कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

फेरिँदै नरैनापुर

नेपालगन्जबाट ४४ किलोमिटर पूर्वमा रहेको यस गाउँलाई कुनै बेला जिल्लाको ‘कर्णाली’ भनिन्थ्यो । कोरोना महामारी ‘एउटा अवसरझैं’ देखिएको नरैनापुरमा बिजुली बाल्ने, चिल्लो सडकमा यात्रा गर्ने, चिकित्सकीय स्वास्थ्य सेवा पाउन थालेपछि स्थानीय भन्छन्– ‘यो देख्ने र भोग्ने भाग्यमानी पुस्ता हो ।’
मधु शाही, रुपा गहतराज

नरैनापुर, बाँके — गाडी गुड्न थालेका छन् । बिजुलीका खम्बामा तार टाँगिएको छ । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकले सेवा दिन थालेका छन् । समयान्तरसँगै बाँकेको नरैनापुरको मुहार फेरिँदै छ । नेपालगन्जबाट ४४ किलोमिटर पूर्वमा रहेको यस गाउँलाई जिल्लाको ‘कर्णाली’ भनिन्थ्यो ।

फेरिँदै नरैनापुर

तर पछिल्लो समय नरैनापुरमा धेरै बदलाव अनुभूत गरेको स्वयं स्थानीय बताउँछन् । नरैनापुर गाउँपालिका–५ मटैयाका ३२ वर्षीय विनय दीक्षित भन्छन्, ‘अहिले गाउँले मुहार फेरिरहेको छ, यो देख्ने र भोग्ने त भाग्यमानी पुस्ता हो ।’

उनका अनुसार नरैनापुरमा जन्मिनेले पहिले आफूलाई अभागी ठान्थे । वस्ती विकासमा पछि परेको र उपेक्षित थियो । सडक र एम्बुलेन्स नहुँदा आमा गुमाएको घटनाले दीक्षितको अझै पनि मन पोल्छ । ‘१३ वर्षअघि गाउँमा सडक, एम्बुलेन्स केही थिएन, न गाउँमै उपचार हुन्थ्यो,’ उनले भने, ‘ट्र्याक्टरमा राखेर आमालाई उपचारका लागि भारत लैजाने क्रममा उहाँको बाटोमै ज्यान गयो ।’

केही वर्षअघि समयमै दमकल पुग्न नसक्दा आगो लागेर गाउँ नै सखाप भयो । ‘दुई घण्टामा बस्ती डढेर सकियो । बाटो नहुँदा नेपालगन्जबाट दमकल आउनै दुई दिन लाग्यो । त्यो नियति अब भोग्नु नपर्ला,’ उनले भने । समयमै उपचार नपाउँदा यहाँका धेरैले ज्यान गुमाए पनि । दुई वर्षअघि सरकारले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवन बनाई उद्घाटन त गर्‍यो तर डेढ दशकदेखि कुनै पनि चिकित्सक एक महिनाभन्दा बढी नटिकेको नियति फेरिएन । स्थानीयले अहिले नियमितजस्तै चिकित्सकीय सेवा पाइरहेका छन् । नेपालगन्ज जोड्ने सडक नहुँदा उनीहरू भारतमा उपचार गर्न पुग्थे । किनमेलका लागि पनि सीमावर्ती भारतीय बजारकै भर पर्नुपर्थ्यो ।

नरैनापुर–५ मा जन्मिएका वरिष्ठ अधिवक्ता इन्द्रजित तिवारी ७२ वर्षका भए । यसै क्षेत्रमा तीन पुस्ताको अनुभव सँगालेका उनले नरैनापुरको मुहारमा अहिले बल्ल उज्यालो देखिन थालेको सुनाए । उनका अनुसार पञ्चायतकालमा यहाँको विकासमा राज्यको ध्यान तान्न राजा वीरेन्द्रलाई भ्रमणको निम्तो दिइएको थियो । ‘त्यसबेला राजाले यहाँका लागि ५ लाख रुपैयाँ छुट्याइदिएका थिए,’ उनले भने, ‘त्यो रकम कहाँ खर्च भयो, अहिलेसम्म पत्तो छैन ।’ पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले गाड्न लगाएका विद्युत्का पोल झन्डै तीन दशकसम्म बेवारिसे बने । टुकी बाल्नुपर्ने बाध्यतालाई नरैनापुरवासीले आफ्नै बलबुँतामा सोलार प्यानल जडान गरी हटाए । ‘अहिले पोलमै सही, बत्ती आएको छ,’ उनले भने, ‘पोलमै बत्ती बल्नु पनि यहाँका लागि ठूलो उपलब्धि हो ।’

यस क्षेत्रमा ०७३ चैत ११ मा निर्माण थालिएको हुलाकी सडकको काम लगभग पूरा भएको छ । सडक गाउँपालिकालाई हस्तान्तरण भने भइसकेको छैन । ‘सडक स्तरोन्नतिको काम लगभग सकिएको छ,’ हुलाकी सडकका सहायक इन्चार्ज इन्द्र केसीले भने, ‘कहिले वर्षा त कहिले बाढी, यस्ता अनेक बहानामा ३० महिनाको ठेक्काको काम पूरा हुन ४ वर्ष लाग्यो ।’ उक्त सडक कालोपत्रे भएसँगै यहाँका स्थानीय नेपालगन्जसँग नजिकिएका छन् ।

७१ वर्षीय नन्कउ नाउ खेती किसानी गर्छन् । क्यान्सर रोगले एउटा खुट्टा गुमाएका उनी गाउँको विकास देखेर हर्षित छन् । बारीमा फलेका तरकारी, सागसब्जी लिएर नेपालगन्ज बेच्न पुग्छन् । पहिला उनलाई त्यही ठाउँ जान दिनभर लाग्थ्यो । अहिले सडक सुविधाले एक घण्टामा पुग्छन् । ‘पहिला भारतमा मजदुरी गर्न जान्थें,’ उनले भने, ‘अब त सडक बन्यो, तरकारी लिएर नेपालगन्ज पुग्छु ।’ मटैया–५ का लक्ष्मणमणि यादवले गाउँमै दूध डेरी खोलेका छन् । दैनिक १ सय १५ घरबाट उनको डेरीमा दूध आउँछ । स्नातकसम्म पढेका ३५ वर्षीय उनले गाउँमा बिजुलीबत्ती र सडक सुविधा आएपछि स्थानीय व्यवसायतर्फ आकर्षित भइरहेको बताए ।उनका अनुसार यसअघि नरैनापुरका झन्डै दुई सय किसान भारतमा दूध बिक्री गर्न जान्थे । ‘नेपालगन्ज पुर्‍याउने बाटो थिएन,’ उनले भने, ‘अहिले सबैले यहीँ दूध बेच्न ल्याउँछन् ।’ ६० वर्षीय मुन्सीप्रसाद यादवले बिजुली नहुँदाको सास्ती सुनाए । घरमा सोलारबाट बत्ती बाल्थे । टीभी हेर्नुपरे ब्याट्री चार्ज गर्न भारत पुग्थे । घरमा बिजुली नभएका कारण सबै कोठामा पंखा चल्दैनथ्यो । पसिना काढ्दै सुत्नुको विकल्प थिएन । ‘अब खेतीका लागि बोरिङ गर्न सजिलो हुने भयो,’ उनले भने, ‘खेती किसानी गर्ने सबैलाई फाइदा हुने भयो ।’

नरैनापुर–१ मजुरोटीका अहमद दर्जीले बिजुली बलेपछि छोराछोरीले राम्रोसँग पढ्न पाउने सुनाए । नरैनापुरमा अहिले करिब एक हजार बिजुलीका पोल गाडिएका छन् । गाउँपालिकाका सुइया बानियाँ, बिर्ता कटकुइयामा भने पोलसमेत नगाडिएको स्थानीय प्रदेशकुमार मिश्रले बताए । ‘वडा कार्यालयमा मात्र अहिले बत्ती बाल्ने हो भन्ने कुरा सुनेको छु,’ उनले भने, ‘गाउँमा पोल र तार केही पुगेको छैन ।’ गाउँगाउँमा पोल गाडिएको र केही स्थानमा मात्रै तार जडान गर्न बाँकी रहेको विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मुनिन्द्र ठाकुरको दाबी छ । ‘निःशुल्क तार, मिटर, एमसीबी जडान गर्छौं,’ उनले भने, ‘स्थानीयले बत्ती बालेबापत आएको शुल्क मात्र तिर्नुपर्छ ।’ उनले ३३ केभीको प्रसारण लाइन विस्तार गर्नुका साथै सबस्टेसन पनि जडान गरिसकेको बताए ।

नरैनापुरमा बिजुली नहुँदा एउटा पनि उद्योग छैनन् । अधिकांश युवा रोजगारीका लागि भारतको हैदराबाद, दिल्ली, पन्जाब, मुम्बई र कानपुर पुग्छन् । ‘अब गाउँमा उद्योग स्थापनाको वातावरण बनाउँछौं,’ गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘बिजुलीको पूर्वाधार नहुँदा अस्पतालमा एक्सरे मेसिन, ल्याब सञ्चालन गर्न गाह्रो भएको थियो ।’ कोरोना महामारीका कारण रोजगारी गुमाएर गाउँ फर्किएका करिब १५ सय युवालाई यहीँ काम दिने गरी तयारी थालेको शाहको भनाइ छ । ‘हामी व्यावसायिक कृषि र उद्योगधन्दा खोल्नका लागि संरचना बनाउँदै छौं,’ उनले भने ।

नरैनापुरमा एकै दिन ४९ जनामा कोरोना संक्रमण पुष्टि भयो । भारतमा महामारी बढ्दै जाँदा युवा गाउँ फर्किने क्रम बढेपछि यहाँ पनि संक्रमणले भयावह रूप लिएको हो । यो घटनापछि स्थानीय मात्रै होइन जनप्रतिनिधि नै आतंकित बने । सामान्य उपचारका लागि पनि भारत धाउनुपर्ने नियति बोकेका नरैनापुरवासीलाई कोरोना महामारीबाट जोगिन सकिएला भन्ने लागेकै थिएन ।

भारतबाट युवाको आउने क्रम बढेपछि गाउँपालिकाले रातारात विद्यालयमा क्वारेन्टाइन बनाउन थाल्यो । यद्यपि व्यवस्थित हुन सकेनन् । बिजुली नहुँदा आइसोलेसन केन्द्र पनि खुल्न सकेनन् । यहाँ सञ्चालित १९ वटा क्वारेन्टाइन नाम मात्रका थिए । एक युवाको क्वारेन्टाइनमा उपचारकै अभावमा मृत्यु भएपछि देशभर तरंग फैलियो । त्यसपछि चिकित्सकविहीन प्राथमिक स्वास्थ्य केन्द्रमा एमबीबीएस चिकित्सक खटाइयो । बिजुलीको सुविधा आयो । एक्सरे मेसिन सुचारु भए । तत्कालै रेडियोग्राफी पनि खरिद गरेर चलाउने योजनामा रहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मोइन खान बताउँछन् । ‘बिजुली नहुँदा आइसोलेसन नै समयमा खुल्न सकेन, न क्वारेन्टाइन व्यवस्थित थिए,’ अनुगमनमा नरैनापुर पुगेका अधिवक्ता वसन्त गौतमले भने, ‘अहिले पुगेको सेवासुविधा हेर्दा नरैनापुरवासीलाई कोरोना त अवसरजस्तो बनिदियो ।’

पाँच वर्षअघिसम्म नरैनापुरमा भारतीय रुपैयाँ मात्रै चल्थ्यो । आफ्नै देशमा जान भारतको पैसा साटेर लैजानु पर्थ्यो । अहिले नेपाली रुपैयाँमा कारोबार हुन थालेको देख्दा मोइन बल्ल स्थानीयमा देशप्रति अपनत्व जागेको सुनाउँछन् । ‘नेपाली रुपैयाँ नचल्ने ठाउँमा अहिले आकाश–जमिनको फरक देखिएको छ,’ उनले भने, ‘लकडाउनले झनै भारतप्रतिको निर्भरता हटाएर स्थानीयमा आत्मविश्वास जगाएको छ ।’

प्रकाशित : श्रावण २०, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?