संक्रमणले प्रहरीमा सेवा प्रभावित- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमणले प्रहरीमा सेवा प्रभावित

प्रहरी प्रधान कार्यालयमा एक सातामै ७२ जना संक्रमित देखापर्नु, भारतसँग सीमा जोडिएका नाकामा खटिएका प्रहरीमा संक्रमण बढ्नु, प्रदेश २ का २ ब्यारेक सिल गरिनुले प्रहरी संक्रमणको उच्च जोखिममा रहेको देखाउँछ ।
जनकराज सापकोटा, मातृका दाहाल

काठमाडौँ — वीरगन्ज महानगरपालिका–११ श्रीपुरस्थित वडा प्रहरी कार्यालयले साउन २ गते ५ भारतीय नागरिकलाई पक्राउ गर्‍यो । अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका पाँचै जना वीरगन्जका औद्योगिक क्षेत्रमा भारतीय कामदार ओसार्थे । थुनामा राख्नुअघि गरिएको पीसीआर परीक्षणमा सबैमा कोरोना संक्रमण देखिएपछि प्रहरी झस्किए । ८ गतेबाट ४८ प्रहरी कार्यरत चौकी नै सिल गरियो ।

थुनामा रहेकाबाट संक्रमण सरेको हुन सक्ने आशंकमा सबै प्रहरीको पीसीआर परीक्षण गर्दा एक हवलदारमा संक्रमण पुष्टि भयो । यसरी १२ दिनसम्म सिल भएको प्रहरी चौकी सोमबारबाट फेरि सञ्चालनमा आएको छ । इन्सपेक्टर दीपक शाहका अनुसार सिलबन्दीका बेला चौकीमा आउने दैनिक करिब एक सय सेवाग्राहीलाई जिल्ला प्रहरी कार्यालय जाने व्यवस्था मिलाइएको थियो ।

श्रीपुर चौकीको दृष्टान्तले कोरोना संक्रमणका कारण जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने प्रहरीहरू कसरी काम गरिरहेका छन् भन्ने मात्रै बुझाउँदैन, कसरी संक्रमणको खतरामा छन् भन्ने पनि बुझाउँछ । प्रहरी प्रधान कार्यालयमा पछिल्लो एक सातामै ७२ जना संक्रमित देखापर्नु र भारतसँग सीमा जोडिएका नाकामा खटिएका प्रहरीमा संक्रमण बढ्नु, सोमबार मात्रै संक्रमणको उच्च जोखिम रहेको प्रदेश २ का २ ब्यारेक सिलबन्दी गरिनुले प्रहरी संक्रमणको उच्च जोखिममा रहेको देखाउँछ ।

अहिले प्रहरी प्रधान कार्यालयअन्तर्गतका सवारी व्यवस्थापन महाशाखा, सञ्चार निर्देशनालय, महानगरीय ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय धनुषाको ब्यारेक र सप्तरीको राजविराजस्थित प्रदेश २ तालिम केन्द्रको ब्यारेक सिल गरिएको छ । यसको सोझो असर सेवा प्रवाहमा पर्न थालेको छ । अनलाइनबाट वा नजिकैका प्रहरी कार्यालयबाट सेवा सञ्चालनको व्यवस्था मिलाइए पनि संक्रमण व्यापक भएको खण्डमा प्रहरीको सेवा प्रवाह कमजोर हुने देखिन्छ ।

अकाउन्ट शाखाका सहयोगी र चालकमा एकैचोटि संक्रमण देखिएपछि प्रदेश १ प्रहरी कार्यालय पनि एक सातको सिलबन्दीपछि खुलेको छ । यसअघि कहिले थुनुवामा त कहिले प्रहरीमा नै संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय बैतडी, बैतडीकै इलाका प्रहरी कार्यालय पाटन, अछामको मंगलसेनस्थित प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पनि सिलबन्दी गरिएको थियो । संक्रमण देखिएलगत्तै सम्पर्कमा रहेका सबै प्रहरी कर्मचारीमा तुरुन्तै पीसीआर गर्ने र त्यसको नतिजा तुरुन्तै नआउँदा प्रहरी कार्यालय नै कैयौं दिनसम्म सिलबन्दी हुने गरेका छन् ।

कान्तिपुरले सातै प्रदेश प्रहरी कार्यालय र उपत्यकाबाट संकलन गरेको तथ्यांकअनुसार देशभरका १ सय ५९ प्रहरी संक्रमित भएर आइसोलेसनमा छन् । जसमध्ये सबैभन्दा धेरै ७२ जना प्रहरी प्रधान कार्यालयअन्तर्गत सवारी व्यवस्थापन महाशाखा र सञ्चार निर्देशनालयका हुन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका ५ र अन्य २ गरी उपत्यकामा कार्यरत ७ संक्रमित प्रहरी उपचाररत छन् । देशभरबाट ९७ प्रहरी संक्रमणमुक्त भएर नियमित काममा फर्किसकेका छन् ।

प्रहरीमै संक्रमण बढेपछि देशव्यापी सुरु भएको समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदीले कोरोना त्रासकै कारण समुदाय तहबाट प्रहरीमा आउने सूचनामा पनि कमी आएको अनुभव सुनाए । कोरोना संक्रमण सुरु भएयता भारत र तेस्रो मुलुकबाट सुदूरपश्चिममा करिब ३ लाख जनसंख्या थपिएकाले प्रहरीको काम कारबाही झनै बढेको उनको भनाइ छ । ‘यद्यपि बिदा कटौती गरेर र कुनै प्रहरी चौकी सिल भयो भने अर्को चौकीबाट जनशक्ति खटाएर भए पनि सेवा प्रवाहमा कमी हुन दिएका छैनौं,’ उनले भने ।

प्रदेश १ का डीआईजी ईश्वरबाबु कार्कीले समुदायमा कोरोना संक्रमणको दर बढ्दै जाँदा त्यसको सोझो असर प्रहरी सेवामा पनि पर्ने बताए । उनका अनुसार सीमावर्ती क्षेत्रमा, मुद्दा शाखामा र फिल्डको अनुसन्धानमा खटिने प्रहरी जोखिममा छन् ।

वाग्मती प्रदेशका डीआईजी वसन्त लामाले उपत्यकाबाहेक प्रदेशमा कार्यरत प्रहरीमा संक्रमण नदेखिए पनि थप सचेत बन्नुपर्ने देखिएको बताए । हालसम्म १ हजार ५३ प्रहरीमा पीसीआर परीक्षण गरिए पनि उपत्यकाबाहेक वाग्मती प्रदेशमा कार्यरत प्रहरीमा संक्रमण नदेखिएको बताए । ‘स–साना समूहमा बनाएर खटाउने, एक समूहका प्रहरी अर्को समूहमा मिसिन नदिने, खाना खाने समय अलग–अलग गरेर संक्रमणको जोखिम कम गरिएको छ,’ उनले भने ।

संक्रमणको दर बढ्दै जाँदा प्रहरीको भूमिका पनि थपिने भएकाले थप सतर्क हुनुपर्ने प्रदेश ५ का डीआईजी रवीन्द्रसिंह धानुकले बताए । कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त पन्तका अनुसार दैलेख, सुर्खेत, जाजरकोट, कालीकोट र डोल्पामा कार्यरत २७ प्रहरी संक्रमित भए पनि सबै संक्रमणमुक्त भएर नियमित काममा फर्किसकेका छन् ।

सातै प्रदेशका प्रहरी प्रमुखले बिदा कटौती, सरुवा भई आउनेलाई १४ दिन क्वारेन्टाइनमा राखेर सेवा प्रवाह गरे पनि संक्रमणको जोखिमबाट बच्न अत्यावश्यक सामग्रीको पर्याप्त उपलब्धता नरहेको सुनाए । केहीले स्वास्थ्यकर्मीलाई झैं प्रहरीलाई पनि जोखिम भत्ता दिनुपर्ने माग गरेका छन् । ‘लामो समय बिदा नदिई काम मात्रै गराइराख्दा र अत्यावश्यक सामग्रीको पर्याप्त व्यवस्था नगरिँदा प्रहरीको सेवा प्रवाह कमजोर हुने देखिन्छ,’ प्रहरी प्रधान कार्यालयका एक उच्च प्रहरीले भने, ‘चौबीसै घण्टा सतर्क रहनुपर्ने प्रहरीलाई जोखिम भत्ता दिन वा प्रोत्साहन बढाउन कुनै काम गर्नुपर्ने जरुरी भइक्यो ।’ प्रहरीमा संक्रमण दर बढ्ने, ठूलो संख्यालाई क्वारेन्टाइनमा राख्नुपर्ने र धमाधम प्रहरी चौकी सिल गर्नुपर्ने अवस्थामा आपराधिक तत्त्वले फाइदा उठाउन सक्ने खतरा पनि उनले औंल्याए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपीसहित अन्य ४० जनामा कोरोना संक्रमण देखिपछि पूरै कार्यालय सिल गरिएको छ । गण्डकी प्रदेशका डीआईजी घनश्याम अर्यालका अनुसार सिलबन्दीपछि अन्य सबै प्रहरी अधिकृत र जवानको स्वास्थ्य परीक्षणको काम भइरहेको छ । उनले भने, ‘नजिकैको वालिङस्थित प्रहरी कार्यालय र अन्य जिल्लाबाट मद्दत टोली खटाएर जिप्रकाबाट हुँदै आएका शान्तिसुरक्षा र अपराध अनुसन्धान तथा नियन्त्रणका कामलाई निरन्तरता दिएका छौं ।’

संक्रमण सुरु भएपछि प्रवासमा रहेका १० लाख हाराहारी नेपाली स्वदेश फर्किएका, कतिपय जिल्लामा खाद्यान्न अभाव सुरु भएको, बेरोजगारी बढेकाले सामाजिक अपराधको संख्या बढ्न सक्ने प्रदेश प्रहरी प्रमुखहरू बताउँछन् । एक प्रमुखले त यसको फाइदा चन्द समूहजस्ता हिंसात्मक समूहले उठाउन सक्ने खतरा रहेको पनि औंल्याए ।

जनघनत्व धेरै रहेको उपत्यकामा संक्रमण बढ्दै जाने र यहींका प्रहरीमा एकपछि अर्को संक्रमण देखिने खतराले प्रहरीको उच्च नेतृत्वलाई सजग तुल्याएको देखिन्छ । गत बुधबार सिंहदरबारभित्र कर्मचारीको पीसीआर परीक्षण गर्ने क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाका केही ट्राफिक प्रहरीले पनि पीसीआर परीक्षण गरे । कुल ५ सयमा गरिएको परीक्षणमा २ ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भयो । लगत्तै महाशाखाको कार्यालय र ब्यारेक सिल गरियो । संक्रमितको सम्पर्कमा आएकाहरूको परीक्षणमा अन्य ३ जनामा पनि संक्रमण देखियो । महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सबैको परीक्षण रिपोर्ट नआएसम्म महाशाखा सिल गरिएको छ । यहाँबाट हुने कारबाही, जरिवाना र सवारी व्यवस्थापनको काम नजिकैका अन्य ट्राफिक युनिटबाट हुने व्यवस्था मिलाइएको छ । महाशाखाको काम महानगरीय प्रहरी वृत्त थापाथली, दरबारमार्ग, कमलपोखरी, जनसेवा, सिंहदरबारबाट भइरहेको छ ।

एक उच्च प्रहरी अधिकारीले ठूलो संख्यामा संक्रमित देखिएको हेडक्वार्टरभित्रै ध्यान केन्द्रित हुँदा प्रदेशको सम्भावित जोखिममा समन्वयको अभाव खड्किने हो कि भनेर चिन्ता व्यक्त गरे । ‘हेडर्क्वाटरभित्रको संक्रमणको स्रोत पत्ता नलाग्नु र संक्रमण बढिरहनुले चेन अफ कमान्डमा समस्या रहेको देखिन्छ,’ उनले भने, ‘यसको अर्थ आवश्यक सुरक्षा सामग्रीबिनै प्रहरी काम गरिरहेका छन् भन्न पनि सकिन्छ ।’

कोभिड–१९ संकट व्यवस्थपन केन्द्र (सीसीएमसी) स्रोतले भारतसँग सिमाना जोडिएका जिल्लाका प्रहरीहरू संक्रमणको उच्च जोखिममा रहेको बतायो । आइतबार मात्रै जिल्ला प्रहरी कार्यालय धनुषा र सप्तरीको राजविराजस्थित प्रदेश प्रहरी तालिम केन्द्रको ब्यारेक सिल गरियो । प्रदेश २ का डीआईजी धीरजप्रताप सिंहका अनुसार दुवै ब्यारेकमा बस्ने दुई/दुई प्रहरी संक्रमित देखिएपछि ब्यारेक सिल गरिएको हो । संक्रमित प्रहरीको संख्या बढ्दै गए कोरोनासँग सम्बन्धित अत्यावश्यकीय काम प्रभावित हुने र दैनन्दिनको सुरक्षा व्यवस्थासमेत प्रभावित हुन सक्ने सीसीएमसीका एक अधिकारीले बताए ।

प्रकाशित : श्रावण २०, २०७७ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्

सुरक्षा निकायमा कोरोना जोखिम उच्च

आइतबार एकै दिन प्रहरी मुख्यालयका १३ जना र प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ जनामा संक्रमण
जनकराज सापकोटा, मातृका दाहाल

काठमाडौँ — जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीका कनिष्ठ तहका प्रहरीहरूमा कोरोना संक्रमण बढ्दै गएको छ । आइतबार मात्रै प्रहरी प्रधान कार्यालयको सवारी महाशाखाका पाँच चालक, अन्य शाखाअन्तर्गतका तीन चालक, सञ्चार निर्देशनालयको मेसमा कार्यरत एक सहयोगीसहित दुई प्रहरी तथा डीआईजी र एसएसपीका दुई निजी चालक गरी १३ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबारै प्रदेश प्रहरी कार्यालय विराटनगरका १९ र पछिल्लो एक सातामा झापाको काँकडभिट्टास्थित सीमा सुरक्षा बेसक्याम्पमा कार्यरत २० जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार मात्रै इलाममा कार्यरत सशस्त्रका ५ र प्रहरीका एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । प्रहरी प्रधान कार्यालयभित्रकै हवल्दारमुनिका प्रहरीमा संक्रमण देखिएपछि सवारी महाशाखा र सञ्चार निर्देशनालयलाई सिल गरिएको छ भने त्यहाँ कार्यरतलाई आइसोलेसनमा राखिएको छ । सञ्चारको मेसमा अन्य शाखाबाट पनि खाना–खाजा खान जाने र त्यहाँ कार्यरतहरूको सम्पर्क अन्य प्रहरीसँग पनि हुने भएकाले प्रहरी प्रधान कार्यालयभित्र संक्रमण फैलिन सक्ने जोखिम बढेको छ । एक उच्च प्रहरी अधिकारीले चालकहरू यात्रा गरिराख्ने र धेरैको सम्पर्कमा पुग्ने भएकाले अवस्था गम्भीर भएको बताए ।

सवारी महाशाखामा कार्यरत एक हवल्दारमा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्यको पनि परीक्षण सुरु गरिएको थियो । सञ्चार महाशाखाको मेसमा कार्यरत एक सहयोगी र मेसका निम्ति आवश्यक सामग्री ल्याउने काममा खटिएका दुई प्रहरीमा भने कसरी संक्रमण देखियो पुष्टि भइसकेको छैन । मेसमा खाना खाने र ती प्रहरीको सम्पर्कमा आएका सबैको ट्रेसिङ प्रहरीले सुरु गरिसकेको छ । स्रोतका अनुसार सञ्चारका तीनै प्रहरीमा ज्वरोसहितको संक्रमणको लक्षण देखिएको छ ।

कान्तिपुरसँग सम्पर्कमा आएका एक उच्च प्रहरीले समुदायसँग जोडिएर काम गरेका, धेरै ओहोरदोहोर गरिरहने काममा भएका र बजारमा किनमेल गर्न जानेहरू संक्रमित भएकाले संक्रमणको फैलावट समुदायमै पुगेको हुन सक्ने आशंका गरे । उनले प्रहरीको संक्रमण स्रोत पत्ता नलागेसम्म ढुक्क हुन सकिने अवस्था नरहेको बताए ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयभित्र देखिएको संक्रमण प्रहरीले औपचारिक रूपमा नबताए पनि शनिबार डीआईजी नीरज शाहीले सबै शाखाका प्रमुखहरूलाई बोलाएर संक्रमितहरूको ट्रेसिङ र संक्रमणको जोखिम रोक्न गर्नुपर्ने सम्भावित कदमहरूबारे परामर्श गरेका थिए । स्रोतका अनुसार केही शाखामा कार्यरत प्रहरीलाई १५ दिन काम गर्ने र १५ दिन सेल्फ क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनेबारे छलफल भइरहेको छ । डीआईजी शाहीका अनुसार अहिले संक्रमण पुष्टि भएका २४ जना प्रहरीको उपचार भइरहेको छ भने यसअघि ९५ प्रहरी संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् । उनले भने, ‘फिल्डमा खटिने धेरै प्रहरी संक्रमणको जोखिममा छन् । हामीले जोखिमबाट बच्ने प्रोटोकलको कडा पालना गराइरहेका छौं ।’

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालका अनुसार आइतबारसम्म सशस्त्रका २६ जना संक्रमित उपचाररत छन् भने ४७ जना संक्रमणमुक्त भएर नियमित काममा फर्किसकेका छन् । उनले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ १८ जना पनि संक्रमणमुक्त भइसकेको बताए ।

जेठको पहिलो साता महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत सबै २ सय २५ जनाको पीसीआर परीक्षण गरी वृत्त नै सिलबन्दी गरिएको थियो । प्रहरीका एक उच्च अधिकारीले कालीमाटी वृत्तको घटना सुनाउँदै यसअघि एक जना प्रहरीमा संक्रमण देखिनेबित्तिकै उक्त कार्यालयमा कार्यरत सबैको पीसीआर परीक्षण र द्रुत कन्ट्याक्ट ट्रेसिङ हुने गरेको तर अहिले हेडक्वार्टरभित्रै संक्रमण देखिँदा पनि त्यस्तो द्रुत र व्यापक परीक्षण नगरिएको गुनासो गरे । नेपाल प्रहरी र सशस्त्रजस्तो समुदायसँग दैनिक प्रत्यक्ष सम्पर्कमा नरहेका सैनिकहरूमा समेत संक्रमण देखिएको छ । नेपाली सेनामा एक वरिष्ठ अधिकारीसहित ७९ जनामा संक्रमण देखिएकामा ७० जना संक्रमणमुक्त भएका छन्, ९ जनाको उपचार जारी छ । सबैको अवस्था सामान्य रहेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत चार जनामा कोरोना संक्रमण देखिएको थियो । सबै जना उपचारपछि निको भएर काममा फर्किसकेको स्रोतले बतायो । सुरक्षा निकायमा संक्रमणको संख्या बढ्दै गएमा तिनको व्यवस्थापन गर्न सुरक्षा निकायकै ठूलो जनशक्ति खर्च हुने र अन्य काम प्रभावित हुन सक्ने सम्भावना देखिएको छ । सशस्त्र प्रहरीका एक उच्च अधिकारीले जनतासँग जोडिएर काम गर्ने सुरक्षाकर्मीलाई संक्रमणबाट जोगाउन सकिएन भने स्थिति गम्भीर हुन सक्छ ।

सेनाले चैत १० गते रातिदेखि ब्यारेकमा बाहिरी मानिसलाई प्रवेश निषेध गरेको थियो । अत्यावश्यक कामबाहेक प्रहरी र सशस्त्रले पनि देशभरका कार्यालयमा सर्वसाधारणलाई प्रवेशमा कडाइ गरेका थिए तर दैनिक शान्ति सुरक्षा व्यवस्थापन र सीमा नियमनमा सर्वसाधारणसँगै घुलमिल भएर काम गर्नुपर्ने भएकाले संक्रमणको जोखिमको दायरा बढेको देखिन्छ ।

सेनाका अवकाशप्राप्त रथी बालानन्द शर्माले सुरक्षाफौजमा कोरोना संक्रमण देखिँदा जोखिम उच्च रहने भए पनि तुरुन्त परीक्षण गर्ने प्रविधि, अनुशासन, आन्तरिक व्यवस्थापन र आइसोलेसन सहज भएकाले डराइहाल्नुपर्ने अवस्था नरहेको बताए । ‘सुरक्षा निकायमा यस्तो संक्रमण देखिँदा आत्तिइहाल्नु पर्दैन,’ उनले भने, ‘सुरक्षा अंगलाई नलाग्नु ठूलो कुरो हो, लागिहाले पनि व्यवस्थापन गर्न कठिन छैन । सरकारले पनि परीक्षण र व्यवस्थापनमा फौजलाई विशेष प्राथमिकतामा राख्नुपर्छ ।’ संक्रमणले छोएको थाहा नभएको खण्डमा फौजमा एक जनाबाट सयौंलाई सर्न सक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको उनले बताए ।

प्रदेश १ मा प्रहरीका २० र सशस्त्रका२५ जना संक्रमित

पछिल्लो एक सातामा मात्रै प्रदेश १ को झापा, मोरङ र इलाममा प्रहरीका २० र सशस्त्र प्रहरीका २५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणको स्रोत पुष्टि नभइसकेकाले प्रहरीमा कार्यरत अन्यमा पनि संक्रमणको जोखिम देखिएको छ । शनिबार मात्रै प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पीसीआर ल्याबमा १ सय ५० जना प्रहरीको स्वाब परीक्षण गरिएकामा १९ जनामा संक्रमण पुष्टि भएको हो । बुधबार र बिहीबार गरिएको परीक्षणमा पनि ५ प्रहरीमा संक्रमण देखिएको थियो ।

प्रहरी स्रोतका अनुसार पछिल्लो पटक संक्रमण पुष्टि भएकामा प्रदेश प्रहरीको लेखा शाखाका सहायकदेखि उच्च पदस्थ प्रहरी अधिकारीका चालकसम्म छन् । स्रोतका अनुसार धेरैजसो चालक र बजारमा गएर किनमेल गर्ने प्रहरीहरूमा संक्रमण पुष्टि भएको छ । संक्रमणको यकिन स्रोत पुष्टि नभए पनि प्रहरीले किनमेल गर्दा संक्रमण भएको हुन सक्ने आकलन गरेको छ ।

प्रवक्ता एसपी पोखरेलले संक्रमण पुष्टि भएपछि प्रदेश कार्यालय सिल गरिएको र अत्यावश्यक सेवा अनलाइनमार्फत दिन थालिएको बताए । सीमावर्ती जिल्ला झापामा शुक्रबार २५ जनामा कोरोना संक्रमण देखियो । जसमध्ये १८ जना त काँकडभिट्टाको सीमा सुरक्षा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरी रहेका आइतबार मात्रै थाहा भयो । यसअघि पनि गत मंगलबार पूर्वी सीमा नाकामा खटिएकी सशस्त्र प्रहरीकी एक महिला जवानसहित २ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार संक्रमण पुष्टि हुनुअघि सशस्त्रकी महिला जवान मेचीनगर–६, साठीबिघा क्षेत्रमा आफन्तको सम्पर्कमा थिइन् । स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चम्लागाईंले सुरक्षाकर्मीलाई कोरोना देखिएपछि समुदायमा फैलिन सक्ने सम्भावना प्रबल रहेको जनाए । समुदायसँग काम गर्नुपर्ने कारण पनि प्रहरीबाट समुदायमा चाँडो कोरोना फैलिन सक्ने उनको भनाइ छ ।

‘भारतबाट फर्किने नेपालीबाटै उनीहरूमा संक्रमण भएको हुन सक्छ,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेल भन्छन्, ‘नाकामा ड्युटी छ, जोखिम त हुनै नै भयो ।’ प्रहरीका अनुसार लकडाउनअघिदेखि नै सुरक्षाकर्मी मास्कको भरमा नाकामा खटिएका छन् । सुरक्षाकर्मीमा लगालग कोरोना देखिन थालेपछि अहिले फेस सिल्ड, मास्क र पन्जासहितको सुरक्षा प्र्रबन्ध मिलाइएको छ । केही समयअघि नगरपालिकाले प्रहरीलाई केही थान पीपीईसमेत उपलब्ध गराए पनि अहिले उनीहरू पूर्ण तयारीबिनै काम गरिरहेका छन् ।

नाकामा खटिएका २० जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएपछि समुदायमा फैलन सक्ने आशंकामा पूर्वीनाकामा आइतबार कोरोनाको ‘र्‍यान्डम’ जाँच गरिएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाइमा पहिलो चरणमा काँकडभिट्टा क्षेत्रका ८५ जनाको पीसीआर जाँच गरिएको हो ।

इलाम नगरपालिकास्थित जिल्ला समन्वय समितिको नयाँ भवनमा रहेको क्वारेन्टाइन सुरक्षार्थ खटिएका सशस्त्रका ५ र नेपाल प्रहरीका १ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि क्वारेन्टाइन सुरक्षामा खटिएका सेनाका जवान र सफाइ कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको थियो । सदरमुकामस्थित सशस्त्र प्रहरी गणका १० जनाको स्वाब आइतबार नै परीक्षणका लागि पठाइएको गणका प्रमुख एसपी रोशन श्रेष्ठले जानकारी दिए ।

– साथमा पर्वत पोर्तेल (झापा), देवनारायण साह (मोरङ) र विप्लव भट्टराई (इलाम)

प्रकाशित : श्रावण १२, २०७७ ०६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×