३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पार्टीलाई निकास दिने पहिलो जिम्मेवारी अध्यक्ष ओलीको हो : प्रवक्ता श्रेष्ठ

हरिराम उप्रेती

गोरखा — नेकपामा हाल देखिएको समस्यालाई निकाश दिने पहिलो जिम्मेवारी अध्यक्ष केपी ओलीको नै रहेको उक्त पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

पार्टीलाई निकास दिने पहिलो जिम्मेवारी अध्यक्ष ओलीको हो : प्रवक्ता श्रेष्ठ

मंगलबार गृह जिल्ला गोरखा आएका श्रेष्ठले सञ्चारकर्मीसँगको कुराकानीमा बैठकबाटै पार्टीमा अहिले देखिएको समस्या समाधान हुने बताए । ‘पार्टीको बैठक हुनुपर्छ, अनिवार्य छ, स्थायी कमिटीको जारी बैठकलाई सुचारु गर्नुपर्छ,’ उनले भने, ‘पार्टीको पहिलो अध्यक्ष बैठकमा आउनैपर्छ, बैठकमा नै आफ्ना कुरा राख्नुपर्छ,अरुको कुरा सुन्नुपर्छ, पहिलो अध्यक्ष र प्रधानमन्त्री हुनुको नाताले निकास दिने जिम्मेवारी पनि उहाँकै हुन्छ ।’

पार्टीलाई सुदृढ गरेर अघि बढ्ने उनले बताए । समाजवाद उन्मुख समृद्धि हासिल गर्ने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकता भएको उनले बताए । ‘समाजवादमा जाने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेका छौं, यो उद्देश्यबाट कोहि विचलित हुन सक्दैन,’ उनले भने,‘ पार्टी एकता कायम रहन्छ, सुदृढ गरेर अघि बढिन्छ, फुट हाम्रो नियति हुँदैन ।’

ओलीले प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छाड्नुपर्ने भन्‍ने विषय व्यक्तिगत विचार भएको उनले बताए । दुई वा एक पद छाड्ने भन्ने कुरा पार्टीको औपचारिक प्रस्ताव नरहेको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।

तीन सूत्रलाई आधार मानेर बैठकबाट निष्कर्ष निकाल्न सकिने श्रेष्ठले बताए । ‘पार्टी एकतालाई सुदृढ र रक्षा गर्दै अघि बढ्नुपर्छ,’ उनले भने, ‘यसमा यताउता गर्न कसैले पाइदैन, मिल्दैन र गरिदैन ।’ पार्टीलाई विधि पद्धतिमा चलाउनुपर्ने उनले बताए ।

प्रकाशित : श्रावण २०, २०७७ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?