेशमा ३ सय १२ आइसोलेसन बेड छन् ।

प्रकाशित : श्रावण २२, २०७७ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?