१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

राष्ट्रिय सभाका समिति सभापतिमा नेकपाले पुरानालाई दोहोर्‍याउने, कांग्रेस अनिर्णित

जयसिंह महरा

काठमाडौँ — सत्तारुढ नेकपाले राष्ट्रिय सभाका विषयगत समिति सभापतिमा पुरानालाई नै निरन्तरता दिने भएको छ । राष्ट्रिय सभाका चार विषयगत समितिभध्ये तीन समिति सभापतिमा आफ्नो पक्षका सांसद र एउटा समितिको सभापति प्रमुख प्रतिपक्षी कांग्रेसलाई दिने पनि नेकपाभित्र सहमति बनेको हो । 

राष्ट्रिय सभाका समिति सभापतिमा नेकपाले पुरानालाई दोहोर्‍याउने, कांग्रेस अनिर्णित

राष्ट्रिय सभामा सत्तारुढ दलका नेता दिननाथ शर्माले पार्टीभित्र यसअघिका सभापतिहरूलाई नै दोहोर्‍याउने समझदारी भएको बताए । 'समिति सभापतिमा नेकपाको पक्षबाट जो जो हुनुहुन्थ्यो उहाँहरूलाई नै निरन्तरता दिने भन्ने समझदारी भएको छ,' शर्माले भने, 'सभापति निर्वाचित गर्ने त समितिहरूले नै हो तर नेकपाले आन्तरिक रूपमा पार्टीकातर्फबाट उम्मेदवार बनाउँदा पहिलेकालाई नै निरन्तरता दिने भन्ने भएको हो ।'

राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा नेकपा पक्षका सांसदहरू सभापति रहेका छन् । दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने प्रमुख प्रतिपक्षी कांग्रेस सांसद रहेका छन् । विधायन व्यवस्थापन समिति सभापतिमा पर्शुराम मेघी गुरुङ र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) थिइन् । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति भने राष्ट्रपितद्वारा मनोनित सांसद रामनाराण बिडारी सभापति थिए । उनी नेकपाका नेता हुन् ।

नेकपाको निर्णयअनुसार यी तीनजनाले सम्बन्धित समितिको सभापतिमा निरन्तरता पाउने भएका हुन् ।समिति सभापतिहरूले राज्यमन्त्री सरहको सेवा सुविधा प्राप्त गर्छन् । दिगो विकास तथा सुशासन समितिको सभापति प्रमुख प्रतिपक्षी दल कांग्रेसको सांसदलाई बनाउने पनि सत्तारुढ नेकपाभित्र समझदारी भएको शर्माले बताए । उनले भने, 'राष्ट्रिय सभाका समितिहरूलाई प्रतिपक्ष बिहीन बनाउन हुन्न भन्ने समझदारी भएको छ । त्यसकारण यसअघि कांग्रेस सांसद सभापति रहेको समितिमा नेकपाले उम्मेदवारी नदिने भएको छ ।'

कांग्रेसले कसलाई सभापति बनाउने भन्ने निर्णय गरिसकेको छैन । कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले बिहीबारसम्ममा निर्णय लिने जानकारी दिए । कांग्रेसका एक राष्ट्रिय सभाका सांसदले भने उक्त समिति सभापति रहेकी सांसद तारादेवी भट्टलाई नै निरन्तरता दिइने बताए । नेकपाले पनि विगतका सभापतिलाई नै निरन्तरता दिने र राष्ट्रिय सभामा ज्येष्ठ सदस्य भएकाले भट्टलाई नै निरन्तरता दिने निर्णयमा पुगिने उनले बताए । कांग्रेसका अन्य सांसदले समिति सभापतिमा दाबी नगरेको पनि ती सांसदको भनाइ थियो । 'सभापति शेरबहादुर देउवाले निर्णय लिनुहोला कसलाई बनाउने भनेर । त्यसपछि संसदीय दलको बैठक पनि बस्ला तर अहिलेसम्म कसैले पनि दाबी गरिसकेका छैनौं,' उनले भने ।

राष्ट्रिय सभामा नेकपाका ४६ सांसद छन् । प्रमुख प्रतिपक्षी कांग्रेसबाट ७ र जनता समाजवादी पार्टीका ३ सांसद रहेका छन् । दुई जना सांसद राष्ट्रपतिबाट मनोनित छन् । राष्ट्रपतिले मनोनित गर्ने एक सांसदको ठाउँ रिक्त छ । राष्ट्रिय सभाले सोमबार सूचना जारी गरेर सभापतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । उक्त कार्यतालिकाअनुसार बिहीबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी अर्को सदस्यले प्रस्ताव गर्ने समय निर्धारण गरिएको छ । सोही दिन समिति सभापतिका लागि प्रस्तावित सदस्यको सूची प्रकाशन गरिने सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए । शुक्रबार १ बजे समिति बैठक बसेर ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने समय निर्धारण गरिएको छ ।

राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल सकिएर १९ सांसदको कार्यकाल गत फागुन २० गते सकिएको थियो । राष्ट्रिय सभाका प्रत्येक २ वर्षमा समितिहरू पनि पुनर्गठन गर्नुपर्ने थियो । तर, समिति सभापतिहरूले राष्ट्रिय सभा गठन भएको ६ महिनापछि मात्रै नियुक्त भएको भन्दै सोही बमोजिम कार्यकाल निर्धारण हुनुपर्ने माग गरेर समय बढाएका थिए ।

सभापतिहरूको मागअनुसार नै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावलीको बाधा अड्काउ फुकाएर चारवटा विषयगत समिति पुनःगठन गरेका थिए ।

प्रकाशित : श्रावण २०, २०७७ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?