कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सरकारको कामले मात्रै कोरोना नियन्त्रण हुँदैन : प्रधानमन्त्री

यो महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्‍नुहुन्‍न : प्रधानमन्त्री ओली
देउवाले भने- 'हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्‍यो । मुख छोपेर हिँड्न बानी पार्नु पर्‍यो ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् । 

सरकारको कामले मात्रै कोरोना नियन्त्रण हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्रीले परामर्श बैठकमा भनेको कुरा उल्लेख गर्दै उनका सञ्‍चार विज्ञ रामशरण बजगाईंले भने, 'कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र पुग्दैन, जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुन्छ भन्नुभयो ।'

उनका अनुसार प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन पनि आग्रह गरेका छन् । 'यो संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्छ । यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध,' प्रधानमन्त्रीको भनाइ थियो, 'यो महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । जसका लागि सामाजिक अनुशासन चाहिन्छ, विरोधको अवसरका रूपमा लिने हैन ।'

बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि लकडाउन गर्ने/नगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन सुझाव दिएको बजगाईंले जानकारी दिए । देउवाले बैठकमा भनेका छन्, 'हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्‍यो । मुख छोपेर हिँड्न बानी पार्नुपर्‍यो ।'

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले सरकारले प्रतिदिन १८ हजार व्यक्तिको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको र हालसम्म ४ लाखको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको जानकारी दिएका छन् ।

कोरोना भाइरस (कोभिड- १९)को संक्रमण रोकथाम तथा नियन्त्रणबारे प्रधानमन्त्री ओलीले विज्ञहरूसँग परामर्श गरिरहेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी रहेका छन् ।

कोरोना भाइरसको वर्तमान वस्तुस्थिति सम्बन्धमा विज्ञहरूसँग प्रधानमन्त्री ओलीले परामर्श गरिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रकाशित : श्रावण २०, २०७७ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?