कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बेरुतमा कार्यरत नेपाली भन्छन् : हाम्रो भाग्य बलियो रहेछ

बेरुतमा रहेका सबै नेपाली सुरक्षित छन् : इजिप्टस्थित नेपाली दूतावास
होम कार्की

काठमाडौँ — घरको काम सकेर कोठातर्फ जानुअघि पोखराकी सरु गुरुङले रेस्टुरेन्टमा तीन जनाका लागि खाजा अर्डर गरिन् । गुरुङको साथमा  धनगढीकी सोमती तामाङ र  संगिता गुरुङ पनि थिए । खाजा अर्डर गरेर रेस्टुरेन्ट बाहिर मात्रै निस्किएकी थिइन्, एक्कासि ड्याम्म ठूलो आवाज आयो । थरर जमिन हल्लियो । भवनको झ्यालबाट सिसाहरु फुटेर बाहिर निस्कियो ।

बेरुतमा कार्यरत नेपाली भन्छन् : हाम्रो भाग्य बलियो रहेछ

सरुको खुट्टा लगलग काम्न थाल्यो । एकैछिनमा सिसा र बालुवा मिसिएको तुफान आयो । रेस्टुरेन्टभित्रबाट रुँदै कराउँदै मान्छेहरु बाहिर निस्किए । ‘मेरो त हंशले ठाउँ नै छोडिसकेको थियो । हामी तीन जना एउटै भएका थियौं,’ मंगलबार साँझको दृश्य सम्झिँदै गुरुङले टेलिफोनमा भनिन्, ‘सबैको ओठ सुकेको थियो । भागदौड मच्चिन थाल्यो । हामी त एक पाइला पनि अगाडि बढ्न आँटै आएन ।’

हावासँगै जोडले आएको सिसाहरुले उनीहरुको शरीरमा लाग्यो । सबै झ्यालहरुमा लगाएका सिसाहरु ग्यासवाला भएकाले उनीहरु जोगिए । चकनाचुर भएको सिसाले शरीरमा कतै घोपेन । उनीहरु बेरुत (लेबनानको राजधानी)को अग्लो स्थानमा रहेका हाम्रामा थिए । जमिनबाट एकैछिनपछि उठेर टाउको घुमाउँदा आकाशतिर आगोको मुस्लो उडिरहेको देखे ।

पछि बुझ्दै जाँदा उनले थाहा पाइन, उनीहरु रहेको भन्दा ५ मिनेटको दूरीमा रहेको बेरुतको बन्दरगाहामा राखिएको झन्डै २७ सय ५० टनको विस्फोटक पर्दाथ (एमोनियम नाइट्रेट) राखिएको गोदाममा विस्फोट भएको रहेछ । उनी घटनास्थल नजिकै रहेको जापानी नागरिकको घरमा काम गर्थिन् । ‘बन्दरगाहको छेउमै हाम्रो जापानी मालिकको अपार्टमेन्ट थियो । त्यसमा म पार्टटाइमरको रुपमा नियमित काम गर्थें । उनीहरु मंगलबार बिहान जापान गएपछि छुट्टी मिलेको थियो । विस्फोट हुने समयमै मेरो काम पर्दथ्यो,’ उनले भनिन्,‘जापानबाट मेरो मालिक्नीले फोन गरेपछि मात्रै थाहा भयो कि हाम्रो भाग्य बलियो रहेछ । उनीहरु बस्ने फ्ल्याट पूरै ध्वस्त भएछ ।’

तस्बिर : रोयटर्स

बन्दरगाहकै छेउमा रहेको फोर सिजन होटल, फिनिसिया र स्टार कम्पनीमा कार्यरत ३३ जना नेपाली सुरक्षित छन् । फोर सिजनमा कार्यरत रुपेश गिरीले विस्फोटको समयमा होटलभित्रै काम गरिरहेको वबताए । होटलमा १० जना नेपाली काम गर्थे । ‘म र साथीहरु होटलभित्रै काम गरिरहेका थियौं । एक्कासि भएको विस्फोटले होटललाई क्षति पुऱ्यायो तर होटलमा मानवीय क्षति भएन,’ १० वर्षदेखि बेरुतमा कार्यरत गिरीले भने, ‘सबै नेपाली सुरक्षित छौं ।’

उनका अनुसार बन्दरगाहको वरिपरि नेपाली काम गर्ने भए पनि बन्दरगाहमा कोही नेपाली छैनन् । ‘बन्दरगाह र विमानस्थलभित्र नेपालीलाई काम गर्ने अनुमति नै छैन’, उनले भने,‘त्यही भएर त्यहाँ एक जना नेपाली परेका छैनन् भन्नेमा म ढुक्क छु ।’

तस्बिर : रोयटर्स

उनले समुन्द्री छेउमा भएकोले विस्फोटबाट निस्किएको आधी धक्कामात्रै बेरुततिर आएको र आधा समुन्द्री भागतिर गएको देखिएको बताए । उनको होटलको छेउमै रहेका फिनिसिया होटलमा कार्यरत १५ जना नेपाली पनि सुरक्षित छन् । स्टार कम्पनीमा कार्यरत डिल्ली पौडेलले विस्फोटको समयमा आफूहरु कोठामा पुगिसकेको हुँदा सुरक्षित भएको बताए । ‘विस्फोट हुनुअघि हामी ड्युटी सकेर कोठामा पुगेका थियौं । केही भएन । हामी कार्यरत स्टार कम्पनी व्यावसायिक भवन हो । भवनभित्रका सबै कार्यालयहरुमा क्षति पुगेको छ’, उनले भने,‘विस्फोट भएपछि भवनमा आएर रेखदेख गरिरहेका छौं । जति डर राति नै भयो । अहिले स्थिति सामान्य देखिएको छ ।’

तस्बिर : रोयटर्स

गैरआवासीय नेपाली संघ लेबनानका पूर्वअध्यक्ष समेत रहेका पौडेलले विस्फोटबाट कोही नेपाली पनि घाइते नभएको बताए । ‘बेरुतमा पहिलाजस्तो नेपाली छैनन् । घरेलु कामदारहरु बढीजसो गाउँमै छन् । बन्दरगाहवरिपरि त हामी तीन वटा कम्पनीमा कार्यरत नेपाली मात्रै हौं । अहिले हामी सबै एकअर्काको सम्र्पकमा छौं,’ उनले भने ।

९ वर्षदेखि बेरुतमा कार्यरत इटहरीका कुमारी लिम्बूले आफूलाई घरको सिसाले लागे पनि कुनै चोट नलागेको बताइन् । ‘घर थरर थर्किने गरी विस्फोटको आवाज आयो । घरको सिसा पनि फुटेर लाग्यो । चोट कतै लगेन’, उनले भनिन्,‘मेरो साहुसाहुनीले पनि आत्तिनु पर्दैन भनेपछि ढुक्क भयो । बेरुतमा रहेका दिदीबहिनीलाई सम्पर्क गर्दा पनि कसैलाई केही भएको छैन भनेर खबर दिएका छन् ।’

तस्बिर : रोयटर्स

गैरआवासीय नेपाली संघ, लेबनानका कोषाध्यक्ष हेम मगरका अनुसार लेबनानभरि झन्डै १२ सय नेपाली कार्यरत छन् । ‘मेरो रातिको ड्युटी थियो । रातभरि म सुतेको छैन । जतिले फोन गरेका छन् । सबैको स्थिति राम्रो छ’, उनले भने,‘डराउनु पर्ने अवस्था छैन ।’

लेबनान मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासले नेपालीहरु सुरक्षित रहेको जनाएको छ । ‘प्रारम्भिक सूचनाअनुसार नेपालीलाई कुनै असर परेको देखिन्न’, दूतावासका प्रवक्ता सुजन विडारीले भने,‘हामीले निकै नजिकबाट सूचनाहरु लिइरहेका छौं ।’

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार विस्फोटमा परी ७८ जनाको ज्यान गइसकेको छ भने करिब ४ हजार घाइते भएको छ । मृत्यु हुने अधिकांश बन्दरगाहभित्र कार्यरत छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २१, २०७७ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?