कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

अन्तर्राष्ट्रियतर्फ २५ र आन्तरिकतर्फ ३३ प्रतिशत उडान सञ्‍चालन गर्ने तयारी

सुरज कुँवर

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले भदौ १ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक २५ प्रतिशत अन्तर्राष्ट्रिय र ३३ प्रतिशत आन्तरिक उडान सञ्‍चालन गर्ने तयारी गरेको छ ।

अन्तर्राष्ट्रियतर्फ २५ र आन्तरिकतर्फ ३३ प्रतिशत उडान सञ्‍चालन गर्ने तयारी

वायुसेवाका प्रतिनिधि र प्राधिकरणका अधिकारीहरुबीच हालै भएको छलफलमा भदौ १ गतेदेखि ३३ प्रतिशत आन्तरिक उडान र २५ प्रतिशत अन्तर्राष्ट्रिय उडान सञ्‍चालन गर्ने प्रारम्भीक सहमति भएको प्रवक्ता राजकुमार क्षत्रीले बताए । ‘यो अन्तिम निर्णय होइन । केहि हेरफेर हुनसक्छ । तर, अब हुने उडान सञ्‍चालनको अनुमती सीसीएमसीबाट नभई प्राधिकरणले गर्ने भएकाले प्रारम्भीक रुपमा आन्तरिक ३३ र अन्तर्राष्ट्रिय २५ प्रतिशतमात्रै खुला गर्ने कुरा भएको छ,’ प्रवक्ता क्षत्रीले भने ।

आन्तरिकतर्फ ३३ प्रतिशत उडान सञ्‍चालन भएमा भदौ पहिलो साता सुगम रुटमा उडान गर्ने चार वटा वायुसेवामध्ये दैनिक बुद्ध एयरले १७, यति एयरलायन्सले ११, श्री एयरलायन्सले ८ र सिम्रिकलाई २ वटा उडान गर्ने छन् ।

विमानस्थलका निर्देशक देउचन्द्र लाल कर्णको संयोजकत्वमा गठित कमिटीको छलफलमा सहभागी एक वायुसेवा प्रतिनिधिका अनुसार, दुर्गम उडान अर्न्तगत तारा एयरले ३, सीताले ३ र समिटले ३ वटा उडान गर्ने छन् । नेपाल वायुसेवा निगम छलफलमा सहभागी नभएकाले उसले दैनिक कतिवटा उडान गर्ने टुंगो लागिसकेको छैन । ५ वटा चिनियाँ जहाज ग्राउन्डेड गरेपछि अब उसँग दुइटा टुइनअटरमात्रै बाँकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिकतर्फ प्रति घन्टा ३ सय यात्रुलाई मात्रै सेवा दिन सकिने जनाएको छ । ‘डोमेस्टिक भवनमा ६ सय सिट छन् । तीमध्ये एउटामा बस्ने र अर्काे छाड्ने गरे ३ सय सिट बाँकी रहन्छन्,’ छलफलमा सहभागी एक अधिकारीले भने, ‘संक्रमण फैलिन नदिन प्रति घन्टा ३ सय यात्रुलाई मात्रै सेवा दिन सकिने भएकाले ३३ प्रतिशतमात्रै उडान अनुमती दिने प्रस्ताव गरेका हौं ।’

नियमनकारी निकाय, विमानस्थल र वायुसेवा कम्पनीका प्रतिनिधिले भदौ पहिलो साताको उडान समिक्षा गर्दै दोस्रो सातादेखि उडानबारे अर्को नियम बनाउने भनेका छन् । तर, केहि वायुसेवा कम्पनीले उडान अनुमति लिने तर उडान संख्या भने न्यून गर्नेलाई अनुमति लिएका आधारमा ३३ प्रतिशत उडान संख्या दिइने विषयमा आपत्ति हुने भनेका छन् । वायुसेवा कम्पनीले चैतअघि कूल अनुमति लिएका उडान संख्याको आधारमा नभई उडान गरेको संख्याका आधारमा ३३ प्रतिशत दिइनु पर्ने भनेका छन् । विमानस्थल र बसमा सामाजिक दुरी कायम गरिने भएपनि जहाजमा भने सबै सिटमा यात्रुलाई राखिने छ ।

आन्तरिकतर्फ सामान्य अवस्थामा दैनिक ३ सयदेखि चार सय ५० हाराहारी (टेक–अफ तथा ल्याण्डिङ) उडान हुन्थे । तर, भदौ १ गतेदेखि उडान सञ्‍चालन हुने भनिएपनि बढ्दो कोभिडका कारण बुकिङ अत्यन्तै कम भएको एक वायुसेवा कम्पनीका अधिकारीले कान्तिपुरलाई बताए । उनले हाल कोरोनाको प्रकोप देखिएका सहरमा भने सरकारको निर्देशन अनुसार, उडान तत्काल नहुने पनि जनाए ।

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने ३० वटा वायुसेवा कम्पनी छन् । सोमबारसम्म १२ वटा विदेशी वायुसेवा कम्पनीले उडानका लागि अनुमति मागेको प्रवक्ता क्षत्रीले बताए । उनीहरुले सातामा १ सय ५८ वटा उडान गर्न सकिने जनाएका छन् । ‘अन्तर्राष्ट्रिय वायुसेवाले उडान अनुमति माग्‍ने क्रम जारी नै छ, अहिले एकिन भन्न सकिदैन,’ प्रवक्ता क्षत्रीले भने ।

अन्तर्राष्ट्रिय टर्मिनलको क्षमता १४ सय यात्रुको हो । यहाँ दैनिक ५० देखि ६० हाराहारी अन्तर्राष्ट्रिय उडान हुन्थे । सरकारले नियमित उडान अर्न्तगत चैत ९ गतेदेखि आन्तर्राष्ट्रिय र चैत ११ देखि आन्तरिक उडानमा रोक लगाएको थियो । तर, त्यसयता एक हजार भन्दा बढी चार्टर उडान भइसकेका छन् । ती उडानबाट करिब ५० हजार यात्रुले सेवा लिइसकेका छन् । कार्गोतर्फ कम्तीमा ८ लाख ९७ हजार किलोग्राम निर्यात तथा ७ लाख ९१ हजार किलोग्राम कार्गो आयत भएको विमानस्थलको तथ्यांकमा देखिन्छ ।

प्रकाशित : श्रावण २०, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?