१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘हटस्पट’ मा आइसोलेसन अभाव

प्रदेश १ र २ मा सीमावर्ती सहरका अस्पतालको आइसोलेसन कक्ष भरिएर संक्रमितले भर्ना पाउनै गाह्रो
प्रदेश ब्युरो

काठमाडौँ — कोरोना संक्रमणसँगै अस्पतालहरूमा बिरामीको चाप बढेको छ । खासगरी ‘हटस्पट’ मा परिणत भएका सीमावर्ती सहरका अस्पतालमा आइसोलेसन कक्षहरू भरिभराउ छन्, जसले गर्दा संक्रमितलाई उपचारको अभाव हुन थालेको छ ।

‘हटस्पट’ मा आइसोलेसन अभाव

संक्रमणको बढ्दो दरलाई आकलन गर्दा मुलुकभरका अस्पतालको मौजुदा क्षमताले बिरामीको चापलाई थेग्न सक्ने देखिँदैन । यो अवस्थामा संक्रमण थपिँदै गए मुलुकमा स्वास्थ्य संकटले अर्को महामारीको रूप लिने संकेत तथ्यांकहरूले देखाइरहेका छन् ।

प्रदेश २ का आइसोलेसनमा बेहाल

संक्रमण तीव्र फैलिरहेको प्रदेश २ मा कोभिड अस्पताल भरिभराउ छन् भने त्यहाँको अस्तव्यस्तताले बिरामीलाई उपचार नपाउने अवस्थामा पुर्‍याएको छ । प्रादेशिक अस्पताल जनकपुर परिसरमै रहेको नर्सिङ कलेजको भवनमा बनाइएको ५० शय्याको आइसोलेसनमा न्यूनतम सुविधासमेत छैन, जहाँ उपचार नै नपाइने भएपछि अधिकांश संक्रमित घरमै बसिरहेका छन् । ‘यसबारे नारायणी अस्पतालका मेसुलाई जानकारी गराएका छौं । यो महानगरपालिकाले व्यवस्थापन गर्ने हो,’ चार दिनअघि मात्रै ३२ संक्रमित भेटिएको स्थानीय मिना बजारका शत्रुघन साह भन्छन्, ‘तर, कुनै सुनुवाइ भएको छैन ।’ वीरगन्ज–११ स्थित श्रीपुर स्कुलमा गत साउन १५ मा २ सय ५२ जनाको स्वाब संकलन गरिएको थियो, तीमध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि भयो । अस्पतालमा उपचार नहुनाले वडाको पछिल्लो रिपोर्ट आएको दुई दिन बितिसक्दा पनि अझै १२ संक्रमित घरमै छन् ।

साउनयता मात्रै पर्सामा ४ सय ५५ संक्रमित थपिए । जसमध्ये १ सय ४२ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा ५८ र अस्थायी कोरोना अस्पताल वीरगन्ज हेल्थ केयरमा ३७ संक्रमितलाई राखिएको छ । बाँकी विभिन्न आइसोलेसन सेन्टरमा छन् । संक्रमितको चाप बढ्दै गएपछि प्रदेश सरकारले ५ सय बेडको थप आइसोलेसन बनाउने घोषणा गरेको छ भने गैरसरकारी संस्था सानो पाइलाले मंगलबारदेखि सेना, प्रहरीका लागि ४० बेडको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार अर्को कोभिड अस्पताल तथा सामुदायिक आइसोलेसन सेन्टर सञ्चालनको तयारी भइरहेको छ ।

जनशक्ति अभाव

सप्तरीमा संक्रमितको संख्या २६ सम्म पुग्दा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजकै ओपीडी कक्षलाई आइसोलेसनका रूपमा राखिएको थियो । जेठको पहिलो साताबाट संक्रमितको संख्या बढ्न थालेपछि आइसोलेसन कक्ष भरियो । राजविराज–२ स्थित साविकको साइकृष्ण मेडिकल कलेजको पुरानो भवनमा कोभिड अस्पताल राख्ने निर्णय गरियो । सुरुमा एक सय शय्याको उक्त कोभिड अस्पतालमा ७८ शय्या थप गरिएको छ । पछिल्लो समय राजविराज नगरपालिकासहित पूरै जिल्ला हटस्पट बन्दै गएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष, ओपीडी, इन्डोर, गाइनोलगायतको सेवा पनि सञ्चालन गर्नुपर्ने र आइसोलेसनमा पनि स्वास्थ्यकर्मी खटाउनुपर्ने स्थितिका कारण जनशक्ति अपुग भएका छन् ।

आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीलाई १५ दिन काम गरिसकेपछि क्वारेन्टाइनमा दुई साताका लागि पठाउने गरिएको छ । जसका कारण गजेन्द्रनारायण सिंह अस्पताल र कोभिड अस्पताल दुवै सञ्चालन गर्न स्वास्थ्यकर्मी अभाव भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रञ्जितकुमार झाले बताए । ‘यो ५० शय्या क्षमता दरबन्दीको अस्पताल हो । अहिले १ सय ४० शय्याको सेवा दिइरहेका छौं,’ उनले भने, ‘आइसोलेसनमा थप पठाउनुपर्ने भएकाले जनशक्तिको पूर्ण अभाव छ ।’ कोरोना संक्रमितको स्वास्थ्य अवस्था खराब भए गजेन्द्रनारायण सिंह अस्पतालमा भेन्टिलेटर छैन । दुई महिनाअघि नै भेन्टिलेटर आइसके पनि कोठा नहुँदा जडान गर्न नसकिएको मेसु डा. झाले बताए ।

५० भेन्टिलेटर किनिँदै

प्रदेश २ सरकारले अस्पतालहरूमा ५० वटा भेन्टिलेटर थप्न लागेको छ । यसका लागि तयारी गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासमा कोभिड–१९ रोकथाम कार्यक्रममा संक्रमण बढ्न नदिन प्रदेश सरकारले नयाँ रणनीति पनि ल्याएको उनले जानकारी दिए । प्रदेश २ मा रहेका ९ वटा भेन्टिलेटर पर्याप्त नहुँदा अस्पतालले बिरामीलाई धरान र काठमाडौं रेफर गर्छन् ।

उता प्रदेश १ को विराटनगरस्थित कोसी अस्पतालको कोभिड उपचार केन्द्रमा संक्रमितको चाप बढ्दो छ । ५० शय्याबाट ६३ पुर्‍याएकामा मंगलबार साँझसम्म ६२ संक्रमित भर्ना भएका केन्द्रका इन्चार्ज डा. दीपक सिग्देलले बताए । निजी अस्पतालका संक्रमित चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई आफ्नै अस्पतालमा आइसोलेसन बनाएर राख्ने अनुमति दिइएको छ । न्युरो अस्पतालले ३ जनालाई आफ्नै आइसोलेसन वार्डमा राखेको छ । विराटनगर अस्पताल र नोबेल शिक्षणले पनि तयारी थालेका छन् । उपचार केन्द्रमा लेभल–२ श्रेणीको स्तरको सेवा दिन ५ वटा भेन्टिलेटर भए पनि चलाउने प्राविधिक जनशक्तिको अभाव रहेको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए । ‘आईसीयू, भेन्टिलेटर सेवा सञ्चालन गर्ने कन्सल्ट्यान्ट चिकित्सक भए पनि दक्ष जनशक्तिको अभाव भयो,’ उनले भने ।

सुन्दरहरैंचा नगरको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १ सय २५ शय्याको आइसोलेसन अस्पतालमा मंगलबार साँझसम्ममा १ सय १९ जनालाई भर्ना गरिएको छ । यो अस्पताल लेभल–१ को भए पनि लक्षण देखिएका बिरामी भर्ना हुने गरेको अस्पतालका फोकल पर्सन नवीन भट्टराईले बताए । ‘संक्रमित भर्ना गर्ने क्रममा स्थानीय तहहरूले कुनै लक्षण नदेखिएको भन्दै ढाँटेर पठाउने गरेकाले समस्या भएको छ,’ उनले भने । यहाँ ३ चिकित्सक, ४ नर्स, सहयोगी कर्मचारीलगायत १९ जनाको टोली खटिएको उनले बताए । अक्सिजनको व्यवस्था नरहेकाले त्यसको व्यवस्थापनमा जुटेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

धरानको बीपी प्रतिष्ठानमा लेभल–३ को एक सय शय्याको कोभिड–१९ अस्पताल सञ्चालनमा छ । यहाँ आइसोलेसन वार्ड र कोभिड–१९ अस्पताल छुट्टाछुट्टै सञ्चालन गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । ‘आइसोलेसनमा ७० र कोभिड–१९ मा एक जना आईसीयूमा र दुई जना लक्षण देखिएका बिरामी भर्ना छन्,’ उनले भने, ‘बच्चा, गर्भवती आमा, लेबर रुम, डायलसिस, सिटी स्क्यानसहितको कोभिड–१९ अस्पतालमा अहिले ८ वटा भेन्टिलेटर छ ।’ प्रदेश १ को जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेशमा दैनिक थपिएको संक्रमितको संख्यासँगै व्यवस्थापनमा चुनौती थपिएको बताए । ‘संक्रमितको संख्या बढेसँगै मेची अस्पतालमा पनि ३० शय्याको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ,’ उनले भने । विराटनगरमा निजी अस्पतालले आफ्ना कर्मचारी संक्रमित हुँदा आफैं आइसोलेसन वार्डको व्यवस्थापन गरेकाले समस्या नभएको उनको भनाइ छ ।

प्रदेश ५ का अस्पताल र आइसोलेसन रित्तै

काठमाडौं उपत्यका, प्रदेश १ र २ मा संक्रमित फेला पर्ने क्रम बढिरहँदा प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा भने चाप घटेको छ । एक महिना अघिसम्म कोरोना हटस्पटका रूपमा रहेको प्रदेश ५ मा अहिले संक्रमितको निकै संख्या घटेको छ । भारतबाट आएर क्वारेन्टाइनमा बस्नेको संख्यामा घटेपछि यहाँ परीक्षणको दायरा खुम्चिएको हो । सरकारको निर्देशिकाअनुसार १४ दिन क्वारेन्टाइन र आइसोलेसनमा बसेका व्यक्तिलाई घर पठाइएपछि अहिले धेरै जिल्लाका क्वारेन्टाइन र आइसोलेसन सेन्टर बन्द भइसकेका छन् । प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल छन् । प्

देश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार दिउँसोसम्म बुटवलस्थित कोरोना विशेष अस्पतालको आईसीयूमा ४ र सामान्यतर्फ २ बिरामी उपचाररत छन् । भैरहवाको कोरोना विशेष भीम अस्पतालमा बिरामी छैनन् । दाङको बेलझुन्डी कोरोना विशेष अस्पतालमा सामान्य बेडमा ८ जनाको उपचार भइरहेको छ । बाँके खजुराको क्यान्सर अस्पतालमा २४ जना छन् । कोरोना विशेष अस्पतालबाहेक विभिन्न जिल्लामा आइसोलेसनमा रहेका बिरामीको संख्या पनि घटेको छ । रूपन्देहीका १७ आइसोलेसन सेन्टरमध्ये अहिले ६ वटा सञ्चालनमा छन् । पश्चिम नवलपरासीका ५ आइसोलेसन सेन्टरमध्ये एउटा चालु छ । पाल्पाका २५ आइसोलेसन सेन्टरमध्ये अहिले एउटा मात्र सञ्चालनमा छ । दाङका ७ वटा आइसोलेसन सेन्टरमध्ये चालु अवस्थाका २ सेन्टरमा २० जना बिरामी उपचाररत छन् ।

अर्घाखाँचीका ६ आइसोलेसन सेन्टरमध्ये २ वटा चालु छन् । बर्दियाका ११ आइसोलेसन सेन्टरमध्ये ६ वटा सञ्चालनमा छन् । प्यूठानमा रहेका ११ आइसोलेसन सेन्टरमध्ये २ वटा मात्रै सञ्चालनमा छन् । रुकुम पूर्वको एउटा आइसोलेसन सेन्टरमा बिरामीको संख्या ७ रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा छ । सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा स्वास्थ्य चिकित्सा सेवा महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले भने ‘अवस्था सामान्य छ तर सावधानी र सतर्कता उत्तिकै जरुरी छ ।’

चितवन र हेटौंडाका आइसोलेसन वार्डमा पनि बिरामीको चाप छैन । हेटौंडामा ३५ बेडको आइसोलेसन वार्ड छ । चितवनमा १२ दिनयता संक्रमित भेटिएका छैनन् । हेटौंडा–४ श्रमिक माविको आइसोलेसनमा ७ जना उपचाररत छन् । वार्डका इन्चार्ज भोला चौलागार्इंले भने, ‘सुरु–सुरुमा क्वारेन्टाइनमा राख्नुपर्नेलाई पनि यहीँ राखेकाले समस्या थियो, अहिले त्यस्तो छैन ।’ चितवनको प्रयोगशालामा भएको परीक्षणमा साउन ९ यता संक्रमित देखिएका छैनन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार साउन ९ यता चितवन भित्रका १ हजार २ सय ७३ नमुना परीक्षण गर्दा संक्रमित देखिएनन् । संक्रमितको उपचारका लागि भरतपुर अस्पताल, भरतपुरको कोरोना विशेष अस्थायी अस्पताल र माडी नगरपालिकाले माडी क्याम्पसमा राखेको आइसोलेसन वार्ड प्रयोग गरिएको थियो । कोरोना विशेष अस्थायी अस्पताल असार १ गतेदेखि बन्द छ ।

उता, कर्णाली प्रदेशका दुई ठूला अस्पतालमा पर्याप्त आइसोलेसन बेड भए पनि बिरामीको चाप घट्दो छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालका सबै बिरामी डिस्चार्ज भएका छन् भने सुर्खेतस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा १३ जना उपचारमा छन् । अस्पतालमा २ सय आइसोलेसन बेड छन् भने कोरोनाका बिरामीका लागि ५ वटा आईसीयू र २ वटा भेन्टिलेटर रहेको अस्पतालका फोकल पर्सन डा. प्रदीप न्यौपानेले बताए । अस्पतालले १ सय २० बेडको आइसोलेसन वार्ड तयार गरेको छ । जुम्लामा आइसोलेसन मात्र होइन, क्वारेन्टाइन पनि खाली छन् ।

सुदूरपश्चिमका १३ अस्पतालमा संक्रमितको उपचार गर्ने व्यवस्था छ । प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीका अनुसार प्रदेशका ९ वटै जिल्ला अस्पताल, कैलालीको मालाखेती र टीकापुर, दार्चुलाको गोकुलेश्वर अस्पतालमा संक्रमितको उपचार हुने गरेको छ । मंगलबारसम्म प्रदेशभरि संक्रमितको संख्या ४ हजार ६ सय ९१ छ । प्रदेशमा ३ सय १२ आइसोलेसन बेड छन् । सेतीमा १० र महाकालीमा ८ गरी १८ आईसीयू बेड छन् । तर महाकालीमा जनशक्ति र उपकरण नहुँदा आईसीयू सेवा अझै सञ्चालनमा आउन सकेको छैन । प्रदेशमा अहिले सेती प्रादेशिक अस्पताल र डडेलधुरा अस्पतालमा पीसीआर मेसिनबाट परीक्षण भइरहेको छ ।

प्रदेशभरि सेती र डडेलधुरा गरी दुई अस्पतालमा ८ वटा मात्रै भेन्टिलेटर छन् । निर्देशनालयका अनुसार २० थान भेन्टिलेटर खरिद प्रक्रियामै छ ।

लक्षण नदेखिए पनि आईसीयूमा

गण्डकी प्रदेशको कोरोना विशेष अस्पतालमा लक्षण नदेखिएका संक्रमितलाई समेत आईसीयूमा राखिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षेत्रीय अस्पतालमा आइसोलेसन वार्ड भरिएपछि लक्षणबिनाकै ३ संक्रमितलाई आईसीयूमा राखिएको हो । अस्पतालमा ३४ संक्रमित छन् । ३० बेडको आइसोलेसन भरिएको छ ।

१० बेडको आईसीयूमा ४ जना छन् । अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले आइसोलेसनमा चाप बढी भएपछि संक्रमितलाई आईसीयूमा राखिएको बताए । अस्पतालमा हाल २ भेन्टिलेटर छन् । प्रदेशभर १ सय ३७ आईसीयू र ५९ भेन्टिलेटर छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबारसम्म प्रदेशमा संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको छ । आइसोलेसनमा १ सय ८३ जना छन् । संक्रमितमध्ये ९७.२२ प्रतिशतमा लक्षण देखिएको छैन ।

परीक्षण बढाउन स्वाब संकलन केन्द्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा परीक्षणको दायरा बढाउन १४ वटा अस्पतालसहित सबै हब अस्पताल तथा कोभिड क्लिनिक अस्पतालमा स्वाब संकलन केन्द्र स्थापना गरेको जनाएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै ती अस्पतालमा बिहान ९ देखि १ बजेसम्म स्वाबको नमुना संकलन हुने जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले मापदण्डमा परेकाहरूको परीक्षण निःशुल्क गरिने बताए । मन्त्रालयका अनुसार पाटन अस्पताल, सिभिल, त्रिवि शिक्षण, टेकु, वीरेन्द्र, स्टार, नेपाल प्रहरी, भक्तपुर, केएमसी, वीर, सशस्त्र प्रहरी, ह्याम्स, नेपाल–कोरिया मैत्री अस्पताल र प्रसूति गृहलाई स्वाब संकलन केन्द्रका लागि तोकिएको हो । त्यसैगरी सम्पूर्ण हब अस्पतालहरू, कोभिड क्लिनिक अस्पतालहरू, कोभिड अस्पताल लेभल १, २, ३ अस्पतालहरूमा पनि स्वाब परीक्षण गरिनेछ । मन्त्रालयले काठमाडौंमा कोभिड संक्रमण बढिरहेकाले शंकास्पद बिरामीको सम्पर्कमा रहेका र जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरूलाई नजिकैको पायक पर्ने केन्द्रमा स्वाब संकलन गराउन आग्रह गरेको छ । स्वास्थ्य सुरक्षा अपनाउन र चाडपर्वहरू घरमै बसी मनाउन पनि मन्त्रालयले अपिल गरेको छ ।

-भूषण यादव (वीरगन्ज), सुनीता बराल (महोत्तरी) र अवधेशकुमार झा (सप्तरी), सन्जु पौडेल (रूपन्देही), मधु शाही (बाँके), दीपक परियार (पोखरा), प्रताप विष्ट (हेटौंडा), रमेशकुमार पौडेल (चितवन), देवनारायण साह (मोरङ), चाँदनी कठायत (वीरेन्द्रनगर), एलपी देवकोटा (जुम्ला) र चित्रांग थापा (धनगढी)

प्रकाशित : श्रावण २१, २०७७ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?