संक्रमितलाई किरा परेको खाजा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितलाई किरा परेको खाजा

केन्द्रका संयोजक भन्छन्, ‘कमसल खालको पुरानो केराउ परेकाले राम्रोसँग केलाएर पकाउँदा पनि कुनैकुनैमा किरा भेटियो ।’
जितेन्द्र साह

विराटनगर — विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा वितरित खाजामा किरैकिरा भेटिएपछि त्यहाँ उपचाररत कोरोना संक्रमितहरूले विरोध जनाएका छन् । केन्द्रमा सोमबार बिहान दिइएको खाजामा किरा भेटिएको हो । 

बिहान ७ बजे खाजामा दिइएको मटरमा किरैकिरा देखेपछि खान नसकेको एक संक्रमितले फोनमा बताइन् । ‘संक्रमित भनेर हेला गरेजस्तो लाग्यो, चेक गरेर खान दिनुपर्ने होइन र ?,’ उनले भनिन् ।

पेसाले स्वास्थ्यकर्मी ती संक्रमितले यस्तो बेला रोग प्रतिरोधक क्षमता बढाउने खाना दिइनुपर्नेमा चिल्लो–पिरो पुरी र तरकारी दिइएकोमा समेत आश्चर्य प्रकट गरिन् । ‘रुघा लाग्दासमेत चिल्लोपिरो खान दिनु हुन्न,’ उनले भनिन् ।

खानादेखि शौचालयको सरसफाइसम्म विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड उक्त केन्द्रले पूरा नगरेको उनले बताइन् । ‘केन्द्रमा भन्दा घरमै बस्यौं भने चाँडो निको हुन्छौं,’ उनले भनिन्, ‘श्रीमान् र परिवारजनसँग मलाई यहाँबाट लैजान अनुरोध गरेको छु, यहाँ रोगभन्दा तनावले मरिन्छ ।’

केन्द्र संयोजक ज्ञानबहादुर बस्नेतले खाना पकाउने क्रममा भएको मानवीय त्रुटिले यस्तो हुन गएको बताए । ‘सकेसम्म राम्रै व्यवस्थापन गर्न खोजिएको छ, त्यही पनि बेलाबेलामा थाहा नपाएर यस्तो भइहाल्छ,’ बस्नेतले भने ।

कमसल खालको पुरानो केराउ परेको र राम्रोसँग केलाउँदा पनि कुनैकुनैमा किरा भेटिएको उनले बताए । ‘पकाइसकेपछि पनि देखिएन,’ उनले भने, ‘बिरामीलाई वितरण गरिसकेपछि मटरकेराउ फुटेर किरा बाहिर निस्केको हो ।’ संक्रमितबाट गुनासो आउनेबित्तिकै त्यो सबै फाली पुनः अर्को पकाएर खुवाएको संयोजक बस्नेतले बताए ।

केन्द्रमा दिनको चारै पटक शाकाहारी खाजा–खाना दिइने गरेको उनले जानकारी दिए । उनका अनुसार बिहान ७ र दिउँसो २ बजेको खाजामा कहिले रोटी–तरकारी, कहिले पुरी–तरकारी, कहिले पराठा र कहिले दहीच्युरा दिइन्छ । बिहान ११ र राति ८ बजेको खानामा दाल, भात, हरियो तरकारी, फलफूल, पापड र चिप्सलगायत दिइन्छ । ‘रोग प्रतिरोधक क्षमता बढाउन च्यवनप्राश, अश्वगन्धा र गुर्जो पनि दिन्छौं,’ बस्नेतले भने ।

अहिले ६० जना संक्रमित रहेको उक्त केन्द्रको व्यवस्थापन प्रदेश १ सरकारले हेर्छ । प्राविधिक जनशक्ति र अन्य सहयोग भने संघीय सरकारअन्तर्गतको कोसी अस्पतालले उपलब्ध गराउँछ ।

कोभिड–१९ उपचार केन्द्रमा संक्रमितलाई दिइने खाना स्वास्थ्य मापदण्डअनुरुप नभएको प्रति आफ्नो ध्यानाकर्षण भएको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए । ‘प्रदेश १ सरकार अन्तर्गत उक्त केन्द्र रहे पनि त्यहाँ कार्यरत कोसीका चिकित्सकहरू र सरोकारवाला अधिकारीलाई संक्रमितलाई तोकेको मापदण्डअनुरूप स्वास्थ्यवर्धक खाना वितरण गर्न सुझाव दिएको छु,’ उनले भने ।

प्रकाशित : श्रावण १९, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्

मेलम्ची पहिरो : बेपत्ता ८ जनाकै शव भेटियो [अपडेट]

अनिश तिवारी

काठमाडौँ — मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका आठै जनाको शव भेटिएको छ । सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा एक जना भारतीय नागरिक, दुई जना पर्सा र ५ जना सिमराका भएको डीएसपी काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेहरुमा ४२ वर्षीय भारतीय नागरिक राजेन्द्र चौरसिया, पर्साको वीरगन्जका ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरी, बाराको सिमराका २५ वर्षीय विक्रम थिङ, मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामा रहेका छन् ।

पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको पनि डीएसपी काफ्लेले जानकारी दिए । पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल लगिएको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×