स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न देउवाको माग - समाचार - कान्तिपुर समाचार

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न देउवाको माग 

'अनसनरत युवाको माग पूरा गरी जीवन रक्षा गरियोस्'
जगदीश्वर पाण्डे

काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा आयोजना गरेको स्वास्थ्य विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन समितिका सदस्यहरु र विभिन्न पार्टीका राजनीतिज्ञहरुसँगको छलफलमा देउवाले ७ बुँदे सुझाव र माग पेश गरेका हुन् । 

देउवाले छलफलपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले राजनीतिज्ञहरुलाई बोलाएर छलफल गर्नुभन्दा परीक्षणको दायरा बढाउने, क्वारेन्टिन राम्रा बनाउने र स्वास्थ्य विज्ञहरुसँग सल्लाह गरेर काम गर्नु पर्ने पनि बताएका छन् ।

यस्ता छन्, देउवाले पेश गरेको ७ बुँदे सुझाव र मागहरू :

(१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कारबाही गरियोस् ।

(२) नेपाली कांग्रेसले विगतदेखि नै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउँछु :

  • आरडीटी परीक्षण स्थायी रुपले अन्त्य ।
  • सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।
  • स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि र सामाग्रीको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।
  • मापदण्डअनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र व्यवस्थापन ।
  • विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परीक्षणपश्चात् घर पुर्‍याउने व्यवस्था ।
  • नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सीमा नाका सिल ।
  • सुरक्षाका लागि मास्क लगाउने अनिवार्यतासँगै चेतनामूलक अभियानमा आमसंचारका माध्यमको व्यापक प्रयोग ।

(३) परिस्थितिअनुरुपका रणनीति निर्माण गर्न विज्ञहरुसँग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

(४) विभिन्न दल, संघसंस्था र आमसंचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

(५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

(६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

(७) वर्ग, क्षेत्र र परिस्थिति हेरी राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन व्यवस्थित ढंगले गरियोस् ।

प्रकाशित : श्रावण २०, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय सभाका समिति सभापतिमा नेकपाले पुरानालाई दोहोर्‍याउने, कांग्रेस अनिर्णित

जयसिंह महरा

काठमाडौँ — सत्तारुढ नेकपाले राष्ट्रिय सभाका विषयगत समिति सभापतिमा पुरानालाई नै निरन्तरता दिने भएको छ । राष्ट्रिय सभाका चार विषयगत समितिभध्ये तीन समिति सभापतिमा आफ्नो पक्षका सांसद र एउटा समितिको सभापति प्रमुख प्रतिपक्षी कांग्रेसलाई दिने पनि नेकपाभित्र सहमति बनेको हो । 

राष्ट्रिय सभामा सत्तारुढ दलका नेता दिननाथ शर्माले पार्टीभित्र यसअघिका सभापतिहरूलाई नै दोहोर्‍याउने समझदारी भएको बताए । 'समिति सभापतिमा नेकपाको पक्षबाट जो जो हुनुहुन्थ्यो उहाँहरूलाई नै निरन्तरता दिने भन्ने समझदारी भएको छ,' शर्माले भने, 'सभापति निर्वाचित गर्ने त समितिहरूले नै हो तर नेकपाले आन्तरिक रूपमा पार्टीकातर्फबाट उम्मेदवार बनाउँदा पहिलेकालाई नै निरन्तरता दिने भन्ने भएको हो ।'

राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा नेकपा पक्षका सांसदहरू सभापति रहेका छन् । दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने प्रमुख प्रतिपक्षी कांग्रेस सांसद रहेका छन् । विधायन व्यवस्थापन समिति सभापतिमा पर्शुराम मेघी गुरुङ र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) थिइन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति भने राष्ट्रपितद्वारा मनोनित सांसद रामनाराण बिडारी सभापति थिए । उनी नेकपाका नेता हुन् ।

नेकपाको निर्णयअनुसार यी तीनजनाले सम्बन्धित समितिको सभापतिमा निरन्तरता पाउने भएका हुन् ।समिति सभापतिहरूले राज्यमन्त्री सरहको सेवा सुविधा प्राप्त गर्छन् । दिगो विकास तथा सुशासन समितिको सभापति प्रमुख प्रतिपक्षी दल कांग्रेसको सांसदलाई बनाउने पनि सत्तारुढ नेकपाभित्र समझदारी भएको शर्माले बताए । उनले भने, 'राष्ट्रिय सभाका समितिहरूलाई प्रतिपक्ष बिहीन बनाउन हुन्न भन्ने समझदारी भएको छ । त्यसकारण यसअघि कांग्रेस सांसद सभापति रहेको समितिमा नेकपाले उम्मेदवारी नदिने भएको छ ।'

कांग्रेसले कसलाई सभापति बनाउने भन्ने निर्णय गरिसकेको छैन । कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले बिहीबारसम्ममा निर्णय लिने जानकारी दिए । कांग्रेसका एक राष्ट्रिय सभाका सांसदले भने उक्त समिति सभापति रहेकी सांसद तारादेवी भट्टलाई नै निरन्तरता दिइने बताए । नेकपाले पनि विगतका सभापतिलाई नै निरन्तरता दिने र राष्ट्रिय सभामा ज्येष्ठ सदस्य भएकाले भट्टलाई नै निरन्तरता दिने निर्णयमा पुगिने उनले बताए । कांग्रेसका अन्य सांसदले समिति सभापतिमा दाबी नगरेको पनि ती सांसदको भनाइ थियो । 'सभापति शेरबहादुर देउवाले निर्णय लिनुहोला कसलाई बनाउने भनेर । त्यसपछि संसदीय दलको बैठक पनि बस्ला तर अहिलेसम्म कसैले पनि दाबी गरिसकेका छैनौं,' उनले भने ।

राष्ट्रिय सभामा नेकपाका ४६ सांसद छन् । प्रमुख प्रतिपक्षी कांग्रेसबाट ७ र जनता समाजवादी पार्टीका ३ सांसद रहेका छन् । दुई जना सांसद राष्ट्रपतिबाट मनोनित छन् । राष्ट्रपतिले मनोनित गर्ने एक सांसदको ठाउँ रिक्त छ । राष्ट्रिय सभाले सोमबार सूचना जारी गरेर सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । उक्त कार्यतालिकाअनुसार बिहीबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी अर्को सदस्यले प्रस्ताव गर्ने समय निर्धारण गरिएको छ । सोही दिन समिति सभापतिका लागि प्रस्तावित सदस्यको सूची प्रकाशन गरिने सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए । शुक्रबार १ बजे समिति बैठक बसेर ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने समय निर्धारण गरिएको छ ।

राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल सकिएर १९ सांसदको कार्यकाल गत फागुन २० गते सकिएको थियो । राष्ट्रिय सभाका प्रत्येक २ वर्षमा समितिहरू पनि पुनर्गठन गर्नुपर्ने थियो । तर, समिति सभापतिहरूले राष्ट्रिय सभा गठन भएको ६ महिनापछि मात्रै नियुक्त भएको भन्दै सोही बमोजिम कार्यकाल निर्धारण हुनुपर्ने माग गरेर समय बढाएका थिए ।

सभापतिहरूको मागअनुसार नै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावलीको बाधा अड्काउ फुकाएर चारवटा विषयगत समिति पुनःगठन गरेका थिए ।

प्रकाशित : श्रावण २०, २०७७ १६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×